बिहिबार, जेष्ठ १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राम लामा अविनाशीको स्मृतिका बिम्बहरू : जीवन, साहित्य र संस्कृतिको समागम – गोपी मैनाली


  • गोपी मैनाली
  • बुधबार, चैत्र २८, २०८०
  • 211
    SHARES

राम लामा अविनाशीको स्मृतिका बिम्बहरू : जीवन, साहित्य र संस्कृतिको समागम
-गोपी मैनाली

धेरै खरहरे, खोल्सा र नदीहरु मिलेर समुद्र बन्छ । धेरै अनुभूति, घटना र परिवेशहरु सँगालेर साहित्य सिर्जना गरिन्छ । राम लामा ‘अविनाशी’ ‘पिल्सिएको परदेशी मन’, ‘सुगन्धित माटो’ कवितासङ्ग्रह लगायत थुप्रै गीत, कविता, मुक्तकमा अभिब्यञ्चित भइसकेका छन् । अनलाइन तथा छापा माध्यममा उनी बारम्वार प्रकाशित हुन्छन्, उनका कणर्प्रिय र हृदयविदारक गीतहरु सङ्गीत भरिएर म्यूजिक भिडियो र युट्युवहरुमा प्रसारित छन् । साहित्य, सङ्गीत र समाज सेवामा विशेषतः नेपाल बाहिर रहेर समर्पित हुने साधकका रुपमा राम लामा ‘अविनाशी’ को पहिचान छुट्टै छ । व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै परिचयमा उल्लेख गरिएको हो ।

संस्मरण के हो र किन लेखिन्छ भन्ने कुरामा मत्यैकता छैन । संस्मरणकारका व्यक्तिगत अनुभूति, विगतका भोगाइ र त्यसले छाडेको छापको पृष्ठभूमिमा संस्मरण लेखिन्छ । जीवनका सबै घटनाहरु संस्मणमा अटाउँदैनन्, न संस्मरणका विषय बन्न योग्य हुन्छन् । खास घटना जसले संस्मरणकारलाई घोच्छ र समाजलाई पनि शिक्षा दिन्छ, ती मात्र संस्मरणका विषय बन्दछन् ।

मानिसहरु संस्मरण किन लेख्छन् ? संस्मरण पहिलो त आत्मसन्तोषका लागि लेखकले सम्झेका स्मृति हुन्, जसले विगतलाई अहिलेको लेन्सले हेरिन्छ, स्मृतिहरु उभाउँदै विगतको विचरण गरिन्छ, रमाइन्छ । दोस्रो ती हेराईले समाजलाई पनि केही उपयोगिता दिन्छ । संस्मरणको सामाजिक उपयोगिता हुन्छ, व्यक्तिगत उपयोगिता हुन्छ, यसले शिक्षा दिन्छ, सन्देश दिन्छ, सुधार र सङ्घर्ष सिकाउँछ । सभ्यता र संस्कार सिकाउँछ । लेखकलाई छोएका कुराले पाठकलाई पनि छुन्छ । छुने कुरा वा ‘टची इभेन्ट’ मात्र संस्मरणका विषय बन्छन् । सबैभन्दा बढी त संस्मरणले संस्मरणकारलाई अभिव्यञ्जन गर्छ, विरेचन गर्छ र प्रकाशन गर्छ । त्यसैले संस्मरण साहित्यको विकास भएको हो ।

संस्मरणलाई धेरैले निबन्ध भनेका छन् । कसैले आख्यान र कसैले त नियात्रामा पनि लिएका छन् । निश्चित घटना भएकोले आख्यान हो, म पात्रमा घटना/यात्राको बणर्न हुन्छ, नियात्रा हो । निबन्ध त हुँदै हो, घटना, परिवेश र अनुभूतिको यौगिकतामा निर्बन्ध विश्लेषण हुन्छ । त्यसैले यसलाई साहित्यको यही विधा वा प्रविधामा कित्ताकाट नगरेर संस्मरण मात्र भने हुन्छ, यो निबन्धको प्रविधा हो । राम लामा ‘अविनाशी’ का ‘स्मृतिका बिम्बहरु’ यसका अपवाद होइनन् ।

संस्मरणमा घटनाभन्दा भावना बढी हुन्छ । खास घटनामा व्यक्ति विश्लेषित र विरेचित हुन्छ । जस्तो कि ‘नेपाल अव नही रहेगा’ ओम प्रकाश इन्नणीको यो भनाइमा राम लामा ‘अविनाशी’ ले नेपालको राष्ट्रियता, व्यापार, अर्थतन्त्र र सामाजिक व्यवस्थाकै विश्लेषण गरेका छन् । माया आँग्लेउको ‘आइ नो ह्वाइ द केग्ड बर्ड सिङ्गिङ’ वा सोनाली डेरानियागालाको ‘वेभ’ वा कार्थी पार्थ होङको ‘माइनर फिलिङ’, जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ सबै उत्कृष्ठ संस्मरणलाई उत्कृष्ठतामा पुुर्‍याउन ससाना घटनालाई भावनात्मक कलेवरले उधुम मच्चाएको छ । घटना साना जस्ता लाग्छन्, अभिव्यक्ति सामान्य जस्तो लाग्छ तर त्यसलाई हेर्ने, परिगेल्ने, विचारमा मन्थन गर्ने र प्रस्तुुति गर्ने शैलीले संस्मरण झाँगिएको हुन्छ । राम लामा ‘अविनाशी’ का ‘स्मृतिका बिम्बहरु’ का सबै स्मृतिहरु ससाना घटनाहरु यसैगरी ठूला बिम्ब बनेका छन् ।

संस्मरणले रिभेलेशन वा अनुभूतिको पुन प्रकाशन गर्दछ । घटनामा पहिलोपल्ट देख्य अदेख्य प्रकाशन भैसकेका खास कुरा संस्मरणकारको मथिङ्गलमा माझिएर, मनमा छोएर फेरि प्रकाशन हुने गर्दछन् । यसले लुकेका, लुकाइएका, नलेखिएका, नदेखिएका, थाहा नपाइका, थाहा पाएर पनि वास्ता नगरिएका कुरालाई प्रकाशनमा ल्याइदिन्छ, त्यो पनि आफ्नै दृष्टि-दर्शनमा । त्यसैले संस्मरण विशुद्ध आलेख, आख्यानको प्रविधा होइन, घटनापरक निबन्ध हो । यस शताव्दीकी विख्यात पप स्टार, सर्वाधिक रुचाइएकी गायिका ब्रिटने स्पेयर्सको ‘द ओमन इन मी’ ले महिला हुनुको विशिष्ट अनुभूतिका साथ जटिलता र दायित्व, त्यसमा पनि एउटी टक्सिक सिङ्गर, सेलिब्रेटीका छुपाइएका, लुकाइएका कुराहरु आफैल बाहिर ल्याइएकी छन्, जुन सामान्य मानिस भनौं उनका प्रसंशकको भिडले थाहा सुइँको पाएको थिएन । समाजले उनलाई देवत्वकरण नै गरेको थियो । तर ब्रिट्ने भित्रकी नारीले प्रेम, सङघर्ष, रोमान्स, गर्भपतन, अरुको आस्रय, भावावेग, रेगिङ कन्ट्रोल, सामाजिक निगरानी लगायतका उतार चढाव बाहिर ल्याएकी छन् । एउटा सेलिब्रेटी, यौवना, नारी, ख्यातिको शिर चुमेकी गायिकाले पनि समाजमा कसरी थुनिनु पर्छ, आफैभित्र कैद हुनुपर्छ भन्ने कुरा प्रकाशन गरेकी छन् । सबै ठूलाहरुले, सेलिब्रेटीहरुले, राजनेता-अभिनेताहरुले,विद्वान-विचाकहरुले, पेशाकर्मी-आविस्कारकहरुले आफूभित्र खास समयमा केही लुकाएका हुँदा रहेछन् । त्यसले आफैलाई कति हानि पुुर्‍याएको हुन्छ भन्ने अनुमान सचेत व्यवहारमा कहिल्यै देखिदैन् । ब्रिटनेले ‘द ओमन इन मि’ मार्फत आफैले बाहिर ल्याइन, विश्वेश्वरले ‘आफ्नो कथा’ मा बाहिर ल्याए, नेल्सन मण्डेलाले ‘कन्भरसेशन वीथ माइसेल्फ’ मा बाहिर ल्याए, विकलले ‘मेरो अविरल जीवनगीत’ मा बाहिर ल्याए । राम लामा ‘अविनाशी’ ले आफ्ना विषयका कुरा होइन, शासन प्रशासन र आप्रवासनमा केही खट्किएका कुरा बाहिर ल्याए ।

संस्मरणमा छुपेर रहने एउटा अभिष्ट पुस्तालाई प्रेरणा दिनु, सङ्घर्ष गर्न साहस दिनु हो । राम लामा ‘अविनाशी’ ले आप्रवासनका सङ्घर्षको साहस दिएका छन् । आप्रवासनको सङ्घर्ष मातृभूमिको भन्दा कैयनगुणा अत्यास लाग्दो हुन्छ । ‘वी वेएर ड्रिमर एन इम्मिग्रेन्ट सुपरहिरो ओरिजन स्टोरी’ मा संस्मरणकार सिमी लिऊले चिनदेखि हलिउडसम्मको खतरानक सङ्र्घषयात्रा गरेर सुपरहिरो बनेको आफ्नै कथा लेखेका छन्, त्यो पनि इमानदार भएर । यसले बेगल संस्कृति, संस्कार र परिवेशमा पुगेकाहरुका सपनाहरु कसरी यथार्थमा परिणत गर्न सकिन्छ भन्ने प्रेरणा डायस्पोरिक समाजका दोस्रो पुस्तालाई दिन्छ । शायद राम लामा ‘अविनाशी’ ‘सिड्नीलाई सम्झिँदा’ र ‘चिलीको सम्झना’ मा दुई ३८० डिग्री विपरीत चरित्रका पात्र मार्फत व्यक्त गर्दछन् । शायद सबै विदेशमा बस्ने नेपाली सिमी लिऊ जस्तै देख्न चाहेका छन् संस्मरणकारले । काई बर्डले लेखेको ओपन हायमर र आफैले लेखेका स्टेफिन हँकिन्सका संस्मरण विज्ञान र आविस्कारका कथा समाजका सम्पत्ति बनेका छन् । यस अर्थमा ‘हिडेन हिरो’ वा ‘हिडेन हिष्ट्री’ बताउनु संस्मरणको काम हो । राम लामा ‘अविनाशी’ ले हिडेन हिष्ट्री बताएका छन् तर हिडेन हिरो खोज्ने काम समाजलाई छाडेका छन् ।

अभियान्ता वा समाजसेवीका कथाहरु संस्मरणले समेट्छ । यसको आशय समाजसेवामा समर्पित हुन उसको सङ्घषर्ल साहस दिन्छ । जेल्सन मण्डेलाको ‘लङ वा टु द फ्रिडम’, दिप्ती भेमपातीको ‘आइ चुज माइसेल्फ’ ले परिश्रम पछिको प्रेरणा जन्माउछ । मदर टेरेसाको कथाले मानिसलाई प्रेम, अनुकम्पा र सेवाको प्रेरणा दिन्छ । राम लामा ‘अविनाशी’ का स्मृतिका बिम्बहरु यस्तै सङ्केतहरु टिपेका छन् ।

संस्मरण जीवनका महत्त्वपूर्ण घटनाको चित्र हो, स्मृतिबिम्ब हो । जीवन साना ठूला घटनाहरुको मिलेनमिलेको माला हो, घटनाहरुको नियात्रा हो । नियात्राका सबै स्थलहरु महत्त्वपूर्ण नभएजस्तै जीवनका सबै घटनाहरु विशेष हुँदैनन् । धेरैजसो घटनाहरु दैनिकीका अभिन्न भाग हुन्, सम्झना गर्न लायक पनि हुँदैनन् । कतिपय घटनाहरु जीवनलाई बेस्सरी प्रभाव पारिरहेको हुन्छन्, जीवनको टनिर्ङ प्याइन्टमा रहेर प्रभाव पार्छन्, पार्नसक्ने हैसियत राख्दछन, सम्झनायोग्य हुन्छन्, अरुलाई शिक्षा र सन्देश दिने खालका हुन्छन् । प्रायगरी दोस्रो खालका घटनालाई संस्मरण साहित्यका रुप दिइन्छ । राम लामा ‘अविनाशी’ का जीवनका सबै घटना स्मृति बिम्बमा उठाएका छैनन्, तर विशेष घटनाहरु सँगालिएका छन् ।

संस्मरण साहित्य नियात्रा जस्तो लाग्न सक्छ तर नियात्राभन्दा बेग्लै स्वाद र संरचनामा रहन्छ । निबन्ध जस्तै भएपनि निजत्वको स्वतन्त्रता र आत्मिक अभिव्यक्ति गर्ने छुट संस्मरणमा हुँदैन । यथार्थले मात्र स्थान पाउने भएकोले कल्पनाशीलता रहँदैन । आत्मबृतान्त जस्तै लेखक स्वयम् नै केन्द्रीय चरित्रमा रहन्छ तर बैयक्तिक आत्मगुञ्जनलाई यसले स्थान दिदैन । त्यसैले आत्मकथाको संरचना-सन्धानबाट पनि यो पृथक हुन्छ । यसमा तथ्य, जानकारी, आवेग-उद्वेगहरु व्यवस्थित शृङ्खलामा समेटिएका हुन्छन् । पात्र र घटनावृत्ति हुने भएपनि यो आख्यान नभै गैरआख्यान (ननफिक्सन) सिर्जना हो । सर्जकको स्मृतिबिम्ब यसको प्रमुख चरित्र हो, साहित्य, शिल्प, सिलसिला र सौन्दर्य यसका अरु उपक्रम हुन्, जसले स्मृतिबिम्बलाई पूर्ण अनि आकर्षक पार्दछ । संस्मरणको इतिहास जुलियस सिजरका युद्ध आलेखहरुबाटै शुरु भएपनि आधुनिक साहित्यको संस्मरण सिर्जना भने अठारौं शताव्दीबाट विकसित भएको हो । नेपाली साहित्यमा पनि आधुनिक कालपछि मात्र संस्मरण साहित्यले वास्तविक प्रवेश पाएको हो । अहिले यसले परिमाणात्मक र गुणात्मक विस्तृति पाएको छ ।

संस्मरणको संरचनागत पक्षमा कुरा गर्दा यसमा पनि झण्डै कथा, उपन्यासमा जस्तै विषबस्तुको सन्दर्भ, घटनाक्रम विकास, घटनाको आरोहण, चरमोत्कर्ष, विरोहण प्रारम्भ र अवसान वा समापनजस्ता कुराहरु रहेका हुन्छन् । तर सबै तत्व सबै संस्मरणमा रहन्छन् भन्न भने सकिदैन । त्यसरी सामान्यीकरण पनि गर्न हुँदैन । जस्तो कि राम लामा ‘अविनाशी’ को स्मृतिका बिम्बहरुका आधाजसो संस्मरणमा संरचना पाइन्छ तर अरुले घटनावृत्तिमा साहित्य सन्धान देखाउँछ तर सिद्धान्त, सूत्र र संरचना तत्व त्यही रुपमा छैन । तर पनि ती संस्मरण साहित्यमा अव्वल छन् ।

संस्मरणले संस्मरणकर्तालाई विगतको विचरणमा पुर्‍याएर आनन्द र शिक्षा दिन्छ, पाठकलाई ठाउ ठाउको अनुभूूति, आवेग, दृश्य-सादृश्यतामा पुुर्‍याएर आनन्द दिन्छ । त्यसैले यो धेरैले भनेजस्तो स्मृतिबिम्ब (फ्लासव्याक) मात्र होइन, यसले जीवनको गतिशील दृश्यबिम्ब दिन्छ । हामी पाठकहरुलाई आफू नगै विश्व घुम्ने, सङ्घर्ष, समर्पण र प्रयासको अनुभूति नगरी अनुभूत हुने शक्ति हो । राम लामा ‘अविनाशी’ ले सङ्घर्षका कथा देखाएर, व्यवसायको व्यथा बताएर, विश्वभरि घुमेर, सङ्गत र सम्बन्धको वणर्ण गरेर त्यो सबैको हामीलाई अनुभूत हुने काम गरेका छन् । त्यसैले परिवेश वा घटनाको समानुभूतिमा पाठकलाई पुर्‍याउनु स्मरण साहित्यको विशेषता र वैशिष्ट्य दुवै हो ।

राम लामा ‘अविनाशी’ को स्मृतिका बिम्बहरु इतिहासलाई संस्मरण गरेको छ, सम्बन्धलाई सम्झेको छ, परिवेशलाई उतारेको छ, संस्कृतिलाई पनि सम्बद्र्धन गरेको छ । संस्मरणको रचनागर्भ नै मानवता, सम्बन्ध, संस्कार र राष्ट्रियता संरक्षण गर्नुमा छ । यो ‘अविनाशी’ को सहित्य अक्षरमा मात्र होइन, प्रत्येक अक्षरका अन्तर्यमा मानवता, संस्कार, सम्झना र परोपकार लुकेको छ । उनको मनकारी सोच साहित्यमा छ । त्यसैले ती बनावटी जस्ता छैनन् । जीवन जस्तो छ, सर्जक त्यस्तै छन् र सिर्जना त्यस्तै छ । भनौं सर्जक र सिर्जना उस्तै छन् । अक्षरको औपचारिकामा आदर्श लेख्ने र व्यवहार चाँहि अरु नै गर्नेका लागि यो मौन चुनौती पनि हो । सिर्जना पनि र सर्जक पनि उस्तै हुने चुनौती, जुन थोरैमा मात्र पाइन्छ । असल मानिसको असल सोच, असल संस्कार र असल सिर्जनाको त्रिवेणी छ ‘स्मृतिका बिम्बहरु’ मा ।

संस्मरणका सबै बिम्बहरु सकारात्मक सोचका निष्कर्षमा छन्, राष्ट्र निर्माणका लागि समर्पित छन् । सिड्नीको कथा होस कि सान एन्टिनियाको, चीनको होस वा चिलीको, अमेरिकाको होस् वा अष्ट्रेलियाको, बुद्धत्वको विषय होस् वा व्यवसायको, विकासको होस वा व्यवस्थापनको ती सबैले अन्ततः सकारात्मकता र सदाचारको निष्कर्ष निकालेका छन् । सङ्ग्रहमा सामावेश १५ वटै संस्मरणले स्वीकारेको छ कि सभ्यता र समृद्धि भनेको सकारात्मकता र सदाचारको परिणाम हो । त्यसैले स्मृतिका बिम्बहरु सकरात्मकताको चित्र हो ।

धेरैजसो संस्मरणकारहरु सम्झनालाई पजुल्याउछन् । तर ‘अविनाशी’ का संस्मरणमा सम्झना मात्र छैनन्, मानवीय स्वभाव र स्वार्थहरु, नियतिका पीडा र पीडाबाट खारिएर प्रेरणा बनेको व्यक्तित्वको झल्का पनि समेटिएको छ । स्वार्थ र ईष्यामा लिप्सिएकाहरुको ससाना स्मृतिरेखाहरु पनि मधुरा रुपमा कोरिएका छन् । नेपालीत्व भुलेर हौसिएको वर्ग पनि छ, मातृभूमि छाडेर पिल्सिएको पीडा र त्यसबाट नेपालीलाई माया गर्ने मनकारिताको ठूलो उचाइ पनि छ । त्यसैले धरै स्वादहरु एकसाथ ‘स्मृतिका बिम्बहरु’ मा पाइन्छ ।

संस्मरणमा नेताको कुरा छ, नीतिको कुरा पनि छ । शासनको कुरा छ, प्रशासनको कुरा पनि छ । नीति राम्रो नएर देश विग्रिएकोमा पीडा छ । नीतिले नेता नबनाएर, नीतिमा नेतृत्व नरहेर विकासको संभावना भएर पनि मुलुक पछि परेको, समृद्धि र रुपान्तरण निरन्तर धकेलिदै गएको तथ्यगत विश्लेषण छ । सुशासन नभएर उद्यमी व्यवसायी निराश भएको कथा छ । प्रशासनको अनुशासन र निष्ठा नभएको चित्र छ । गरिबका पसिना सँगालेर शासन गर्ने स्रोतले शासना मात्र दिएको विषय छ । पीडा छ, प्रेरणा पनि छ । प्रेरणाले पीडालाई अन्ततः अधिनस्थ गरेको छ । तर राम लामाको संस्मरणले देखाएको, भुल्दै नभुलेको विषय नेपाली मन हो, मातृभूमिको माया हो, आफन्तप्रतिको अपनत्व र मानवताप्रतिको मर्यादा हो ।

राम लामा ‘अविनाशी’ ले ‘स्मृतिका बिम्बहरु’ मा स्मृतिको मोन्टाजहरु मात्र पैल्याएका छैनन् । नजानिँदो रुपमा साहित्यको परिभाषा गरेका छन् । एल बी क्षेत्रीसँगको प्रसङ्गमा काल्पनिक विषयलाई जीवनकै कथा जसरी मीठा र रसिला शब्दले रङ्गाउन सक्न कविको खुवी हो, जुन कवितामा देखिने कुरा उल्लेख गर्दछन् । तर आफ्नो आत्मव्यथा बताउने कुरा त्योभन्दा ठूलो साहित्य हो, साहित्य मनको भित्रबाट दुख, वेदना र विरहलाई चिर्दै सुन्दर संसार, सुन्दर जीवन सङ्क्षेत्र भन्ने सङ्केत गर्न भुल्दैनन । साथीको परिभाषा गर्दछन् । सँधैभरि साथीलाई साथ दिने साथीत्व उनको अर्थमा साथी हो । त्यो अरुको साथी राम लामा ‘विनाशी’ आफै बनेका छन् । तुल्सी र दुर्गा दाजुुभाइमार्फत व्यक्त गरेका छन् । मलेशियामा आलेक्स पनि यसको उदाहरण बन्यो । अरु धेरै साथीहरु सन्सारभरि छरिएका छन् । तर संस्मरण पढ्नेहरुका लागि साथीत्वका स्थूल उदारहण स्वयम राम लामा बनेका छन्, जो भूूभरको उचो भएर पनि भूूइमै पग्लेर झरेको छ । घटनाक्रम हेरौं, विमारीको सलाइन पानीजस्तै शक्ति बनेका छन् उनी । साहित्यकारका लागि सलाइनको पानी, घुम्न जानेका लागि सलाइनको पानी, भिसा नपाउनेका लागि सलाइनको पानी, व्यवसाय सञ्चालन गर्न सलाइनको पानी, घुम्न जाने शासक, प्रशासक, नेता अभिनेता, पत्रकार-कलाकार सबैका लागि सलाइनले शक्ति दिएजस्तै राम लामाको ‘साथीत्व’ ले सघाएका छ । स्मरणभरि स्मरणकारले एउटा सन्देश सञ्चार गरेका छन् -मैले कसैको मनलाई त आघात पारिन ? सँधै एउटा मानवीय संवेदना उनको मनभरि छ, धेरैलाई विदाइ गरेका छन् गहभरि आँसु पाररेर गगल्चिएका छन्-भलै ती सङ्गतहरु निकै सङ्क्षिप्त किन नहुन् । यस्तै संवेदना भएका साथी भए संसार कति सुन्दर हुने थियो होला ?

सम्मानको संस्कार कृतिको अर्को शिक्षा हो । ठूलालाई अभिभावक सम्झेर आदर गर्ने, सानालाई अभिभावकत्व दिएर माया गर्ने, विद्वान्/दार्शनिकलाई हार्दिक सम्मान गर्ने र सबैलाई मनैदेखि मानवताको सम्मान गर्ने स्वभावलाई संस्मरणले अक्षरअक्षरमा देखाएको छ । अहिलेको समाजमा खाँचो पनि यसैको छ । जे छैन त्यसैको महत्त्व हुने हो । स्मृतिका बिम्बभरि यसको प्रधान पात्र त्यो मानवीयतालाई सम्मान गर्दै कहिले अष्ट्रेलिया त कहिले अमेरिका, कहिले चिली त कहिलो चीन, कहिले सनफ्रान्सिस्को त कहिले सान एन्टिनियो भरि दौडिएको छ । त्यो दौडाइ मानवताको यात्रा हो, जीवनको खोजी हो, जुन आत्माको अनुभूतिमा छ ।

‘स्मृतिका बिम्बहरु’ राष्ट्रियता नेपालीपन, पहिचान र अस्मिताको चित्र पनि हो । संस्मरणका कथाहरु जहाँजहाँ पुुछ त्यहा नेपालीपन र नेपाली राष्ट्रियतालाई खोज्छ । मलेशियामा निख्खर राष्ट्रियता भेटेर संस्मरणका प्रधान पात्र मख्ख पर्छन । कृतिभित्र नेपालको प्रगति र पहिचानका लागि काम गर्ने नेता, प्रशासक, राजदूत, व्यापारीहरुको खोजी छ । आलेक्सलाई दिइएको गोर्खाली खुकुुरीको उपहार होस वा नेपाली साहित्य र सङ्गीतका प्रसङ्ग हुन, खानाका परिकारका प्रसङ्गमा हुन्, पहाडी दृश्यको अवलोकन होस्, सबैमा नेपाली मनले विस्तारित पहिचान खोजिरहेको छ । नेपाली मौलिकता नियालिरहेको छ । तर भारतीय मूलका व्यवसायीको ‘अव नेपाल नही रहेगा’ जस्ता अभिव्यक्तिप्रति आक्रोस छ । लोकतन्त्रले विकास र अवसर निर्माण गर्नुपर्ने, तर त्यो डेलिभरी नहुँदा भने संस्मरणकार नीति निर्माता, शासक र प्रशासकलाई, विशेषत राजनीतिप्रति निराश छन्, सुधारको आग्रह गरिरहेका छन् ।

प्रायः स्मृति वा संस्मरणहरुमा दुख र सङ्घर्षका अनुभूति सँगालिएका हुन्छन् । राम लामा ‘अविनाशी’ को सिर्जना स्मृतिका बिम्बहरु यसको अपवाद छैन । यसले प्रधान पात्र र अरु पात्रहरुको सङ्घर्षको कथाहरुलाई उदिनिदिएको छ । नेपालीहरु मलेशियामा जीवनका लागि सङ्घर्ष गरिरहेका छन्, शान्टियागोमा सङ्घर्षमा छन्, सिड्नीमा, चीनमा, भारतमा, युरोपमा, अमेरिकामा, खाडीमा जहाँसुकै सङ्घर्षमा छन् । परिश्रम र व्यापार व्यवसाय गर्नेले नै त्यो सङ्घर्ष जितेको छ । यसर्थ स्मृतिका बिम्बहरु व्यवसायका बिम्ब पनि हुन् । सफल व्यवसायी कसरी बन्ने त भन्ने सङ्घर्षका उपायहरु बताइरहेको छ । परिश्रम र इमान्दारिताले नेपालीहरु जहाँ भएपनि सफलता प्राप्त गरिरहेका छन्, चिलीका दुर्गा र तुलसी दाजुुभाइको सङ्घर्षलाई प्रतीकका रुपमा लिऔं, अन्यत्र पनि यसरी ने सफलता पाइरहेका छन् । तर मातृभुमिमा त्यसो हुन किन सकेन भन्ने प्रश्नको उत्तर कृतिले खोजिरहेको छ ।

स्मृतिका बिम्बहरुले जोडले उठाएको अर्को विषयबस्तु डायस्पोरिक चेत, संस्कार र संस्कृतिका कुराहरु हुन् । स्मरणका घटनाहरुले स्पष्ट नभने पनि यसको अन्तर्य भनेको डायस्पोरिक चेत वा आव्रवासनको पीडा हो । भ्रमणप्रीय स्वभावले, कतिपय अवस्थामा बाध्यताले मानिसहरु एक मुलुकबाट अर्को मुलुकमा जाने र त्यही पेशाव्यवसाय गरी बस्ने गर्दछन् र त्यो डायस्पोरा बन्दछ । डायस्पोरा त्यस्तो वर्ग (अवस्था) हो, जो जन्मभूमि (होमल्याण्ड) छाडेर अर्कै मुलुक (होस्टल्याण्ड) लाई कर्मभूमि बनाएको हुन्छ तर उ त्यहाँ मातृभूमि (वा आफ्ना पुर्खाको जन्मभूमि) प्रतिको मानसिक लगावमा रहन्छ । मन र कर्मले दुई भागलाई जेडिरहेको हुन्छ । डायस्पोरा संस्कृति विश्वव्यापी रुपमा नै विकसित एवम् गतिशील बन्दै गएको छ । देशदेका डायस्पोराले सांस्कृतिक सङ्घर्ष र समागमको पात्रा बढाएको छ । डायस्पोराहरु आफूले गर्नसक्ने योगदान आफ्नो मातृभूमि/पैतृकभूमिमा गर्न चाहन्छन् । लामो समयसम्म अर्को मुलुकमा रहने उनीहरुको इच्छा हुदैन, बरु आफूरहेको मुलुकजस्तै विकसित आफ्नै उद्भव भूमिलाई बनाउने भित्री इरादा रहेको हुन्छ । जहाँ रहेपनि नेपाली डायस्पोराहरु नेपालका सद्भावना दूत हुन् । विश्वभरि फैलिएका लाखौ नेपाली मनहरुले नेपाली पहिचान, सम्बन्ध र केही हदमा समृद्धिको विस्तार गरिरहेका छन् । अर्को अर्थमा नेपाली माटोको सुवास फैलाइरहेका छन् । नेपाली राष्ट्रियताको विस्तार गरिरहेका छन् । तिनीहरु नै नेपालका सच्चा दूत पनि हुन् । डायस्पोराहरु परिवार, व्यवसाय र बृत्तिभन्दा मातृभूमि र राष्ट्रियतालाई प्राथमिकतामा राखी सेवा नै जीवन हो भन्ने आदर्शबाट परिचालित भैरहेका छन् । मन मातृभूमिमा राखेर कर्म अर्को भूमिमा गरिरहेका छन्, नेपाली पहिचान विस्तार गरिरहेका छन् । यस कृतिमा मात्र होइन, राम लामा ‘अविनाशी’ का कविता, गीत र म्यूजिक भिडियोहरुमा पनि यो कुरा छताछुल्ल छ ।

मातृभूमि छाडेर गएका नेपालीका केही अपत्यारिला र नमीठा घटना/चरित्र पनि अविनाशीले उतारेका छन् । यतिसम्म कि ‘संवेदना र भावना साँटफेरका आधारसमेत गुमाएर उकुसमुकुसपूर्ण जीवन बिताउन बाध्य व्यक्तिहरू किन अमानुषिक भएका होलान् ?’ भन्ने प्रश्न कतिपय ठाउँमा तेर्स्याएका छन् । भौतिक सुख र जैविक आवश्यकता पूरा हुँदैमा आत्मिक सन्तुष्टि प्राप्त हुँदैन र छटपटिएर बाँच्न विवश भैइन्छ भन्ने सङ्केत ठाउ ठाउमा गरिएको छ ।

तर डास्पोरिक चेतको अर्को विषय झुम्पा लहरीको ‘नेमसेक’ वा सल्मान रुस्दीको ‘मिनाइट चिल्ड्रेन’ जस्तो अस्तित्वको खोजी, पहिचानको खोजी, जीवनको खोजी, स्वत्वको खोजी भने ‘विनाशी’ का संस्मरण वा अरु साहित्यमा पाइदैन । उनी प्रथम पुस्ताका डायस्पोरा हुन्, यो विषय दोस्रो पुस्ताको डायस्पोरामा मडारिएर आउँछ । जस्तो कि चित्रा बनर्जी देभकरुणीले डायस्पोरा महिलाहरु सांस्कृतिक समायोजन र बैबाहिक सम्बन्धको दोहोरो द्वन्द्व (डवल डिलेमा) मा परेको देखाएकी छन् । भारतीय र नेपाली मूलबाट जन्मेकी त्रिनिडाडमा हुर्केकि क्यानाडालाई कार्यक्षेत्र बनाएकी शनी मुटुले आफ्ना सिर्जनाभरि स्थानबैशेषिक प्रभाव देखाएकी छन् । सुबाण्डा सुगुनसिरी, हिरोमी गोटो, कमला मार्कण्डे, भी एस नयपाल, मकेडा सिल्भेरा लगायतका डायस्पोरिक सर्जकहरुका सिर्जनमा अस्तित्वको मनोसङ्घर्ष छ जसको कारण उद्भव, भाषा, रङ्ग र संस्कृतिको विभेद हो । प्रथम पुस्ताका नेपाली डायस्पोराले यो डायस्पोरिक संवेदना टिप्न भ्याएको छैन, प्रथम पुस्ता कै डायस्पोरिक चेत र प्रवृत्ति देखिन्छ ।

नेपालको अर्थतन्त्र गैरनेपालीहरुको कव्जामा गएको प्रति चिन्ता गर्नु संस्मरणको अर्को पक्ष हो । अर्थतन्त्रको संभावना उपयोग नभएको मात्र होइन, नेपालप्रति माया नगर्ने व्यक्तिहरुले, भारतीय मूलका व्यवसायीहरुले, अरु विदेशीहरुले आफना स्वार्थ सङ्कीणर्तामा लगेका छन् । भावना र क्षमता भएका मानवशक्तिहरु देशबाट बाहिरिएका छन् । संस्मरणका पानाहरु यही चिन्तामा लपेटिएका छन् ।

समाज र सम्बन्धहरू निमानवीकृत पनि बन्दैछन् । विशेषतः चालिस काटेका दम्पत्तिहरूको अव्यक्त मानसिक अवस्थाको चिरफार ‘चिलीको सम्झना’ मा देखाइएको छ । सुखसयल र मदमाधुर्यमा मात्र पति-पत्नी रमाउन सक्छन् ? जीवन बिताएर नबताएका मनोविज्ञानहरू पनि त पति-पत्नीहरूसँग छ । वासना र सुखसयलभन्दा पर पनि मानिसहरूको जीवन छ । पति केही खुला होला, पत्नी व्यक्तिन नसकी गुम्सिएकी पनि हुनसक्छन् । सामाजिक मनोविज्ञान, नारी मनोविज्ञानको यो गहन पाटोलाई अहिले पनि देखे-नदेखे जस्तो त्यत्तिकै छोडिएको छ । सम्पन्न र व्यस्त समाजमा यो विकराल समस्या बन्नेतिर अगिबढेको छ । संस्मरणकार कल्पना गर्छन्, पुरुषहरुका लागि ब्रा र पेन्टी मात्र लगाएका वेटरले सर्भ गर्ने क्याफेहरु भएजस्तै महिलाहरुका लागि पनि यस्तै स्थितिको आवश्यकता छैन र ? समाज यो वास्तविकतामा निरपेक्ष छ । चेतनामा पनि चाहनालाई मर्यादा, संस्कृति र धर्मका नाममा दवाइएको छ । दवाइएका कुराले मन गुम्स्याउछ र पोखिन खोज्छ ।

संस्मरणको विषय बस्तुुतर्फ मिहीन रुपमा हेरौं । बाहिर हसखुस देखिने मानिस भित्रभित्रै जलिरहेको हुन्छ, थातथलो छाडेर अर्को मुलुकमा बस्ने मानिसमा त आफ्नो दुख बताउने मानिस पानि पइदैन भन्ने सार अमेरिकामा लत्रिएको कोरियन जवानीमा छ । जवान कोरियान किम पटक पटक नियतिको दुखमा जेलिएकी छन् । दाइको साथीको गिद्धे नजर हुँदै डेभिड, फिलिप र विलियम सबैबाट प्रेम, विवाह र सम्बन्धमा ठगिपछि फोइष्टमा सुखको स्वास फेदैै थिइन तर ईश्वरलाई यो पनि मन परेन छ र फोइगटको मृत्युु भो । २० बर्षको जवानीबाट शुरु भएको सपनामा यात्राले निरर्थक पाँच मोड लियो तर सबै पीडामा परिणत भएपछि त्यो दुखपूर्ण यात्रा ७९ बर्षको उमेरमा संस्मरणकारलाई बताउदै छिन् । किमको कथा इनारबाट उफ्रेर बाहिर आउने भ्यागुताको प्रयत्न जस्तै छ, सिसिफसको कथाभन्दा पनि असफल ।

‘सान एन्टोनियोमा रसाएको आँखा’ मा नेपालमा माओवादी द्वन्द्व लगायतका कारणले अमेरिका पलायन भएका व्यक्तिको अमेरिकससम्म पुुग्दाको पीडादायक यात्रा र अमेरिका पुुगेपछिको जैवनिक उतारचढावको चित्र हो । पात्र गाउ-काठमाडौं-दिल्ली-इक्वेडर-कोलम्बिया-लामो डुंङ्गा यात्रा-निकारागुवा-ग्वाटेमालाको कारागार यातना, मेक्सिको, दुई नेपाली चेलीको बलात्कार र अमेरिका पुुग्न सफल । त्यसपछि ग्रीनकार्डको चक्कर, भारतीय व्यवसायीबाट ठगी, कोभिडका कारण आफैसँग यात्रामा दुख भोग्ने व्यक्तिको मृत्यु, उसको लासलाई कन्टेरमा फालिएको कथा छ । मेक्सिकोबाट अमेरिका जाने क्रममा बलात्कृत दुईमध्ये एक चेलीको लेख ‘बीर गोर्खालीका अगाडि बलात्कृत नारी’ जो अहिले नाम चलेकी साहित्यकार हुन्, ले म पात्रलाई अहिले पनि कोक्याइ रहेको छ ।

‘नेपाल अव नेपाल नही रहेगा’ २०४७ सालमा प्रजातन्त्र प्राप्तिपछि एक भारतीय व्यवसायी ओमप्रकाश इन्नाणीको अभिव्यक्ति माथि विश्लेषित छ । राजाको संरक्षणमा भारतीय मूलका व्यापारीबाट नेपालको अर्थतन्त्र कव्जामा गएको र त्यसको प्रभाव राजतन्त्र समाप्ति पछि पनि शासन, समाज र राष्ट्रिय जीवनमा परिरहेकोमा संस्मरणकार आफूपनि व्यवसायी भएका कारण अन्तरङ्ग विश्लेषण गर्दछन् ।

‘मेरो थर्काइले बनाईदिएको सम्बन्ध’ संस्मरणकार, एक धनाद्य जहाजमालिकबाट एकैचोटि श्रमिक बनेका व्यक्ति र तानश्री विभूषित मलेशियन सरकारका पूर्व प्रहरी महानिरिक्षकसँग संस्मरणकारको कुराकानी हो तर केन्द्रविन्दुमा नेपाली राष्ट्रियता छ । प्रष्ट बोल्ने हिम्मतले पनि सम्बन्ध कसरी व्यवस्थित हुन्छ र राष्टिय महत्त्वमा पुुग्न सक्छ भन्ने कुरा संस्मरणको अध्ययनबाट अनुभव हुन्छ । यसले उघारेको अर्को पक्ष सम्पन्नता र प्रतिष्ठामा रहेका हरु पनि आफ्ना खुसीहरु बाड्ने बताउने पात्रको खोजिमा छन्, सेवा र समर्पणको खोजीमा छन् भन्ने भन्ने देखाएको छ । पूर्व प्रहरी प्रमुख आफ्ना खुसी सुनाउन सन्तान र श्रीमतीको समय पाउदैनन्, संस्मरणकारलाई बताउन पाँदा खुसी छन् । त्यस्तै ‘मलेशियामा खारिएको नेपालीपन’ मा नेपाली राष्टियताको छचल्काइमा छ । भोजनालयमा होस् कि भ्रमणमा, राजनीतिज्ञसँगको कुराकानी वा अन्य दैनिकीका ससाना कुराहरुमा नेपालीपन र नेपाली मनले महत्त्व पाएको छ । ‘साथीको अन्त्येष्ठिमा जान नमानेको मन’ विदेशमा नेपालीको व्यवहार र नेपालीप्रतिको व्यवहारको सादा चित्र हो । मानवता र साथित्व पनि छ, साथित्व र मानवताप्रति न्याय गर्न नसकेको समाज पनि छ । ‘सिड्नीलाई सम्झिँदा’ सहयोग र कर्मको वृत्तान्तमा छ । ‘चिलीको सम्झना’ सङ्घर्ष र साथित्वमा रमाएको नेपालीको कथा हो । मातृभूमि छाडेर अर्कोभूमिमा स्थापित हुन कति गाहो हुुन्छ तर साथित्व र सहयोगमा त्यो कति सुन्दर हुन्छ भन्ने कुरालाई दुई चिलीबासी नेपालीको परिवारबाट देखाइएको छ । संस्मरणकार यसलाई चिलीको सम्झना जस्तै अरु सबै विदेशबासी नेपालीको व्यवहार होस् भन्ने आग्रहमा छन् । ‘भिक्षुहरुको दिनचर्या मात्र होइन, लिमाग पनि सन्यासी हुन्छ’ बौद्ध दर्शन र भिक्षुहरुको सादगी व्यवहारमा केन्द्रित छ । ‘अमेरिकाा रमाउन नसकेको मन’ अमेरिकामा रमाउने, धोका खाने र स्वदेश फर्र्किएर बस्न बाध्य कैयान नेपालीहरुसँग मिल्ने कथा हो । यसका पात्र केन्नी पाण्डे नेपाल फर्किएका छन्, तर राष्ट्रियता वा जन्मभूमिको मायाले होइन, आफ्नै पारिवारका कारण । उनले नेपाल फर्किनुको सत्य कुरा बताएका छन् । कैयन नेपालीहरु विदेशमा गएर आफ्नै पति, पत्नी, सन्तान, साथीबाट धोका पाएर बर्बाद पारका छन् । अन्य संस्मरण पनि संगत, सहयोग, सम्वाद र मनोवादमा विस्तारिदै तैरिएका थिग्रिएका स्मृतिहरु हुन् । जसको केन्द्रविन्दुमा नेपली मन र मानवता छ । सबै संस्मरणभित्र भौतिक सुख र यान्त्रिक व्यवहारबाट माथि उठ्ने चाहना छ ।

संस्मरणहरु यथार्थ हुन्छन्, काल्पनिकताको लेस हुँदैन । भोगिएका यथार्थलाई कलाशिल्पको लेपनले संस्मरण पढ्न, बुुझ्न, घटनासँग साक्षत्कार हुन, दृश्यसापेक्षता र समानुभूतिमा ल्याउन र आफूभएर परिस्थितिको विचरण गर्न सकिन्छ । राम लामा ‘अविनाशी’ का स्मृतिका विम्बहरुले जो कुनैलाई त्यै अनुभूति दिन्छ । स्मरणको अर्को विवेशषता शिक्षा हो, सुधारको शिक्षा, सभ्यता र समृद्धिका लागि शिक्षा । अमेरिकामा लत्रिएको कोरियन जवानीले कति धेरै शिक्षा दिएको छ । नारीको लागि रुप र सुन्दरता पनि शत्रु भयो, जवानी र माधुुर्य पनि शत्रुु भयो, नारी महत्वाकाङ्क्षा पनि शत्रु भयो, प्रेम-प्रणय पनि शत्रु भयो, समाज पनि शत्रु भयो । सङ्घर्षले जीवन व्यवस्थापन हुन्छ कि भन्ने भएपछि अन्ततः नियति नै महाशत्रुभयो र एउटा जीवन लगभग अवशानमा गयो । यसले त थुप्रै शिक्षा दिएको छ नि । किम त सबै नारीकी प्रतीक हुन । अमेरिका जाने मोहमा रहेका युवायुवतीको पीडा र सङ्घर्षको शिक्षा सान एन्टानियोमा रसाएका आँखाले दिएको छ, चिलीको सम्झनाले दिएको छ, सिड्नीको कथाले दिएको छ । भिक्षुको दिनचर्याले दिएको छ । साहित्यिक कार्यक्रम र घुमफिरले नेपाली मन र पहिचान विस्तार गर्ने शिक्षा दिएको छ । भ्रमण र उठवसले राष्ट्रियता जगेर्ना गर्ने शिक्षा दिएको छ । लेखकका यात्राहरु पनि शिक्षामय बनेका छन् । निष्कर्षमा सकारात्मक बन भन्ने शिक्षा र सन्देश दिएको छ ।

संस्मरणकारले आफैमाथि प्रश्न, आफ्नै कार्यकारणमाथि प्रश्न उठाएर इमान्दारिता देखाएर संस्मरणमा लेखिएन भने त्यो संस्मरणलाई समाजले स्वीकार्दैन । आफैमाथिको चुनौती सामना गर्न नसक्ने व्यक्तिले समाजलाई चुनौती सामना गर्नसक्ने साहस दिदैन । कठोर इमान्दारिता वा ब्रुचल अनेष्टी गरेर आफैमाथि प्रश्न उठाउने संस्मरणकारले माया पाउँछ ।

स्मृतिका बिम्बहरु एन्टी मेम्वाएर धारबाट लेखिएको संस्मरण हो । यस कोटीका संस्मरणहरु डिसेल्फिङको कोणबाट लेखिन्छन् । अरुका जीवनका घटना अरुका लागि आफ्नो मथिङ्गल प्रशोधन गरेर लेखिनु एन्टी मेम्वाएर हो । राम लामा ‘अविनाशी’ का संस्मरणहरु एन्टी मेम्वाएर हुन् । प्रस्तुति सम्वादबाट शुरु भएर मनोवादमा टुङ्गिनु संस्मरणको संरचनात्मक विशेषता हो । तर घटना विन्यास र सम्वाद शैलीहरु परिस्कृत भैदिएको भए हुनेथियो भन्ने निष्कर्ष जोकुनै पाठकले गर्छ । बोलिचालीका बाक्यहरु परिस्कारबाट माझिएका भए ‘स्मृतिका बिम्बहरु’ को कथा घनत्व र कला घनत्वको राम्रो सम्मिलन हुनसक्थ्यो ।

जे होस् सरल भाषाशैली र जीवनजस्तै नमिलेको संरचनामा लेखिएका ‘स्मृतिका विम्बहरु’ नेपालीहरुका जीवन रेखा हुन्, जुन सिद्धान्त र सूत्र जस्ता सजिला नभै जिकज्याक-उवडखावडमा हिडिरहेको छ । जीवन सिकाउन जीवन देखाएको छ, सङ्घर्ष सिकाउन सङ्घर्ष देखाएको छ । त्यसैले यसले नेपाली सहित्य सिर्जनामा वेग्लै स्वाद दिएको छ ।

– मैनाली निवास, क्षितिज मार्ग, शङ्खमूल ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }