सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकलका विचार, दर्शन र दृष्टिकोण (समालोचनात्मक अन्वेषण पुस्तकबाट )


  • गोपी मैनाली
  • शनिबार, फाल्गुन १२, २०८०
  • 167
    SHARES

रमेश विकलका विचार, दर्शन र दृष्टिकोण 
-गोपी मैनाली

विषय प्रवेश
व्यक्तिका आफ्ना दृष्टिकोण, विचार र दर्शन हुन्छन् । सार्वजनिक व्यक्तिका दृष्टिकोण, दर्शन र विचारले चाँहि समाज र आउने पुस्तालाई प्रभाव पारिरहेको हुन्छ । लेख्ने, पढ्ने, विचार चिन्तन गर्ने व्यक्ति सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलेक्चुएल) कहलिन्छ । उसका व्यवहारविधि, चिन्तन–चिन्ता, दृष्टि–दृष्टिकोणले समाजलाई दीर्घकालसम्म मार्गदर्शन गर्दछ । लेखक सार्वजनिक व्यक्तित्व हो, उसका विचार, दृष्टिकोण र दर्शनले समाजलाई खुराक दिन्छ, व्यक्तिलाई ज्ञान निर्माण, व्यवहार र सीप–स्वभावका लागि खुराक दिन्छ । यस्ता विचारकहरूले मानव मूल्यलाई संस्थागत गर्न योगदान दिएका हुन्छन् । जस्तो कि सेक्रेटसले आत्माको शुद्धताका लागि चोकमा उभिएर, युुथाफ्राइनसँग, क्रीटोसँग, मेलिट्ससँग गरेका सम्वाद भनौैं कि पूर्वीय सभ्यताका आदि गुुरुहरू व्यास, वाल्मीकिका उपदेशहरूले, वेदका ऋचाहरूले समाजलाई मानवीयमूल्य मान्यतामा डो¥याइरहेका छन् । होमर, शेक्सपियर, रविन्द्रनाथ ठाकुर, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइरालाका साहित्यमा अभिव्यक्त विचार दर्शन हुन्, नेल्सन मण्डेलाको लङ् वाक टु फ्रिडम, अब्राहम लिङ्कन, महोनदास करमचन्द गान्धीहरूका विचारले समाज र शासनलाई बाटो देखाइरहेका छन् । यस्ता सार्वजनिक व्यक्तित्वहरूको कारण नै समाज निर्माण, विनिर्माण र पुननिर्माणको यात्रामा सतत् छ ।

नेपाली साहित्य निहारिकाका एक उज्ज्वल तारा रमेश विकल भौतिक रूपमा हामीसँग छैनन्, तर उनले बाँचेको जीवनमा भोगे, देखे र सोचेका कुराहरू जुन साहित्य सिर्जनाका विभिन्न माध्यमबाट समाजलाई दिएका छन्, त्यसबाट उनीपछिको पुस्ता अनन्तकालसम्म लाभान्वित भैरहन्छ । उनले कथा, उपन्यास, नाटक, निबन्ध र सम्वार्तामा दिएका विचारको साङ्केतिक प्रस्तुति यहाँ गरिएको छ ।

जीवनका विषयमा विकलको दृष्टिकोण
जन्मनु, मर्नुमा स्वयम् मानिसको कुनै हात हुँदैन । तर व्यक्तिले जीवन पाइरहेको हुन्छ । जन्म र मृत्युमा उसको हात नरहे पनि कर्ममा भने उसैको हात हुन्छ । जीवनका कर्मले व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध र सुसांस्कृत बनाउँछ भन्ने दृष्टिकोण प्रत्यक्ष र लेखनका माध्यमबाट अभिव्यक्त गरेका छन् । उनका जीवन सम्बन्धी दृष्टिकोण भन्दा जीवनलाई व्यक्त्याउने क्रममा प्रयोग गरेका पात्र र सिर्जना चाँहि झनै अर्थवान् छन् ।

सर्जक संवादका लागि सुदर्शन श्रेष्ठसँगको अन्तर्वातामा अभिव्यक्तिगत रूपमा उनी भन्छन् ‘जीवन के हो ? यसको उत्तर मैले पाइ सकेका छैन । म किन जन्मिएँ र नजन्मिएको भए के हुन्थ्यो ? म जन्मिएर के उपलब्धि भैरहेको छ ? एउटा मान्छे एउटा सामान्य जे उपलब्धि दिन्छ, त्यही मात्र हो । मैले पनि यस संसारलाई एउटा सामान्यभन्दा कुनै ठूलो चिज दिन सकेको छनजस्तो लागेको छ । तपाईलाई साहित्यप्रेमी संसारलाई निकै ठूलो उपलब्धि दिइराखेको जस्तो अनुुभव होला । त्यो अनुुभव तपाईलाई लाग्नुअलग कुरा हो तर म आफू त्यति सन्तुुष्ट छैन’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रान्थ, प ७६) ।

असन्तोषले जीवनलाई उपलब्धितर्फ तानिरहेको हुन्छ । कर्म गर्नेहरू असन्तोषमा रहेर नै संसार समृद्ध हुन्छ, जीवनको देखिने–नदेखिने अभिष्ट यही हो । तर जीवन सरलरेखीय छैन, सिद्धान्त र सूत्रमा खोज्नु पनि हुँदैन । जस्तो छ स्वीकारेर उन्नतितर्फ कर्ममा लाग्नुको विकल्प छैन । धेरै अवस्थामा यो विकल्पहीन सङ्घर्षमा रहन्छ । ‘जीवन एउटा उच्चकोटीको सङ्घर्ष नै हो । रात दिनको, जन्मदेखि बाँचुन्जेलसम्मको आफ्नो जीवनलाई अघि बढाउने अकाङ्क्षा, अरू लम्याउने आकाङ्क्षासहितको’ (ऐ) ।

मानिस कर्ममार्फत, सङ्घर्षमार्फत समाजमा नयाँ पदचाप छोड्न चाहन्छ, चाहनु पर्दछ । जीवन कर्मको अभीष्टमा रहन्छ, प्रतिफलको आशक्तिमा भन्दा पनि । यो विकासको नियम पनि हो कि अघिल्लो पुस्ताले छाडेका उपलब्धिको जगमा रहेर त्योभन्दा सुुसांस्कृत र समृद्ध बनाउनमा नै जन्म वा जीवनको सफलता रहन्छ । यस अर्थमा जीवन वंशीय व्यवहारको परिणाम हो । विकासवाद, सङ्घर्षवादी, परिष्कारवादी वा प्रतिस्पर्धावादी जे भनौं साझा निष्कर्ष यही हो । तर यो अनवरत प्रक्रियामा जीवन थाक्नुु हुन्न, किनकि जीवन अमूल्य छ, अवसान (चेतननको अन्त्य) पछि त्यो खोज्न सकिदैन । ‘प्रकृतिमा जन्मेपछि मर्नुपर्छ तर मरेपछि पनि कसरी बाँचिन्छ त ? हामी यही सोचले नै यो सबै सङ्घर्षको सृटि भएको छ जस्तो लाग्छ मलाई । छोरोछोरी जन्माउने, पाल्ने, पढाउने, इत्यादि गर्ने, साहित्य जन्माउने, विचारलाई जन्माउने । त्यही आकाङ्क्षाको प्रतिफल हो जीवन । त्यसैले वास्तविक जीवन किन भयो भन्दाखेरि त्यसको सर्वमान्य उत्तर मैले अहिलेसम्म पाएको छैन । त्यसैले सङ्घर्ष गर्ने हो, कर्म गर्ने हो, काम गर्ने हो, त्यसै नस्ने हो। हातखुट्टा चलाइरहेने हो । जे जति चल्छ जहिलेसम्म चल्न सक्छ चलाइरहेने हो । हिड्दै जाऊँ हिड्दै जाऊँ, जहाँसम्म पुुग्न सकिन्छ, चरैवति–चरैवति । गर्दैै जाने हो, जतिसम्म गर्न सकिन्छ । यिनै चिजहरूलाई म महत्व दिन्छु । त्यसैले मलाई जीवन यही हो जस्तो लाग्छ’ (ऐ, पृ ७६) ।

अविरल बग्दछ इन्द्रावतीको अविरलता वा त्यही अविरलतामा जीवन गति बढाउन आग्रह गरिएको पात्र सोभिते उनको जीवन परिभाषाका बिम्ब हुन् । आफ्नै सम्बन्धमा पनि भनेका थिए ‘कलम रोकिएको भोलिपल्ट मेरो मत्यु हुन्छ’ ‘साहित्य लेखन मेरो जीवनको पर्याय हो’ आदि । त्यो कर्मको विश्रान्ति चांहि मृत्यु, त्यसैले मृत्यु मानिससँग सँधैभरि सँगै हिडिरहने साथी हो ।

दर्शनप्रति रमेश विकलको दृष्टिकोण
दर्शनले मानिसलाई अवधारणा बनाउन, दृष्टिकोण राख्न, तर्क दिन, अभिमत राख्न र ठीक वा वेठीक छुट्याउन प्रज्ञा दिन्छ । यो विवेक वा प्रज्ञाप्रतिको माया हो । सामान्यतः यसलाई विचार, सोच र मानसिकताको पर्यायका रूपमा बुुझ्ने गरिन्छ । यो ज्ञान निर्माणको सिलसिलेवार प्रक्रिया पनि हो, तार्किक सम्बन्ध र व्यवहारको निक्र्यौल हो । दर्शनले सही बुुझाइ, सही सोचाइ र सही कर्म गर्न मानव जगत्लाई निर्देश गर्छ । जीवन र जगत्बीचको सम्बन्ध उचित बनाउन निर्देश गर्छ । दर्शनका आदिप्रतीकहरू सोक्रेटस, प्लेटो र एरिस्टोटलले यही गरेथे, व्यास र बुद्धहरूले यही गरेथे ।

चिन्तकहरू विचार र दर्शनबाट समाजलाई समुन्नत र सुुसांस्कृत बनाउने अभीष्टमा हुन्छन् । यसका विधागत फेटहरू भने भिन्न हुन सक्छन् । सुरुका दिनमा राजनीति र सांस्कृतिक आन्दोलनमा लागेका, मध्यभागमा निजामतीवृत्तिमार्फत राष्ट्रसेवमा लागेका र जीवनका सबै समय साहित्य सिर्जना–सेवामा लागेका रमेश विकलका दर्शन र दृष्टिहरू उनका विचार अभिव्यक्तिमा स्पष्ट छन् । उनका दृष्टिमा ‘दर्शन एउटा चिन्तन हो, मानिसको जीवन र जगत्लाई हेर्ने दृष्टि । दर्शन मूलतः आध्यात्मवादी दर्शन र भौतिकवादी दर्शन । भौतिकवादी दर्शन भन्नाले आँखाले देखिने, कानले सुनिने र त्यस्तै अर्थात् बाहिरी इन्द्रियहरूले भोग्ने वस्तुलाई नै यो सृष्टिको पूर्णता मान्छ अर्थात् गोचर वस्तुलाई नै सम्पूर्णता मान्छ । यसभन्दा पर पनि कुनै अस्तित्व हुन्छ भन्ने कुरालाई नकार्छ । देखेर, सुनेर, सुँघेर र स्वाद लिएर जानिने वस्तुलाई संसारको सम्पूर्णता मान्छ । विज्ञानद्वारा, प्रयोगद्वारा, प्रत्यक्ष प्रमाणित भएको वस्तुुभन्दा परको कुरालाई मादैन । अध्यात्म दर्शनले अगोचर, अदृश्य सत्ताको पनि चिन्तन गर्दछ । बाह्य संसार, अथवा गोचरवस्तुलाई वास्तविक वस्तुनभएर एउटा सपनाको संसार मान्छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, पृ ८९) ।

विकल द्वन्द्वात्मक भौतिकवादी दर्शनबाट प्रभावित चिन्तक भए पनि वैचारिक परिपक्वतासाथ भावनाको विश्व (अथवा भौतिक विश्वभन्दा पनि परको विश्व) दुवैलाई संयोजित रूपमा जीवनमा अपनाउनुपर्ने निष्कर्षमा छन् । ‘भौतिकवादी चिन्तनको कट्टरताले समाजको अस्तित्व टिक्दैन, किनभने यसले घोर व्यक्तिवादिता, स्वार्थन्धताको प्रवृत्तिलाई विकास गर्छ’..‘अध्यात्मावादी कट्टरताले पनि भौतिकवादी चिन्तनलाई पूरै नका¥यो भने उसले भोकै मर्नुपर्छ, आध्यात्मिक चिन्तन गर्ने माध्यम (शरीर) कै अस्तित्व रहँदैन’ ..‘त्यसैले दुवै दर्शनलाई सन्तुलित गरेर दुवैको समानुपातिक विकास गर्दै लैजानु पर्छ’ (ऐ पृ ९०) । दुवै अति क्षतिका कारण हुन् । दुवैका अतिलाई व्यावहारिक बनाउने जीवनवादी दर्शन विकलको निष्कर्ष हो ।

साहित्यप्रति रमेश विकलको दृष्टिकोण
साहित्य के हो ? किन लेखिन्छ ? यसले के गर्छ ? के गर्नु पर्छ ? के चाँहि गर्नु हुँदैन भन्ने विषयमा साहित्यकारहरूका आआफ्नै धारणा रहँदै आएका छन् । कतिपय विद्वानहरू साहित्य समाजको ऐना हो भन्दछन् भने कतिपय चाँहि मनको ऐना, कतिपयले त मनदेखि मस्तिस्कसम्मको पुल पनि भन्ने गरेका छन् । त्यस्तै साहित्यको उपादेयता मनोरञ्चलन, स्वान्त सुखाय, सामाजिक भलाइ, मनको विरेचन आदिमा विभाजित देखिदै आएको छ । प्लेटो काव्य (साहित्य) प्रति एकदमै नकारात्मक थिए । उनी काव्यले ईश्वर र राजाप्रति भ्रम फैलाउने हुनाले आप्mनो नगरबाट हटाउनु पर्छ भन्दथे । यस प्रकारको भनाइको गर्भित ध्येय साहित्यको सामाजिक प्रयोजन खोजिएको थियो भन्ने प्रष्ट हुन्छ । डा ए सी ब्रैडली स्व–सापेक्षिक आनन्द कला हो भन्दछ् । कोही सैद्धान्तिक छन् तर कतिपय व्यावहारिक । आइ ए रिचडर्स् मूल्यसहितको आनन्द अनुुभूूति साहित्य मान्दछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वच्छन्दताको अभिव्यक्तिलाई साहित्य मान्दछन् । हिन्दी साहित्यका वरिष्ठ आचार्य डा.नगेन्द्रको निष्कर्षमा काव्यको भावनको अर्थ नै अव्यवस्थामा व्यवस्था स्थापित गर्नु होे, अनि अव्यवस्थामा व्यवस्था नै अनन्द हो । यस्ता विचार र अभिव्यक्ति आफ्नै प्रयोग र दृष्टिकोणका आधारमा पनि भनिएको देखिन्छ । अभिव्यञ्जनावादी क्रोचे, मूल्यवादी रिचर्डस्, रसवादी आचार्य शुक्ल, कवि (साहित्यकार) लाई निर्वासनको घोषणा गर्ने अराजकताकावादी प्लेटो वा प्रयोजनवादी कार्ल माक्र्स सबै आआफ्ना दृष्टि–दर्शनमा छन् । जे होस्, यस्ता भनाइले साहित्य र समाजका विषयमा अवधारणा बनाउन र अभ्यास गर्न सहयोग भने अवश्य पुु¥याउँदै आएको छ ।

साहित्यप्रति विकलको स्पष्ट र उन्नत दृष्टिकोण छ । उनले मधुपर्क मासिकको २०५९ असार अङ्कका लागि श्री ओम श्रेष्ठ ‘रोदन’ लाई दिएको अन्तरवार्तातका क्रममा भनेका छन् ‘साहित्य स्वयम् मानिसले सामाजिक र व्यक्तिगत दुवै रूपमा बाँचिरहेको जीवनको सार्वजनिक रूपमा गरिएको अभिव्यक्ति हो । अर्थात चाहे जुनसुकै रूप विधा अन्तर्गत होस, व्यक्तिले व्यष्टिका रूपमा वा समष्टिका रूपमा भोगे र अनुुभूत गरेको विविध भावा र चिन्तन सुख र पीडाको सुुन्दर अभिव्यक्ति नै साहित्य हो’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, पृ ३६) ।

मानिस समाजमा व्यक्तिगत रूपमा र सामाजिक रूपमा पनि बाँचिरहेको हुन्छ । समाज व्यक्तिहरूको समूह हो भने मानिस त्यस समाजको सदस्य । व्यक्ति र समाज एक आपसमा अन्तरक्रिया, अन्तरसम्बन्ध र अन्तरद्वन्द्वमा क्रियाशील भएर समाज गतिशील भरहेको हुन्छ । त्यसैले साहित्य त्यही सम्बन्ध वा अन्तरक्रियाका अनुुभूतिलाई अभिव्यक्ति गर्दछ । अनुुभूति सुख–सुख, पीडा–प्राप्ति र उर्जा–उकुुसमुकुसका हुनसक्दछन् । अभिव्यक्तिको विधा पनि फरक हुन सक्दछ भन्ने विकलको दृष्टिकोण छ ।

साहित्य जैवनिक अनुुभूतिको अभिव्यक्ति हो तर समयले समाजलाई परिवर्तनको गतिमा प्रवाहित गर्दछ । समाज, सर्जक र सिर्जनाबीच अभेद्य सम्बन्ध हुन्छ । समाज निरपेक्ष साहित्य हुन् सक्दैन भन्ने विकलको धारणा छ । समयसँग सिर्जना दौडिन्छ, समयसँग सर्जकका दृष्टिकोण र सोच–संस्कार बदलिदै जान्छन् । समयको अनुुभूति टिप्ने भएकाले साहित्य त्यो समाजको ऐना हो, भवना, सोच, व्यवहार र अपेक्षा–अकाङ्क्षाको ऐना । त्यसैले विकल आफूले लेख्न सुरु गरेको समय र पछिल्लो समयमा आफूले परिवर्तन आएको व्यावहारिक दृष्टिकोण अघि सार्छन् । समकालीन साहित्का लागि रोशन थापा ‘नीरव’ सँग कुराकानीका क्रममा विकल भन्छन् ‘सामाजिक ढाँचामा बाँच्ने, बाँच्ने अन्तरमा नै अन्तर आइरहेको छ भने दोस्रो लेखकले सामाजिक जीवनलाई लिएर सोच्ने र हेर्ने दृष्टिकोणमा फरक आइसकेको छ । आज समाज र व्यक्तिको जीवन यति जटिल बनिसकेको छ त्यसको अध्ययन र चित्रणको प्रक्रिया, त्यसलाई हेर्ने र अभिव्यक्त गर्ने प्रक्रिया, शैली र परिपाटीमा अन्तर आइसकेको छ । पहिले हामी समाजको जीवनलाई सरल र प्रभावशाली रूपमा अभिव्यक्त गरेर पाठकको हृदय छुने प्रयत्न गथ्यौं भने आजको लेखक शैली र प्रकृतिको चमत्कारले पाठकको बुद्धिलाई चक्कर खुवाएर आफूलाई चमत्कारी सिद्ध गर्न चाहन्छ’ (समकालीन साहित्य, वर्ष १०, अङ्क ३) ।

समाजका सबै फेटका मानिसहरू साहित्यबाट पृथक रहन सक्दैनन्, भन्ने विकलको धारणा छ ‘सामाजिक, जनीतिक वा शैक्षिक जुनसुकै क्षेत्रमा नेता अभिनेता– सामाजिक, राजनीतिक, प्राविधिक अगुवाहरू यही साहित्य प्रदत्त ज्ञान, बुद्धि र चेतनाकै आधारमा आआफ्ना क्षमता देखाउन सफल हुन्छन् । त्यसैले साहित्य र जीवन एक अर्काको पूरक तत्व हुन्छन् । समाजबाहिर साहित्य सिर्जना बन्दै र साहित्य विना जनताको बुद्धि, ज्ञान र विवेकको निर्माण र विकास हुँदैन’ ( रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, पृ ३६) ।

कथाकार एवम् नाटककार अशेष मल्लसँग गरिमा पत्रिकाका लागि भएको भेटवार्तामा रमेश विकलले साहित्य केवल विचार मात्र होइन, वैचारिक तत्व मात्र साहित्य होइन । कलात्मक अभिव्यक्ति नभए त्यो साहित्य हुँदैन भनी कला र विचारको आदर्श मिश्रण वा मन र मस्तिष्कको संयोजनकारी अभिव्यक्तिका रूपमा सािहत्यलाई लिनुुपर्ने आग्रह राखेका छन् । साथै कलाका विषयमा पनि उनी प्रष्ट छन्, जुन कुराले बुद्धिलाई मात्र होइन, हृदयलाई पनि छुनसक्छ, कला त्यही हो, जसमा मीठो सम्प्रेषण हुनसक्छ भनेका छन् ।

साहित्य रचना के का लागि चाहिन्छ ? वा किन लेखिन्छ ? स्वान्तः सुखाय, लोककल्याणकारिताका लागि ? पाठकका लागि ? के का लागि ? भन्ने सम्बन्धमा पनि विकल प्रष्ट छन् र ती प्रष्ट्याइहरू आफ्ना रचनामार्फत प्रयोग पनि गरिरहेका छन् । उनको धारणामा ‘रचना समाजका लागि समाजमा आफ्ना भावना र विचारको प्रसारणका लागि र त्यसका माध्यमबाट प्रगति र उन्नतिका लागि – निचोडमा मानव सभ्यता र संस्कृतिको उत्थानका लागि । स्वान्तः सुखाय हो भने कसैले आफना रहचनालाई मूर्त रूप दिनुआवश्यक छैन–आफूभित्रको सिर्जनाले आफै सन्तोष लिए भैहाल्छ । त्यसैले स्वान्तः सुखायको अस्तित्व म देख्दिन र सुख र दुख, सन्तोष र असन्तोष समाज, संस्कार, समय र परिस्थितिसापेक्ष हुन्छ र यिनको अन्वन्याश्रित सम्बन्ध छ । समाज–संसारबाहिर न दुख हुन्छ न सुख हुन्छ । समाज र संसनर नभए (अर्थात आफूबाहेक अर्को नभए) के को स्वान्तः सुखाय ? व्यक्तिको प्रयत्न र अरूको साथमा आफ्नो सुखको कामना र चाहना मात्र हो’ (समकालीन साहित्य, वर्ष १०, अङ्क ३) ।
आफ्ना धारणामा विकलका रचनाहरू रहेका छन् । अर्थात उनका रचनाकर्म स्वान्तः सुखाय वा आफैलाई आनन्दका लागि मात्र होइन । क्रोचे लगायत अभिव्यञ्जनावादीहरूले भने झै अभिव्यञ्जनाको आफ्नो उद्देश्य आफै हो भने पनि अभिव्यञ्जक रविन्सन क्रुसो होइन, समाजको अङ्ग हो र उसका भावना र कार्यहरू समाजका उत्पादन हुन् । यसर्थ पनि साहित्य समाजको लागि हो, सभ्यताको लागि हो र सांस्कृतिक (बानीव्यवहार र सोचसंस्कार) उन्नतिका लागि हो । उत्पादन प्रतिष्ठानमा भौतिक वस्तुहरू उत्पादन हुन्छन्, प्रष्ट देखिन्छ र उपयोगिता पनि तत्कालको हुन्छ । तर भावना र अनुुभूतिका कच्चा पदार्थ प्रयोग गरेर मानसिक प्रक्रियाबाट उत्पादन हुने साहित्य रचना समाजका लागि सर्वकालीन उपादेयताका लागि हुन्छ ।

सामाजिक प्राणी भएको नाताले मानिसमा संवेग र उद्वेग हुन्छ । सर्जक आफूलाई प्रकाशन गर्न खोज्छ, वा ती संवेग–उद्वेग, भाव–भावना, अनुुभूति–अकाङ्क्षा अभिव्यक्ति वा प्रकाशन खोजिरहेका हुन्छन् । सािहत्य रचना त्यसैको सचेत र शालीन अभिव्यक्ति हो । पहिचान वा अस्तित्वको प्रकाशन पनि हो यो । त्यसैले यो –‘न हव्वी हो न व्यवसाय । मानिसले अभिव्यक्त गर्न खोज्छन्, कसैले राजनीतिद्वारा त कसैले चित्रकलाद्वारा र साहित्यकारले लेखनद्वारा आफ्नो अभिव्यक्त गर्दछन् किनभने कुनै न कुनै रूपमा मानिसले आफूलाई समाजमा चिनाउन चाहन्छ, यस उद्देश्यका निमित्त लेखिएको नै साहित्य हो । हुनत अप्रत्यक्ष रूपमा साहित्य समाजको निमित्त नभई साध्य नै छैन, तैपनि जुुन सहित्यकार समाजको निमित्त मात्र लेख्छु भन्छन् ती दम्भी हुन् । लेख्छन् त आफनो अभिव्यक्ति र परितृप्तिको निमित्त । साहित्य रचना गरेँ बदलामा मेरो मान भएन भन्ने लेखकहरूप्रति मलाई घृणा लाग्छ । ती आफ्ना निमित्त लेखी समाजबाट फाइदा उठाउन चाहन्छन् । लेखकको त खाली लेख्नुमात्र काम हो, यदि त्यसबाट फाइदा हुनसक्छ भने फाइदा उठाउने समाजप्रति नै यसको श्रेय जान्छ, लेखकप्रति होइन, अझ दम्भी लेखकको त कुरै छैन’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति गन्थ, २०६७) ।

उनले आफ्नो जीवनलाई साहित्य लेखनको पर्यायका रूपमा लिएका छन् । ‘..साहित्य लेखन मेरो जीवनको पर्याय हो, साहित्य लेखनलाई मेरो जीवनबाट हटाइदिने हो भने मेरो ‘म’ ले कुनै जीवन पाउँदैन । त्यसैले यसप्रतिको सक्रियता भन्नुनै मेरो बाँच्ने प्रक्रिया हो, स्वभाव प्रक्रियारहित भएपछि जीवन कहाँ रहन्छ र ? अनि गर्व गर्ने कुरा कहाँ छ ? (ऐ, पृ ३७) ।

‘साहित्य लेखनको यो लामो यात्रामा मेरा पनि कति त्रुुटि भए होलान् चिन्तनगत त्रुुटि, प्रक्रियागत त्रुटि आदि तर म ति विगतका त्रुुटिहरूगनेर कमजोरीहरूपट्टि फर्केर तिनका गणना गरिरहन र तिनलाई लिएर पश्चात्ताप गरिरहनेतिर बिल्कुलै लाग्दिनँ । किनभने मेरो काम ती त्रुटि (केही छन् भने) लाई कमजोरीहरूलाई सुधार्दै आफ्नो कर्ममा निरन्तर लागिरहनु हो । म त्यसैमा विश्वास गर्छु । त्यसैले मैले आफ्नो जीवनको मन्त्र नै तुल्याएको छु–‘चरैवैति–चरैवैति’ अविरल र विश्रान्तिहीन यात्रा र यस लम्बे साहित्य यात्रा विषयमा कुनै पश्चात्ताप गरेको पनि छैन’ (ऐ प ३७) ।

विकललाई अविरल बग्दछ इन्दावती (उपन्यास) र भन्ज्याङ्को चौतारो (कथा) का सन्दर्भमा विदेशी लेखक साहित्यकारको अनुकरण गरेको आरोप लागेको थियो । नेपाली साहित्यमा यस्ता आरोपहरू धेरैलाई लागेको थियो, कसैले आग्रहमा बोले, रक्षात्मक बने भने कतिपय आरोपप्रति असंलग्न रहे र थाहा नपाए झै गरे । विकलले त्यसको चित्तबुुझ्दो जवाफ दिएका छन् । उनका दृष्टिमा विदेशी साहित्य पढेर लेख्दा दृष्टिकोण खारिने, सोचवृत्ति फराकिलो हुने र रचना ओजिलो हुने उनको धारणा थियो । उनले भनेका थिए–‘भन्ज्याङको चौतारो एक वङ्गाली कथा लेखकको अङ्ग्रेजी अनुवाद वेटिङ रुम पढ्दा अप्रत्यक्ष परी लेखेको हुँ’ त्यस्तै धारणा अविरल बग्दछ इन्द्रावती को शीर्षक रुसी आख्यानकार शोलोखोभको आख्यानबाट प्रभावित छ तर भावभूमि, विषय र घटना पात्रहरू आप्mनै माटोका हुन् भनेका थिए ।

समकालीन कथा लेखकहरूप्रति उनको धारणा राख्छन् कि कथा सजिलोसँग लेख्न सकिन्छ भन्ने मानिसहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ र साथसाथै घमण्डीहरूको पनि । …आफनो रचना सबैलाई राम्रो लाग्छ तर हाम्रा गद्य लेखकहरूको, खासगरी कथा लेखकहरूको साधना र अध्ययन नै छैन र उत्पादन पनि कम छ । साहित्यकारहरू साधानमा मग्न, खारिन र परिष्कृत बन्न उनको सुुझाव रहेको छ । एउटा कथा लेख्न एक महिना समय लगाउने विकल अरूबाट पनि आफूजस्तै साधना र परिपक्वता खोज्छन् । साथै साहित्य लेखनमा एउटा धाराको निरन्तरता पाउनुपर्छ र निरन्तरताको क्रममा परिष्कृत बन्दै पाठकको मन जित्न सक्नुपर्छ भन्ने विचार उनको छ । जस्तो कि भीमनिधि तिवारीले आफूले समाएको धारा टुटाएकाले साधारण पाठकको रुचि रोकियो । रुचिको अर्को धार विजय मल्ल, कोइराला आदि देखा परे ।

उनलाई मनपर्ने स्वदेशी तथा विदेशी साहित्यकारहरू धेरै छन् । नेपाली साहित्यकारहरूलक्ष्मीप्रसाद देवकोटा (स्वच्छन्दता÷धाराप्रवाह), गुरुप्रसाद मैनाली (सामाजिकता), गोविन्द गोठाले (कथा), शंकर लामिछाने (निबन्ध) दौलविक्रम विष्ट (कथा), बालकृष्ण सम (विद्वता), भूपि सेरचन (सरलता), भवानी भिक्षु (समय बोध) र विजय मल्ल (प्रयोग) बाट प्रभावित छन् । विदेशी साहित्यकारहरूम्याक्सिम गोर्की, आन्तोन चेखव, लियो टोल्सतोय, शोलोखोभ, अर्नेष्ट हेमिङ्वे, भारतीयमा शरदचन्द्र, प्रेमचन्द, विमल मिश्र र केही बङ्गाली साहित्यकारहरू खुवै मनपरेको र उनीहरूबाट प्रभावित भएको उल्लेख गरको छन् ।

साहित्य आधुनिक हुनुपर्छ, रचनाकर्मको निरन्तरताले स्वाभाविक रूपमा परिष्कारको गति समाउनुपर्छ भन्ने विकलको धारणा छ । ‘मेरो विचारमा बाह्यभन्दा आन्तरिक संघर्षको चित्रण गरी वैज्ञानिक दृष्टिकोणको पृष्ठभूमिमा सूूक्ष्मतालाई प्रकाशमा ल्याउनुनै आधुनिक साहित्य हो । अर्को शब्दमा, मानिसको एक एक अवयव केलाएर द्वन्द्वको समाधान खोज्नु नै आधुनिक साहित्य हो’ । उनका पछिल्ला लेखाइले आधुनिकताको प्रवाह पक्डेको उनकै आधुनिकताको धारणाबाट पनि देख्न सकिन्छ ।

उत्तम कुँवरले २०२३ मा लिएको वार्तामा उनले आफ्ना कथाहरूमध्ये आत्मसन्तुष्टि दिने कथाहरू‘दुुई रुपैयाँको नोट’, ‘भन्ज्याङको चौतारो’, ‘मेरी कान्छी माइजू’ र ‘लाहुरी भैँसी’भनेका थिए तर त्यसपछि प्रकाशित भएको अविरल बग्दछ इन्द्रावती, मेरी सानी भतिजी प्रतिमा, फुटपाथ मिनिस्टर पनि उनलाई मनपर्ने रचना हुन् । यी आख्यानहरू भौतिक र भावनाको भूमि, मन र मस्तिष्कको भूमिका जीवनका अवयवहरू टिपिएका छन् । विकलले यी रचनहरू राम्रो छन् भन्नुको मतलव यसले त्यहाँको जीवनवत्तालाई, जीवनका समग्र आयामलाई सरक्क टिप्न सकेकोले हो । यसर्थ यी भनाइबाट उनको रचनाप्रतिको दृष्टिकोण अभिव्यक्त गरेको छ ।

यीअवधारणाबाट विकलको साहित्यप्रति, साहित्य लेखनप्रति र यसको प्रयोजनप्रति खरो दृष्टिकोण रहेको पाइन्छ । तर दृष्टिकोणहरू अधिकांशतः व्यवहारमा पनि देखिएका छन् । धेरैजसो सर्जक–सामाजिक व्यक्तित्वहरू विचार र व्यवहारमा भिन्न लाग्छन् । विकल त्यसो गर्नु समाज र अन्ततः आफ्नै विवेकप्रतिको अन्याय हो भन्ने निष्कर्षमा छन् ।

सम्मान र समालोचना बारेमा विकलको दृष्टिकोण
सच्चा साहित्य जनताको (जनजीवनको) हृदयबाट निस्केको हुन्छ । त्यसैले जनाताको माया र मन नै साहित्यको सम्मान र समालोचना हो । समाजमा चर्चा र सेलेव्रेशनको पनि होड छ, प्रायोजन र पुरस्कारको आशक्ति अनि प्रतिस्पर्धा छ । सच्चा सर्जक सिर्जना गर्छ मूल्य र महत्व खोज्दैन । सिर्जना गरिसकेपछि त्यो सर्जकको नभएर समाजको हुन्छ, त्यसलाई बचाउने वा नबचाउने कुरा समाजको हो । यदि सामाजिक भावना र संवेगलाई टिप्यो त्यो समाजको मायाको वस्तु बन्दछ, विपरीतमा त्यो अक्षरको डङ्गूर हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुरस्कार र सम्मानको अपेक्षा गरे न आशक्ति नै देखाए तर उनीजति नेपालीको माया बसेको सर्जक को छ र ? त्यसैले समालोचना र सम्मानलाई पाठककै हातमा छाड्नुपर्ने धारणा विकलको छ ।

उनी भन्छन् ‘मलाई केही आलोचक, समालोचक र बौद्धिक खेलाडीहरूले आप्mनो दुनो सोझ्याउने हेतुले कसैलाई स्थान र सम्मान दिँदैमा त्यो स्थान साँच्चैको सम्मानित स्थान हुन्छ र नदिँदैमा असम्मानित हुने कुरामा म विश्वास गर्दिन । त्यसैले पाठक र सर्वसाधारण जनताले श्रद्धा र आदरले जे जस्तो स्थान दिन्छन् र दिएका छन् त्यसभन्दा बढी खोजे लक्ष्मीपति र शक्तिपतिहरूको ढोका घचघच्याउँदै म हिडनु पर्दैन । आज कसैल मलाई उचित स्थान र दाम दिन चाहे पनि नचाहे पनि मलाई आफ्ना पाठकले आफ्नो हृदयमा स्थान दिए भने भोलि गएर उनीहरूले त्यसलाई स्वीकार्न विवश हुनैपर्छ’ (ऐ) ।

‘पुरस्कार र अभिनन्दन नै हो भने मैले त्यसलाई कुनै महत्व दिएको छैन । पुरस्कार र बडेबडे आडम्वरपूर्ण अभिनन्दन भन्ने कुरा मुख्य रूपमा उलूकबाहिनी लक्ष्मीका उपासक धनकुवेरहरूकी रखौटीका रूपमा नै रहिआएको देखिएको छ । त्यसैले मैले त्यसको प्राप्तिका लागि हनुमानचालिसाको पाठ गर्दै गणेश प्रवृत्तिले मूषक बाहनमा सवार गरेर सुमेरु पर्वतका सट्टा शिवपार्वतीकै परिक्रमा गर्ने गरेको पनि छैन । राष्ट्रिय स्तरमा र जनस्तरबाट जे जति प्राप्त गरको छु त्यसमा मेरो कुनै गुनासो पनि छैन’ (ऐ पृ ३७–३८) ।

यस्तै विचार सर्जक संवादका लागि सुदर्शन श्रेष्ठले स्न २००६ मा गरेको अन्तरवार्तामा पनि व्यक्त गरेका छन ‘पुरस्कारको सम्बन्धमा मेरो के धारणा छ भने नगद पुरस्कारहरूको आकाङ्क्षा राखेर मैले पुरस्कारलाई कहिले हेरिन । मैले लेख्दाखेरि यो पुरस्कार पाउन सक्छु भनेर कहिले सोचिन पनि र कसैलाई पनि पुरस्कार दिलाईदेउ भनेर पनि हिडिन । यो मेरो इमान्दारिताको कुरा हो र पनि पुरस्कार पाइयो भने नकार्न पनि नकारिन ।

खुसीले ग्रहण गरेँ । किनभने कसैले कदर गरेर श्रद्धाले केही दिन्छ भने त्यसलाई नकारिदिनुभनेको अपमान गर्नु हो भन्न्ो मलाई लग्छ तर त्यसो भनेर सबैले दिएको पुरस्कार –स्वच्छ मन र पवित्र भावनाले नै दिएको हुन्छ भन्ने छैन । त्यसो भएमा सहजै स्वीकार पनि गर्दिन । वि स २०१८ सालमा मैले मदन पुरस्कार पाउँदा गौरव पनि लागेको थियो । त्यो पुरस्कार हाम्रा लागि नोबेल पुरस्कार जस्तै थियो । ..कथा विधामा त्यो मलाई दिएको पहिलो पुरस्कार हो । ….यसमा मेरो पनि अधिकार त छ नि भनेर मैले लिएको ठूलो पुरस्कार चाँहि एकेडेमीद्वारा दिइएको महेन्द्र प्रज्ञा पुरस्कार हो । यसमा पनि मलाई खुस नै लाग्यो । बाहिरबाट नचाहेको देखिए पनि भित्रबाट म यसको अधिकारी हुँ भन्ने त सबैले सोचेको हुन्छ अब अहिले आएर भनौं न मैले त्रिभुवन पुुरस्कारको म अधिकारी हुँ भन्ने कुरा पनि कहिलेकाही सोच्न पुगिहाल्छ ुतर यसो मेरो पनि अधिकार छ भनेर जनाएर निहोरा गर्न चाँहि म कहिले कसैसंग जान्न पनि’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, २०६७)पृ ६६)
पुरस्कार सर्जकलाई प्रोत्साहन हो र पहिचान पनि हो । पुरस्कार पाएपछि पहिचान पाएका व्यक्तिहरू पनि समाज भेटिन्छन् भने पहिचान भएपछि पुरस्कार पाउनु चाँहि स्वाभाविक हो, तर पुरस्कारले पुरस्कृतको पुरस्कृतले पुरस्कारको मान गर्न सक्नुपर्छ, पुरस्कार ठीक ठाउमै पर्नुपर्छ ।

आशक्ति नदेखाएपनि लेखकहरू एक स्थानमा पुुगेपछि पुरस्कारको अधिकार राख्दछन्, पुरस्कारको आग्रह नगरे पनि । विकल नेपाली कथाको शीर्ष नाम त हुँदै हो, त्यसले त्यस नामले (कर्मले) पुरस्कार पाउँदा राम्रै हुन्छ भन्ने भन्ने सङ्केत गरेका छन् । विकलले प्रशस्त पुरस्कार र सम्मान, जनस्तरबाट अभिनन्दन र कदर पत्रहरू पाएका छन् तर स्वाभाविक अधिकार राख्ने (हकदार) त्रिभुुवन पुरस्कार भने पाएका छैनन् । यसले पुरस्कार र पात्रबीचको सन्तुलनको हेक्का नेपालका प्राज्ञिक संस्थाहरूले नराखेका हुन कि भन्ने प्रश्न छाडेको छ ।

सिफारिस वा यस्तै नराम्रो रूपमा पुुरस्कार पाउने कुरालाई उनी अपमान मान्थे । साथै अस्वस्थ गतिविधिबाट धन आर्जन गरी समाजमा स्थापित हुने उद्देश्यले पनि पुरस्कार स्थापना गर्ने प्रचलनप्रति उनी सन्तुुष्ट थिएनन् । पुरस्कारमा पवित्रता हुनुपर्छ भन्ने उनको मान्यता उनका अभिव्यक्तिहरूमा धेरैपटक देखिएको छ । उनले भनेका थिए‘..त्यस्तो छ भन त पुरस्कार अपमान हो नि । पुरस्कार लिदा पनि सोच्नुुपर्ने हुन्छ तर त्यस्तो स्थिति पनि भइकसको छ भनिन्छ तर कसैले जनस्तरबाट मलाई सम्मान गर्छ भने म माग्न जान्न, कसैसँग सिफारिस गरिदेउ पनि भन्न जान्न । पुरस्कारका लागि मेरो आग्रह छैन । अहिलेचाँहि पुरस्कार लिँदा हेर्नुपर्छ । कुन पुरस्कार लिँदा आफू अवमूल्यन हुने हो र कुन पुरस्कार लिँदा आफै साँचै सम्मानित होइने हो हेर्नुपर्छ किनभने यहाँ ठुलठूला तस्करहरूले पनि आफ्नो वर्चस्व बनाउन पुरस्कार स्थापना गरेका छन्, अनेक तिकडम् गरेका छन््, र त्समा लेनदेनको कुरा पनि गर्छन अरे । कमिशनको कुरा समेत हुन्छ रे तर त्यसको तथ्यातथ्य मलाई थाहा छैन । (ऐ पृ ६७)

प्रगतिवादी साहित्यमा विकलको दृष्टिकोण
नेपाली समाजमा साहित्यलाई प्रगतिवादी, स्वतन्त्रतावादी, पूजीवादी, स्वच्छन्दतावादी÷उन्मुक्ततावादी आदि वाद र कित्तामा विभक्त गर्ने परिपाटी छ । राजनैतिक सामाजिक आन्दोलनको क्रममा यसप्रकारको कित्ताकाट गर्ने प्रवृत्ति बढेको हो । प्रगतिवादी साहित्यलाई माक्र्सवादी भन्ने प्रचलन पनि व्याप्त छ । विकलको साहित्यिक यात्रा सुरु माक्र्सवादी चिन्तनबाट भएको हो । माक्र्सवादी विचारक÷कार्यकर्ता श्यामप्रसाद शर्माको संसर्गबाट उनी वामपन्थी कार्यकर्ता र साहित्यकार दुवै बनेका थिए । एक दशकजति पूर्णकालीन कार्यकर्ताका रूपमा सङ्गठन, जनपरिचालन तथा सांस्कृतिक अभियानमा पनि सक्रिय थिए । यस अर्थमा उनको साहित्यिक धार माक्र्सवादी (प्रगतिवादी) हुने नै भयो तर उनमा वैचारिक परिपक्वता आएपछि समाजलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको पाइन्छ ।

माक्र्सवादी हुनु मात्र प्रगतिशीलताको द्योतन हो भन्ने प्रश्नमा विकल भन्छन् ‘त्यो कुरा म पूर्ण रूपमा स्वीकार गर्दिन र पनि केही अंशमा यसलाई मान्नुपर्ने हुन्छ । हुन त प्रगतिशीलतको धारणा माक्सैवाद अघि पनि थियो । यो धारणा ‘चरैवति रूपमा हरदम अगाडि बढिरहनु बढिरहनुु–लोकहित समाज र मानवताको उन्नति विकासको मार्गमा, तर स्पष्ट राजनीतिक रूपमा, राजनीतिक एउटा धाराका रूपमा साहित्यमा पनि त्यसको यसको अवधारणा माक्र्सवादले नै प्रतिपादन गरेको हो–प्रगतिशील साहित्य, साहित्यमा प्रगतिवादी धारा र तल्लो वर्ग, मजदूर, किसानवर्ग अथवमा समाजको सबैभन्दा महत्वपूर्ण तर सबैभन्दा उपेक्षित, तिरस्कृत सामान्यजनको कल्याण, उनीहरूको हकहितको राजनीति पहिलोपल्ट माक्र्सवाले नै अघि सारेको हो, स्पष्ट र टड्कारो रूपमा । त्यसैले लेककल्याणकारी, लोकहितकारी, कथा उपन्यासालाई माक्र्सवादीले आफ्नै हो भनेर दावी गर्नु केही अंशमा ठीकै देखिन्छ तर प्रकारान्तरले कल्याणकारी साहित्य केवल राजनीतिप्रेरित र खास माक्र्सवादप्रेरित मात्र हुन्छ भन्ने केही छ्रन । केही अपवादमा छाडेर साहित्य रचनाको जुनसुकै धारामा लोककल्याणको भावना निहित हुन्छ । त्यसैले जुन सात्यिको अर्थमा साहित्य छ त्यो स्वयम् प्रगतिशील छ’ (समकालीन साहित्य, वर्ष १०, अङ्क ३) ।

अर्को प्रसङ्गमा अप्रगतिशील साहित्य असाहित्य, अझ अपसाहित्य भन्दै सबै साहित्य प्रगतिवादी हुन्छ भन्ने उदार धारणा राख्न पुुग्छन् । ‘भानुुभक्तको रामायणलाई प्रतिगामी भन्ने कि प्रगतिशील ? त्यसका लागि त्यसबेलाको समाज हेर्नुप¥यो । त्यो बेलाको समाजमा सोझो भाषामा कविता लेख्नेहरूलाई गाली गरिन्थ्यो,….त्योबेला तेत्रो आँट गरेर भानुुभक्तले जुन रामायण लेखे, त्यसले समाजलाई दुुई कदम अगाडि बढायो–सभ्यतातिर, मानवतातिर आधुनिकतातिर । त्यसैले त्योबेला त्यो प्रगतिशील भयो । समयसापेक्ष प्रगतिशील । प्रगतिशीलता र प्रतिगामीपन भनेको समयसापेक्ष पनि हुन्छ । ..प्रगतिवाद र प्रगतिशीलमा फरक पर्छ । ‘वाद’ साहित्य लेखिन्छ भने त्यो खास (राजनीतिक) उद्देश्यपूर्तिका लागि लेखिन्छ । त्यो सामन्तवादी राजनीतिक सोचप्रति इमानदार पनि हुनसक्छ–प्रतिगामी पनि हुनसक्छ, र त्यो प्रगतिशील पनि’ । ‘समाजको गति सँधै अगाडि बढ्ने हुन्छ, पछाडि फर्कने होइन । …जसले समाजको त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्छ त्यो मात्र हुन्छ साहित्य । (त्यो प्रगतशील नै हुन्छ)’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति गन्थ, २०६७) ।

अर्को एक प्रसङ्गमा विकलले भनेका छन् ‘म कुनै वादको विछलगुहोइन, कुनै पनि वादी भनेर मलाई चिनून भनेर लेखेको होइन, मात्र मेरो झुकाव गरिब, दीनदुखी जनताप्रति भएकोले उनीहरुको अभाव मुखरित गराउनका लागि मैले सन्देश प्रवाह गर्ने काम साहित्यमा गरेको छु’ ।
उनले आफ्ना विचार र वार्ताहरूमा धरपटक भनेका छन् प्रगतिशील साहित्य भनेको कम्युष्टि साहित्य भन्ने भ्रम छ । वास्तवमा त्यसा होइन । जनमुखी साहित्य नै प्रगतिशील साहित्य हो । जीवन भएको, जीवनको व्यथा र पीडा अभिव्यक्त गर्ने, त्यसबाट मुक्तिको चाहचेत राख्ने साहित्य प्रगतिशील हुन्छ । त्यसैले बहुतै कम साहित्य मात्र अप्रगतिशील हुन्छ भन्ने विकलको दृष्टिकोण छ । उनका सबै रचनामा प्रगतिशीलता पाइन्छ, किनकि बालसाहित्य होस् वा कथा–उपन्यास वा निबन्ध–नियात्रा अनि नाटक सबैमा सुरम्य र सुसांस्कृत जीवनको चाहचेतको अभीष्ट छ ।

हिजो र आजका प्रगतिवादी लेखकहरूमा जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा सामान्य परिवर्तन आएको छ । हिजोका प्रगतिवादी लेखकहरू जीवनलाई केवल आर्थिक पक्ष र राजनैतिक सङ्कीर्णताको सीमित परिधिमा बसेर सङ्कीर्ण चिन्तनमा रमाउने गर्थे र त्यसै अनुुरूपको सिर्जना गरेर साहित्य अभिव्यक्ति पस्कन्थे र अरूले पनि केवल उनीहरूकै सानो पोखरीमा डुुबुल्की मारुन् भन्ने आग्रह (दुराग्रहको हदसम्म) राख्थे तर आज आएर प्रगतिवादी लेखक जमातले पनि आफ्नो मानव मनका विविध व्यापार (मनोवैज्ञानिक, संस्कारगत, सौन्दर्यगत विविध पक्षतिर पनि दृष्टि घुमाउन थालेका छन् र त्यसैमा आफ्ना सृजनाका लागि सामग्री खोज्न थालेका छन् भन्ने धारणा विकलको छ । त्यसैले मानव स्वतन्त्रता, निजत्वको आनन्द, सामाजिक न्याय, हित र समाजमा गढेर रहेका विकृति र पूरानो मानकहरूका विरुद्ध चेतना जगाउने सबै साहित्य प्रगतिशील हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यो उदार र सुनौला व्याख्याले सर्जकहरू स्वतन्त्रता र न्यायका पक्षपाति हुन्छन् भन्ने बोध गराउँछ ।

राजनीति र साहित्यको सम्बन्धका विषयमा विकलको दृष्टिकोण
राजनीति र साहित्यबीचको सीमा र सम्बन्धका विषयमा अवधारणाहरू त्यति प्रष्ट छैनन्, तैपनि साहित्य–कुनै वादको भरिया बन्नुहुँदैन भन्नेमा रहेको स्वर मोटो छ । साहित्य जीवनको कलात्मक अभिव्यक्ति हो, जीवनको समग्रतालाई साहित्यले उठाउँछ, राजनीति भने जीवनलाई सुखमय बनाउने अभीष्टमा स्रोत–संस्था र विचारको परिचालन हो । माक्र्सवादी दर्शनबाट प्रभावित लेखकहरू साहित्य र राजनीतिबीचको कार्यात्मक भिन्नता मात्र देख्छन्, वैचारिक रूपमा त्यति फरक देख्दैनन् । तर कला र राजनीतिक प्रक्रियाबीच भेद नराख्दा साहित्य विचार र वादको आग्रही बन्दै अन्ततः याँित्रक बन्ने खतरामा रहन्छ । राजनीतिले विचार, दर्शन र सिद्धान्तका खास ‘पार्ट’ लाई प्रतिनिधित्व गर्दछ समग्र वा ‘होल’ लाई प्रतिनिधित्व गर्नुभन्दा यथार्थमा पार्टको प्रतिनिधित्व नै गर्न पुुग्छ, त्यसैले यस प्रक्रिामा संलग्न रहनेहरू ‘पार्टी’ मा रहन्छन्, त्यसका अनुुयायीहरू पार्टीका कार्यकर्ता कहलिन्छन् । तर साहित्य जीवनको आयामिक प्रतिनिधित्व गर्दछ, भौतिक–भावना, मानसिकदेखि मनसम्म र देख्यदेखि अदेख्य सम्मको स्थूल आयाममा रहन्छ । त्यसैले साहित्य र राजनीतिबीच सीमा र सम्बन्धमा सावधानी रहनुपर्दछ । साहित्य स्वयम्मा मर्यादित प्रस्तुति हो ।

साहित्य र राजनीतिक अभियानमा साथसाथ रहनेहरूका लागि एकको अनुशासनबाट अर्कोको अस्तित्वलाई अछुतोबनाई दुवैप्रति न्याय गर्नु चुनौतिको विषय हो, महानता पनि यसैमा रहन्छ । नेपाली साहित्य र राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला आफ्ना दुुई व्यक्तित्वलाई एकअर्काबाट असंलग्न राखेका थिए । राजनीतिक आन्दोलनका सन्दर्भमा नजरबन्द र निर्वासनमा रहँनुपर्दा उत्कृष्ट साहित्य रचना गरे तर त्यहाँ राजनैतिक गन्ध कत्ति पनि आएको देखिदैन । ‘विश्वमा बिपी जस्ता थोरै व्यक्तित्व छन्, जसले साहित्य साधना र राजनैतिक आन्दोलनलाई साथ साथै अपनाए र दुवैतिर शिखरमा पुगे । तर राजनीतिकभन्दा साहित्यिक व्यक्तित्वको उचाइ अग्लो भएका निकै थोरै व्यक्तित्वमा बिपी पर्दछन् ।

सेनेगलका पूर्व प्रधानमन्त्री लियोपोल्ड सेड्गर, आयरल्याण्डका पूर्व राष्ट्रपति माइकल हिगिन्स, चिलीका पूर्व राष्ट्रपति रिकार्डो इ एस आर वासोल्टो (साहित्यिक नम पाव्लो नेरुदा, जसले १९७१ को नोवेल साहित्य पुरस्कार पाए), जर्ज गोर्डन वाइरन (लर्ड बाइरन), भिक्टर ह्यूगो, पोलिस पूर्व राष्ट्रपति लेक वालेसा (नोवेल पुरस्कार विजेता) विन्स्टल चर्चिल, बाराक ओवामाहरू साहित्य र राजनीतिमा साथसाथ उदीयमान थिए । यीमध्ये बेन्जामिन डिजरेली (बेलायतका प्रधानमन्त्री) वाक्लाभ हाभेल (चेक राष्ट्रपति), विन्स्टल चर्चिल (बेलायतका प्रधानमन्त्री), थियोडोर रुजवेल्ट र बाराक ओवामा (अमेरिकी राष्ट्रपति), पाव्लो नेरुदाहरू आफ्ना समयका चर्चित साहित्यकार थिए । तर अधिकांशहरू राजनैतिक उचाइ बृद्धिसँगै साहित्य छाँयामा परेको देखिन्छ । विश्वेश्वरप्रसाद कोइराला भने राजनीति र साहित्यमा एकै गति र प्र–गतिमा छन्, सक्रिय राजनीतिले साहित्य सिर्जनालाई कत्ति पनि असर गरेको देखिदैन । साहित्य र राजनीति अलग अलग धारबाट समान गतिमा प्रवेगित देखिन्छन्’ (गोपी मैनाली, अभिव्यञ्जना यात्राप्रति) । राजनैतिक रूपमा प्रजातान्त्रिक समाजवादका प्रणेतामध्ये एक र नेपाली साहित्यमा फ्रायडीय मनोविज्ञानका प्रमुख प्रतिष्ठाता कोइरालाले राजनीति र साहित्यको सम्बन्धलाई उदाहरणीय मापोको रूपमा आफूलाई स्थापित गरेका छन् ।

साहित्यकार विकल आफै रजनैतिक अभियानमा आवद्ध भएका व्यक्ति हुन् । विकल विश्वेश्वरजसरी नै राजनीतिलाई आफ्ना साहित्यिक रचनाहरूमा पर्न दिदैनन् तर अन्य अभिव्यक्तिमा भने यी राजनीति र साहित्यको वैचारिक नाता भएको उल्लेख गर्न पुुग्छन् । ‘राजनीतिको भनेको एउटा समाज व्यवस्थाका लागि चिन्तनको आधार हो । चिन्तन नभईकन त साहित्य हुँदैन, केही पनि हुन्दैन । साहित्यमा चिन्तनविनाको साहित्यको कल्पना गर्न पनि सकिदैन तर प्रचलित सोझो अर्थमा राजनीतिकरण भन्ने वित्तिकै कुनै एउटा सङ्गठित दलको छातामुनि बसेर त्यसको मात्र इसारा (अर्थात् उसैको निर्देशनमा मात्रअन्धा भएर त्यसैको बहकाउमा रचिने साहत्यलाई लिइन्छ । त्यो चाँिह त्यति वाञ्छनीय हुँदैन । साहित्यले सबैखाले विचारधारालाई सापेक्षित रूपमा दिशानिर्देश गर्नुपर्दछ । ….त्यसैले साहित्यमा राजनीति चाहिन्छ, हुन्छ किनभने चिन्तन हुनासाथ राजनीति हुन्छ तरकृति भने त्यसलाई अभिव्यक्तिकै दृष्टिबाट, शैलीका दृष्टिबाट, प्रस्तुतिका दृष्टिबाट त्यो कलामुखी, मनोरञ्जनमुखी र जनकल्याणमुखी हुनु वाञ्छनीय हुन्छ । चिन्तनलाई कलात्मक शृङ्गार दिन सक्नुपर्छ त्यसैले त राजनीतिक चिन्तन र साहित्यमा फरक हुन्छ । नत्र भने कुनै राजनीतिक पाटी घोषणा पत्र लेख्नुपनि त साहित्य, (लेखन नै) हो तर त्यसलाई साहित्य भनिँदैन’ । सुदर्शन श्रेष्ठसँगको अन्तरवार्ता, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति गन्थ, पृ ५३–५४) ।

साहित्यिक पत्रकार उत्तम कुँवरलाई अन्तरवार्ता दिने क्रममा पनि विकलले साहित्यलाई चिन्तनको कलात्मक प्रस्तुतिका रूपमा लिएका छन् ‘साहित्यमा चिन्तन भनेको एउटा कलात्मक प्रस्तुति हो भन्ने बुुझ्छु । एउटा सौन्दर्यमूलक प्रस्तुति । हुन त सौन्दर्य भन्ने चिज हेर्नेको आँखामा हुन्छ । ..सबै प्रगतिउन्मुख साहित्य रच्ने साहित्यकारलाई एउटै थैलोमा हालेर हेर्नु भुल हुन्छ । तैपनि गुलावको फूललाई असुन्दर भन्न चैं कसैले पनि सक्दैन । त्यो एउटा शाश्वत कुरा यहाँनेर पर्छ तर गुलावको फूल मन नपर्ला कसैलाई, त्यो बेग्लै कुरा हो’ ( रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, पृ ५४)

त्यस्तै अशेष मल्लले गरिमाका लागि गरेको भेटवार्तामा उनेले भनेका छन् ‘साहित्यमा राजनीति हुँदैन भन्ने पक्षमा म छैन । राजनीति जीवनको हर पलमा हन्छ । जीवनसँगै बग्छ राजनीति । जीवन नभै साहित्य हुँदैन । तर साहित्यमा राजनीति हुन्छ भन्दैमा कुनै राजनीतिक सिद्धान्त वा दलप्रतिको प्रतिवद्धता मेरो भन्नुको तात्पर्य होइन । राजनीति त कुनै यथास्थितिमा गएर अडिन्छ चर साहित्य त निरन्तर अघि बढिरहन्छ । साहित्य भन्नुनै निरन्तरता हो’ । ‘बिपीका अर्थमा साहित्य सभ्यताको प्रतीक हो । सभ्यताले स्वायत्तता र मानव ‘स्व’ को प्रकाशन गर्दछ, जो आफै मर्यादित हुन्छ’ (ऐ) विकलका दृष्टिमा साहित्य विचार मात्र होइन, कलात्मक अभिव्यक्ति हो, जीवनलाई उजेल्याउने विचारको कलात्मक र प्रभावशाली शब्दति ।

‘कुनै घटना कुनै पात्र अथवा कितावका भावनाहरूले जब छुन्छ, मलाई स्टीमुलेट (उत्तेजना) गर्छ अर्थात मेरो अवचेतनलाई उत्तेजित गर्छ, मेरो भावनालाई संवेदित तुल्याउँछ अनि म त्यसपछि (एउटा विषयवस्तु लिएपछि) त्यसलाई आफूभित्र निर्माण गर्छु । जव आफैभित्रै रचना निर्माण भैसक्छ अनि म त्यसलाई कलमले उतार्छुु’ (रमेश विकल बिम्ब एक प्रअिरूतिबम्ब अनेक, स्मृति गन्थ, पृ ६२) । यस अर्थमा विकल र विश्वेश्वरमा समानता देखिन्छ, दुवै मानव स्व र सभ्यताका लागि लेख्छन्, भौतिक र भावना दुवै पक्ष टिप्छन् र त्यसलाई कलात्मक प्रस्तुतिमा अभिव्यक्त गर्छन् । तर साहित्यभन्दा सरल रेखामा हिड्छ, आयामिक रूपमा साँघुरो हुन्छ र संरचनात्मक हुन्छ, जीवनका आयाम र घनत्वमा गहिरिदैन ।

विज्ञान, प्रविध र साहित्यका सम्बन्धमा रमेश विकलको दृष्टिकोण
आधुनिक विश्व ज्ञान र प्रविधिको विस्फोटले सुसांस्कृत (र जटिलताग्रस्त पनि) बन्दै गएको छ । कतिपय विद्वानहरू प्रविधि र यन्त्र (रोवोटिक) का कारण अव साहित्य, कला र सिर्जनामा पनि यसैको प्रभुुत्व बढ्दै जाने हुँदा अब साहित्य–सिर्जनाको त्यति काम छैन, देवकोटा र विकलहरूको त्यति आवश्यक छैन समेत भन्ने आशयमा छन् । मानिसको चाख, चाहना र रञ्जन–वृत्तिहरू प्रविधिले उत्पादन गर्ने भएपछि भावना र सपनाको के काम पनि भन्न थालिएको छ । यसले सर्जक र सिर्जनालाई नै सङ्कटमा लाँदै गरेको, लैजाने संभावना र सन्देह राख्न थालिएको छ ।
तर विकल जबसम्म कम्पुुटर (रोबोटिक) ले सपना देख्दैन, लेखकहरूको अस्तित्व सङ्कटमा पर्दैन भन्नेमा ढुक्क छन् । दुनियामा नयाँ कुरा केही नभएको र स्वयम् विज्ञानको आविस्कार पनि नयाँ नभै साहित्यको कल्पनाको उत्पादन हो भन्ने गर्दछन् । उनले गरिमा पत्रिकाका लागि राजेन्द्र पराजुलीलाई दिएको अन्तरवार्तामा भनेका छन्–‘विज्ञान पनि त पहिला कल्पना नै हो, सपना नै हो ।

जब यो यथार्थमा परिणत हुन्छ, एउटा आविस्कार जन्मन्छ । मलाई यतिखेर आफ्नै एउटा विज्ञान कथाको सँझना भैरहेछ–‘रोबोटले सपना देख्न थाल्यो भने १’ जब रोबोटले सपना देख्छ, सपनाले सिजना गराउँछ, अनि हाम्रो अस्तित्व १तर विज्ञानले सपना देख्दैन, सपना मानिसले नैं देख्छ’ (गरिमा अङ्क १०७) । कथाले पीडा र विसङ्गतिका कुरा लेख्छ, तर कम्पुटर युग आएपनि लेखक कलाकारको अस्तित्व सङ्कटमा छैन, झन अवसरमा छ भन्नेतर्फ विकलको बुुझाइ छ ।

विश्व अहिले चौथो औद्योगिक क्रान्तितर्फ अघि बढिरहेको छ । रोबोटिक जीवन प्रणाली, एआइ अर्थतन्त्र र एआइ समाज बन्ने क्रममा छ । इन्फोटेक, डाटाटेक र बायोटेकको संयोजनले मानव रहस्य नै खतम होला कि भन्ने चुनौअरूति थपिएको छ । युुभल नोह हरारीहरू युुगीन चिन्तप्रति चिन्तन गररहेका छन् । मानिसको सिर्जनाले मानिसको अस्तित्व सङ्कटमा पर्नुहुँदैन भन्ने आग्रह त छँदै छ तर केवल प्रविधिको उपभोक्तमात्र बन्ने संस्कारले केही चुनौति त थपेकै छ । केही अघि साहित्यकार र र चिन्तकहरू रोबोटिकले पुरस्कार पाएपछि अतालिएका पनि थिए, आशङका पनि गरिएको थियो–नोवेल पुरस्कारको भागेदार पनि यही बन्ने त होइन ? तर सत्य विकलले भनेजस्तै हो, यन्त्रले सपना देख्दैन, निश्चित तहसम्मको जानकारी (डाटा) मात्र प्रशोधन गर्छ । त्यसैले सर्जक मानिस हो, स्वयम कम्पुटर (यन्त्र) मानिसको सिर्जना हो, जुन मानिसको तुलनामा सँधै सीमित रहन्छ ।

शासकीय व्यवस्था, समाज र न्यायमा रमेश विकलको दृष्टिकोण
साहित्यिक रचनाका माध्यमबाट विकलले शासन व्यवस्था लोकतान्त्रि र न्यायपूर्ण हुनुुपर्ने दृष्टिकोण अघि सारेका छन् । सामाजिक यथार्थको आलोचनात्मक प्रस्तुति गर्ने क्रममा उनका उपन्यास, कथा, निबन्ध र र्सस्मरणात्मक आलेखमा प्रगतिशील, न्यायपूर्ण र लोकतान्त्रिक शासन प्रणालीको वकालत गरेका छन् । गरिब, आँसुले भिजेको हाँसो, लाहुरी भैंसी, भन्ञ्जाङ्को चौतारो, अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन लगायतका कथा उपन्यास सामाजिक वेथितिप्रति आलोचनात्मक छन्, जसको दोषी शासन प्रणाली हो । लोकतान्त्रिक र न्यायपूर्ण शासन प्रणालीको अभवमा नै समाजमा वेथिति, शोषण र उत्पीडन बढेको छ । एउटा बुढो बकैनाको रुखको बाल पात्रको मनोविज्ञानले होस् वा अविरल बग्दछ इन्द्रावतीको सोभिते–लालगेडीको विद्रोहमा होस् सबैमा लोकतान्त्रिक शासन र आर्थिक–सामाजिक न्यायको अभीष्ट छ ।
विकलका पिताश्री सरकारी सेवामा रहेकाले शासन–प्रशासनको अवस्थारे जानकारी बाल्यावस्थादेखि नै थियो । बुुझ्ने भएपछि विकल कम्युनिष्ट आन्दोलन र वामपन्धी वैचारिक अभियानमा लागे । तत्कालीन अवस्थाको हैकम र निरङ्कुश शासनप्रति उनको असहमति र विद्रोह थियो । जसको अनुुभूति उनको आत्म संस्मरण मेरो अविरल जीवन गीत का धेरै प्रसङ्गहरूमा छ ।

राणाकालीन, पञ्चायतकालीन र प्रजातन्त्र पुनप्राप्ति भएपछिको प्रशासन व्यवस्थालाई विकलका कथा, उपन्यास र निबन्धहरूले स्पष्ट पारेका छन् । राणा शासन समय यानेकि राणा दबदबाको बेलामा प्रशासन हैकम र जनताबाट चल्थ्यो, जनताहरू शासक–प्रशासकलाई सेवामा लाग्थे भन्ने निख्खर चित्र ‘दार्चुला, मानसरोवार, दार्चुला’ मा देखाएका छन् । उनका पिता दार्चुलामा जागिरमा रहँदा हजुर बुुबा दार्चुलादेखि मानसरोवर यात्राको क्रममा नेपालको क्षेत्रभरि त्यहाँका गरिब जनताबाट उनीहरूको धेरै सेवा–सत्कार भएको थियो । भम्बुु (सिपाही) ले भ्रमणमा उर्दी चलाएको थियो ‘लौत सुनै मूल्या हो १….हाकिमका माउ (परिवार) आया छन्, उनी रिसाया भन्या तिम्रा क्या क्या हुन्या हुन् । उनका खान्या, बस्न्या सबै परबन्ध तमूून्ले गन्न्या छौं । …घी, चाउर, आँटो, सब्जी लिईबटी आलो’ (मेरो अविरल जीवन गीत, पृ १२९) ।

आफ्नो घरमा एकमुठी खानेकुरा नभए पनि रैतीले हाकिमको परिवारको कम्तिमा एक छाक उनीहरूले राजकीय सम्मान गर्नुपथ्र्यो, प्रत्येक घरबाट चामल, दाल, घिउ, दूध, दही, तरकारी ल्याएर चढाउनु पथ्र्यो । ल्याउन नसक्नेलाई भम्वुले डण्डा बर्साउँदै भन्थ्यो ‘भन, तमले सरकारी हुकुम क्याख्याइँ टे¥या नाइँ ?’ अविरल बग्दछ इन्द्रवतीमा लालगेडीलाई प्रहरीले यौन शोषण गर्दछ । सागर उर्लन्छ सगरमाथा छुनमा व्यापारी–कूटनीतिक नियोगका कर्मचारी–प्रशासकको तस्करसँग सम्बन्ध छ । मृत्यु प्रमाण पत्र मा सरकारी प्रशासन कसरी शासकीय मूल्यबाट स्खलित भएको छ भन्न्ो देखाइएको छ । साथै अन्य रचनाहरूमा सरकारी निकायबाट गरिने कामको शिष्ट र साङ्केतिक आलोचना छ । यी सबै प्रसङ्गमा एउटै कुरा देखाइएको छ शासन लोकतान्त्रिक हुनुुपर्छ, प्रशासन निष्पक्ष हुनुु पर्छ र दुवैको केन्द्रविन्दुमा चाँहि जनता र उसले चाहेको न्याय हुनुपर्छ । लेखकीय स्वतन्त्रता र स्वायत्तता ठाउ ठाउमा देखिन्छ ।

सामाजिक तहसोपनले सिर्जना गरेको भेदभावपूर्ण समाजको विनिर्माणमार्फत समावेशी र समतामूलक समाजको आग्रह ठाउ ठाउमा गरिएको छ । त्यसैले प्रगतिशीलता उनको धर्म बनेको छ । उनी चोखो नेपाली संस्कृतिका पक्षमा उभिएका छन् । सागर उर्लन्छ सगरमाथा छुन नेपाली मौलिकता र संस्कृतिको अभिव्यक्ति हो । मौलिक पहिचान र संस्कृतिले राष्टिय भावना संस्थागत गराउँछ भन्ने धारणाको सिलसिलेवार अभिव्यक्ति हो यो उपन्यास । सामाजिक संस्कृति र मानवीयता साथसाथै रहन्छन् भन्ने धारणा पनि उपन्यासमा पाइन्छ । यसर्थ समतामूलक न्यायपूर्ण समाज, लोकतान्त्रिक शासन व्यवस्था र निष्पक्ष प्रशासन प्रणालीले राष्ट्र निर्माण, समृद्धि र सुशासन सम्भव गराउछ भन्ने विकलको शासकीय–प्रशासकीय दृष्टिकोण रहेको छ ।

प्रेम र यौनप्रति रमेश विकलको दृष्टिकोण
मानवीय जीवनका आदर्श र अभिशापका रूपमा प्रेम र यौन आएको कैयन कथा–कहावत रहेका छन् । प्रेम अलि भावनात्मक र यौन चाँहि भावनात्मक र जैविक पक्षको समागममा विकलले चित्रण गरेको छन् । उनका आख्यानका आदर्श पात्रले प्रेमलाई भावना र आदर्शका रूपमा र यौनलाई जैविक उत्कण्ठा पूर्तिका रूपमा लिइएको छ । सोभिते र लालगेडी भावनामा बाँधिएका छन्, तर यौन उत्कण्ठाबाट नितान्त अलग । यस्ता कैयन उदाहरण उनका पात्रमा देखिन्छ । यो उनको आग्रह र दृष्टिकोण दुवै हो । यसलाई उनले आफ्नै जीवनमा पनि देखाएका छन् । आफ्नो दाम्पत्य जीवनबाट विकल सन्तुुष्ट रहेका थिएनन् भन्ने कुरा नीलगिरिको छाँयामा नामक नियत्रामा मात्र होइन धेरै प्रसङ्गमा स्पष्ट देखिन्छ । सुदर्शन श्रेष्ठले सर्जक ंिववादका लागि गरेको वार्ताका क्रममा विवाह र दाम्पत्य जीवनको सम्बन्धमा उनी भन्छन् ‘आफूलाई चाँहि अप्सराजस्ती चाहिने । ऊ चाँहि त्यस्ती थिइन ।..सत्र–अठार वर्षसम्म त बोलिचालीसम्मँँ पनि भएन ।

त्यसपछि मात्र सहवास भयो र मेरी पहिली छोरी जन्मिएकी हुन्’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रान्थ, पृ ४४) । ‘मेरो सम्पूर्ण प्रेम, प्रणय केवल अन्तरपूजा (कल्पना) सम्म मात्र सीमित रह्यो र एकपल्ट मैले आफ्नो रुरुचिकी अभिसारिका भेटेर केही सम्बन्ध अगाडि बढाएँ, उसले समर्पणको आशयले आउदा पनि उसलाई नैतिक उपदेश दिएर पठाएँ’ (ऐ पृ ४६) । अर्को प्रसङगमा विकल भन्छन् ‘एकपल्ट दशैको चाडमा पिङ् खेल्न जाँदा आफ्नो मनकी ‘परी’ लाई देखेर म सम्मोहित भएँ । एउटा भाइको सहयोगले म उसको निकट पुुग्न र उसलाई आकर्षण गर्न पनि सफल भएँ । अनि हाम्रो बराबर प्रेमपत्र आदान–प्रदान पनि भयो । भेटघाटको तारतम्य पनि मिल्यो । अनि एकदिन एकान्त मिलनको बेला उसले आफूलाई शरीर समर्पण गर्ने चेष्टा देखाई तर मभित्र विवाहित र सुसंस्कृत पुरmष बिउँझियो मलाई एउटा पागल प्रेमी होइन, एउटा उपदेशक, एउटा नीतिवान प्रतीक बनाइदियो र हाम्रो प्रेम प्रसङ्ग टुुङ्गियो । (ऊ मप्रति एकदमै वितृष्ण भई)’ (ऐ) । प्रेमको आन्तरिक भावनाको प्रेमले सामाजिक मर्यादाको सीमा काटेर यौन कार्यमा अगि बढ्न नहुने दृष्टिकोण उनले आफ्नै कथा मार्फत दिएका छन् ।

प्रेमको अन्तिम अभीष्ट यौवननै हो तर त्यो अनैतिक हुनुु हुँदैन भन्ने धारणामा उनी स्पष्ट छन् । ‘फ्रायडीय दृष्टिले त अचेतन मनको मूल आशय आकाङ्क्षा नै त्यही (यौन) हो । …परोक्ष रूपमा नारीप्रतिको पुरुष र पुरुषप्रतिको नारीको आकर्षणमा विषम लिङ्गीको केही न केही प्रभाव त हुन्छ होला नै । …अति अनिवार्य आवश्यकता त हो, जिन्दगीको आधारभूत आवश्यकता । त्यसलाई उछृङ्खलताले छोयो भने बर्बाद हुन्छ । त्यसलाई सुनिन्त्रित र मर्यादित ढङ्गबाट ग¥यो भने निर्विकार सृष्टिको प्रजनन् प्रक्रियाको मूल आधार भएकाले समाज विकास र सामाजिक उत्कर्षको आधारभूत तत्व हो’ (ऐ पृ ४७) ।

यसरी विकल प्रेम र यौनप्रति आदर्श दृष्टिकोण राख्दछन् । जैविक आवश्यकता, सामाजिक कर्म तर सामाजिक सीमा यौनलाई हेर्छन् र प्रेमलाई भावनात्मक सम्मोहनमा । आदर्श र मर्यादामा प्रेम र यौनको सम्मिलन उनको दृष्टिकोण हो ।

धर्मप्रति रमेश विकलको दृष्टिकोण
पूर्ण नैष्ठिक, त्रिकाल स्नान, सन्ध्या पूजापाठ, न्यासध्यान गर्ने ब्रह्मण हजुरबुुबाको आध्यात्मिक धार्मिक संस्कारमा हुर्के बढेका नाति रमेश विकल सानैदेखि विद्रोही स्वभाव र प्रगतिशील प्रवृत्तिका थिए । यसले उनको धर्मसम्बन्धी दृष्टिकोण निर्माण र आचरणलाई डो¥याइरहेको थियो ।
जीवनको सबैभन्दा उर्वर समय माक्र्सवादी दर्शनबाट प्रशिक्षित र वामपन्थी राजनीतिका सङ्गठक बनेका विकल माक्र्सवादीहरूले भनेजस्तो धर्मलाई अफिम पनि भन्दैनन्, धर्ममा सङ्कीर्ण पनि छैनन् । उनका दृष्टिमा धर्म भनेको आस्था धारणा हो, कुनै साम्प्रदायिकताको अति भावना होइन । ‘धर्म भनेको धारणा हो । त्यो कुनै सम्प्रदाय होइन । सम्प्रदाय धर्म होइन । हिन्दू, मुस्लिम, बौद्ध, क्रिश्चियनहरू, यहाँ–त्यहाँ सबै सम्प्रदाय हुन्, धर्म होइन । कुनै पनि सम्प्रदायमा धर्म भनेको धर्मै हुन्छ, पाप भनेको पापै हुन्छ तर धर्म र सम्प्रदाय अलग कुरा हुुन् ।

महाभारतमा एउटै सूत्रमा सिध्याइएको छ त्यसलाई ।..परोपकार पुण्याय पापाय परपीडनम । ..सम्पूर्ण सृष्टिका मानिसलगायत जीवको (प्राणीको) उपकार गर्नु धर्म वा पुण्य र तिनलाई तिलनाई पीडा दिनु पाप भनिएको छ । ..अतः सम्प्रदाय धर्म होइन, त्यसमा निहित त्यही शाश्वत ‘धारण’ धर्म हो’ (ऐ पृ ७८) ।

मानवतालाई, अझ त्यसभन्दा पनि पर समस्त प्राणीको हितलाई धर्म मान्ने उदार दृष्टिकोण विकलका रचना र अभिव्यक्तिमा पाइन्छ । मानिस सर्वश्रेष्ठ प्राणी भएकोले समस्त प्राणीको उपकार उसको कर्म हो, त्यही उसको धर्म हो । पूर्वीय संस्कारका मन्त्र–श्रुतिहरू धर्मलाई शाश्वत विवेकका रूपमा लिएको छ । वैचारिक तथा दर्शनिक अधिष्ठाताहरू, महात्मा गान्धी, गौतम बुद्धहरू यही वैदिक–पौराणिक अभिव्यक्तिको सारमा छन् तर यसलाई सम्प्रदायका मठाधीशहरूले विकृत बनाएका छन् । त्यसैले उनको धारणा छ ‘पाप र धर्मबीचको यो सूूक्ष्म भेद बुुझ्न ठूलो विवेक चाहिन्छ । पढेर मात्र हुन्न । ..मान्छेलाई प्रसन्न पार्नु नै धर्म हो’ (ऐ ८२) ।

धर्म र अध्यात्मलाई विकल एकै रूपमा लिन्छन् । ‘..आत्मालाई चिन्नु, ..मान्छेको आफ्नो र अर्काको आत्मालाई अन्तर बुुझ्न खोज्नु नै अध्यात्मवाद हो र त्यो बुुझेर आप्mनो र अरूको कल्याणको चिन्तन गर्नु, कर्म गर्नूृ धर्म हो’ (ऐ) ।

ईश्वरीय सत्तालाई उनी अमूर्त रूपमा लिन्छन्, जुन अध्यात्मसँग नजिक हुन्छ तर तोकिएको, देखिएको हँुदैन । ‘ईश्वर भन्ने कुरा कुनै मूर्त कुरा होइन, त्यो अमूर्त कुरा हो र त्यो मात्र अनुुभव गर्ने कुरा हो, अनुुभवजन्य अनुुभूति । त्यो देखेर, छोएर भेटिने कुरा होइन । त्यो भित्रबाट अनुुभव हुन्छ, चिन्तनको स्थितिमा कुुनै बेला यस्तो अनुुभूति हुन्छ –‘अहो मभन्दा पनि कतै कुनै तत्व रहेछ, जसले म भन्नेलाई म म भन्न लगाउँछ’ …यो त एउटा आसथ हो अमूर्त’ (ऐ पृ ८२–८३) ।

अध्यात्म र धर्ममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र विकलको धारणा समान छ । दुवै स्रष्टा धर्मलाई परोपकार र अरूको भलाईमा सोच्छन् । त्यस्तै भौतिकवाद र अध्यात्मवादको सन्तुलनको सन्दर्भमा बालकृष्ण समसँग नजिक छन् । अध्यात्मको अन्तरचिन्तनका साथ भौतिक उपलब्धिले मात्र मानवीय सत्ताले सुख पाउँछ । मानवीय सत्ता समस्त प्राणीसत्ताको पनि हितरक्षक हो ।

उपसंहार
विकलका केही अचम्मका दृष्टिकोण पनि देखिएका छन् । उनले उत्तम कुँवरसगको अन्तरवार्तामा भनेका छन् विश्वका प्रसिद्ध आइमाइहरूको जीवनी चिटठीको रूपमा लेख्ने इच्छा उनीमा छ । आजको लैङ्गिक संवेदनशील समाजमा महिलाहरू जैविक रूपमा भिन्न भएपनि समाजिक रूपमा भिन्न छैनन् भन्ने दृष्टिकोण शायद विकलमा थियो । विश्वप्रसिद्ध महिलाहरूमा भएको शक्ति, ज्ञान, सावधानीले नेपाली समाजको सांस्कृतिक मानक परिवर्तनमा अवश्य योगादन पुुयाउने नै थियो तर त्यो काम बाँकी नै रह्यो । उहाँका सर्जक सन्तान (विजय, महेन्द्र, आलोक, आयुुषा) वा उनीपछिको उनको प्रवृत्ति पहिल्याउनेले यसलाई मूर्त रूप देलान ।

विकलको कथा परिपाटीले पनि लेखन वृत्तिमा एउटा परिष्कृत दृष्टिकोण दिन्छ । उनी भन्छन् ‘मलाई आफूले पढेका किताव, वरिपरिका चरित्र र देखे सुनेका घटनाले कथा लेख्न प्रेरणा दिन्छन् । प्रेरणा पाएपछि आफूलाई लेख्न मन लागेका कथाको रूपरेखा मनमनै तयार पार्छु र १५÷२० दिनसम्म त्यसमा खुप घोत्लन्छु । त्यसपछि एकै सिटिङमा त्यो कथालाई सरसर्ति लेख्छु र केही दिनसम्म त्यसै छोडेपछि अन्तिम रूपमा त्यस कथालाई फेरि लेख्छु । सालाखाला एउटा कथा लेख्न डेढ महिना लाग्छ । डेढ महिनाभन्द कममा त मैले एउटा कथा पनि लेख्न सकेको छैन’ । कथा लेखनको प्रसङ्गमा कथा नराम्रो होलाका कि भन्ने डराउने बानी उनको छ । ‘मानिसले इज्जत पाएपछि त्यसलाई संहाली राख्न गाहो पर्दोरहेछ । त्यसैले मूड आएपछि, मिहिनेत गरेर कथा लेख्ने बानी रहेछ विकलको ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }