मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै काठमाडौं महानगर


  • - अनिष मिजार÷न्युज एजेन्सी नेपाल,काठमाडौं
  • आइतवार, बैशाख २, २०८१
  • 56
    SHARES

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यमशिल महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम शुरु गरेको छ । महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशिलता,आफ्नै सीपमा मौलिक पन,आत्मनिर्भर उद्यमी, हाम्रै्र लगानी,हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशिल बन्न चाहने महिला तथा पुरुषहरुको लागि उद्यमशिल तालिम कार्यक्रम शुरुवात गरेको छ । पहिलो चरणमा १६ वटा वडाहरुमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशिल तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् ।

उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौं महानगरले हरेक वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौं महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना रहेको जनाएको छ । महानगर पालिकाले महिला उद्यमीद्वारा उत्पादन बस्तुहरुलाई बजारको प्रवद्र्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशिल तालिमको योजना बनाउने भनि गरेका प्रतिवद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो । काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमुलक तालिमसहित प्राविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनु भयो ।

उहाँले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरुलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गर्नुभयो । उपप्रमुख डंगोलले उद्यमशिल तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरु पनि जोडिन सक्ने जानकारी दिनुभयो । उहाँले महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘३२ वटै वडाभित्र फरक–फरक उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य छ । यसमा महिलाहरुको लागि मात्रै नभएर पुरुषहरुको पनि सहभागिता छ । हरेक वडामा फरक–फरक किसिमको तालिम दिँदैछौं । तालिमको लागि तालिम मात्रै नभएर जान्दै नजान्नेलाई त्यही क्षेत्रमा विज्ञगरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएका छौं ।’

उपप्रमुख डंगोलले उद्यमशिल तालिम लिने तर उद्यमीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशिलता हराउँदै गएको पाइएको बताउनु भयो । उहाँले महानगरले उद्यमशिलतालाई थप प्रवद्र्धन गरी सीपमुलुक तालिम लिएका उद्यमीको उत्पादनलाई बजारसँग जोडेरउनीहरुलाई उद्यमी बनाउँने कार्यक्रम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विगतमा भएका सिप मुलुक तालिमहरुले धेरैले व्यहारमा लागू नगर्ने गरेका छन् । त्यस्तो नहुनुमा सीप सिकेपछि बजारसँग जोड्न नसक्दा समस्या भएको रहेछ । त्यही सिकाईलाई मध्यनजर गरेर तालिम दिँदै छौं । तालिम दिएपछि उनीहरुलाई महानगरपालिकाले उद्यमी बनाउँदैछौं ।’

काठमाडौं महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरुमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरुसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ । महानगरले उद्यमशिल तालिम दिनु ठूलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रुपमा उत्पादन गर्नु अहिलेको चुनौति रहेको दाबी गर्नुभयो । उहाँले यस्ता चुनौतिलाई चिर्नको लागि महानगरले एक वडा एक नमूना उद्यमसिलत कार्यक्रमबाट धेरैले उपलब्धी लिने बताउनु भयो ।

‘महानगरले विभिन्न स्टेक होल्डरहरुसँग समन्वय सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं । उद्यममा गर्ने लगानी देखि बजारसँग जोड्नेसम्म महानगरले विभिन्न निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने उदेश्य लिएका छौं ।’ उहाँले भन्नुभयो, ‘उद्यमशिल तालिम गर्नु ठूलो कुरा होइन । गरेपछि त्यसलाई दिगो रुपमा कसरी प्रभावकारी बनाउने महत्वपूर्ण र ठूलो कुरा हो भने अहिलेको चुनौति पनि हो । चुनौतिलाई चिर्नको लागि हामीले ल्याएको कार्यक्रमहरुबाट धेरैले उपलब्धी र फाइदा लिन सकुन् भन्ने हो ।’

उहाँले काठमाडौंमा भएको शहरी गरिव अन्त्य गर्नको लागि पनि उद्यमशिल तालिम अघि सारिएको बताउनु भयो । उहाँले काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनी रहेकालाई उद्यमशिलता मार्फत जीवनस्तर माथि उकास्ने योजना रहेको दाबी गर्नुभयो ।

स्थानीय आवश्यकताको आधारमा उद्यमशिल तालिम

महानगरले ३२ वटा वडामा त्यहाँको स्थानीय आवश्यकता पहिचान गरेर उद्यमशिल तालिमको व्यवस्था गर्ने भएको छ । महानगरले ३२ वटा वडामा फरक–फरक सिपमुलक उद्यमशिल तालिमको कार्ययोजना बनाएर अघि बढेको छ । ३२ वडामा बस्ने काठमाडौंवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौंका विभिन्न वडामा बस्नेहरुले पनि आवेदन दिई उद्यमशिल तालिममा सहभागिता जनाउन सक्नेछ ।

आवदेन दिनेहरुको उद्यमी बन्ने इच्छाशक्ति र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । महानगर उपप्रमुख डंगोलले वडाहरुमा फरक–फरक तालिमहरु दिन लागिएको बताउनु भयो । उहाँले कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने,कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने बताउनु भयो । उहाँले महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएको बताउनु भयो। उहाँले तालिम लिएका उद्यमीहरुलाई अहिले महानगरले प्रविधि हस्तान्तरण गरेर एड्भान्स लेभलको तालिम दिइरहेको बताउनु भयो । उहाँले वडा नम्बर ५ लाई माटोको भाडामा आत्मनिर्भर घोषणा गर्ने योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ वडाहरुमा फरक–फरक तालिमहरु दिँदैछौं । कुनै वडामा गुन्द्रुक बनाउने,अर्को वडामा मस्यौरा बनाउने तालिम दिँदैछौं । कुनै वडामा माटोका भाडा बनाउने तालिम दिँदैछौ । वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएका थियौं । अहिले प्रविधि हस्तान्तरण गरेर उहाँहरुलाई एड्भान्स लेभलको तालिम दिँदैछौं ।’

उहाँले महानगरको १२ नम्बर वडामा सुकुल बुनाउने तालिम दिने तयारी रहेको बताउनु भयो। उहाँले १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने बताउनु भयो । उहाँले स्थानीय मागअनुसार तालिम दिने तयारी र योजना रहेको जानकारी दिनुभयो ।

शहरी गरिबी अन्त्यको लागि उद्यमशिलता

काठमाडौं महानगर पालिकाले महानगर पालिकाभित्र रहेको शहरी गरिबीलाई अन्त्य गर्ने योजनाका साथ उद्यमशिल कार्यक्रमलाई अघि सारेको बताएको छ । काठमाडौं महानगरभित्र पनि शहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौंमा पनि गरिबीको रेखामुनी रहेका मानिसहरु बसोवास गर्ने गरेका छन् ।

खास गरी उनीहरुको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मुलक सीप तालिम सञ्चालन गर्न लागिएको उप्रमुख डंगोलको भनाई छ । उहाँले काठमाडौं महानगरभित्र पनि गरिबी छ र ? भन्ने प्रश्न आउने गरेको बताउनु भयो । उपप्रमुख डंगोलले महानगरभित्र पनि शहरी गरिबी रहेकाले उद्यम,सीप तालिममार्फत स्थानीय उत्पादनमा लगाउने उदेश्यले बजेट मार्फत उद्यमशिल तालिम सञ्चालनको तयारीमा गरिएको दाबी गर्नुभयो ।

‘काठमाडौंमा गरिबहरु हुनुहुन्छ भनेर धेरैले प्रश्न सोध्नुहुन्छ । काठमाडौंमा छुट्टै खालका शहरी गरिबहरु पनि रहेका छन्’ उहाँले भन्नुभयो ।

उहाँले शहरी गरिबलाई पनि मध्यनजरमा राखेर उद्यमशिल तालिमहरु अघि सारेको बताउनु भयो । उहाँले उद्यमशिल तालिमको माध्यमबाट गरिबीको रेखामा रहेकाहरुको जीवनस्तरमा सुधार ल्याउने बताउनु भयो । उहाँले गरिबीको रेखाबाट माथि उठ्ने गरी महानगरले उद्यमशिल कार्यक्रमलाई व्यवस्थित र दिगोपन दिनेगरी अघि सारेको बताउनु भयो ।

काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरु ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशिलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ ।

हरेक वडामा कोसेली घर

महानगरले ३२ वडामा उद्यमशिल तालिम दिएर प्रविधिमार्फत उत्पादन शुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ । उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारसँग जोड र स्थानीय उत्पादनमा प्रत्येक वडा आत्मनिभर बनाउने उद्देश्य महानगरको छ । महानगरले दिएको सीपमुलक तालिममार्फत उत्पादन भएका वस्तुहरुलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । वडामा उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कोसेली घरसँग जोड्ने गरी अवधारणा अघि सारिएको उपप्रमुख डंगोलको भनाई छ ।

उपप्रमुख डंगोलले भन्नुभयो,‘१६ वटा वडाबाट पाइलटिङ गर्दैछौं । वडा फरक–फरक ढङ्गको उत्पादन गरेपछि उहाँहरुसँग समन्वय गरेर हरेक वडामा कोसेली घरको अवधारणा अघि सारेका छौं । कोसेली घरमा त्यस्ता उत्पादनहरुलाई जोड्ने हो । त्यसरी काठमाडौं महानगर भित्र उत्पादन भएका वस्तुहरुको लागि बजार व्यवस्थापन गर्ने सोचेका छौं ।’

महानगरले दिएको उद्यमशिल तालिमबाट उद्यमीले उत्पादन गरेको वस्तुहरु कोसेली घरमा मात्रै सिमित राख्ने भन्दा पनि काठमाडौं भित्र र देशभर विभिन्न ठाउँमा रहेका बजारहरुमा लैजाने वातावरण बनाउने उपप्रमुख डंगोलको दाबी छ ।

बिगमार्ट र सुपर मार्केटहरुमा ‘मेड इन काठमाण्डौं’को छुट्टै स्थान रहने

काठमाडौं महानगरले स्थानीय साना तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखि नेपाली वस्तुहरुको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो । नेपाली उत्पादनहरुलाई नेपालीहरुले प्रमुख प्राथमिकता दिन आवश्यक रहेकाले यस्तो अवधारण ल्याउन लागिएको उप्रमुख डंगोलको भनाई छ ।

उहाँले महानगर भित्रका उद्यमीहरुले उत्पादन गरेका कृषिजन्य तथा अन्य वस्तुहरुलाई महानगरभित्रका मार्ट तथा सुपरमार्केटहरुले अनिवार्य स्पेश दिन आवश्यक रहेको बताउनु भयो । उहाँले मार्ट तथा सुपर मार्केटहरुले नेपाली उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्न नसक्ने बताउनु भयो । उहाँले स्पेस भएर बजारसँग नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरु जोडिए मात्रै बजारमा प्रतिष्पर्धा गर्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विभिन्न ठाउँमा रहेका मार्टहरुमा मेड इन नेपाल राख्नुपर्छ । किनकी हामीले हाम्रो उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्नको लागि पहिला मार्केटसँग लिङ्क गर्न सक्नुपर्छ । त्यसपछि मात्रै प्रतिष्पर्धा गर्न सकिन्छ ।’

उहाँले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल,मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरुलाई जोड्ने लक्ष्य महानगरको रहेको बताउनु भयो । उहाँले त्यसको लागि महानगरले विभिन्न स्टेक होल्डरसँग सहकार्यको लागि छलफल अघि बढाएको उल्लेख गर्नुभयो । त्यस्तै,उपप्रमुख डंगोलले शनिवार वा अरु दिनहरुमा महानगरभित्रकै वडाको पेरिफेरिमा,सभागृह भित्र अथवा अन्य ठाउँहरुमा मेड इन काठमाडौं मेला गर्ने योजना बनाएको पनि बताउनु भयो ।

उहाँले उद्यमीहरुले उद्यमशिलता तालिमपछि गरेको उत्पादनगुणस्तर परीक्षण गरी गुणस्तर कायम भए उद्योग स्थापना गर्ने स्थानीय सरकारको रुपमा उद्यमीहरुलाई सहयोग गर्ने बताउनु भयो । उद्यमीहरुलाई महानगरले करमा छुट दिएर मेड इन काठमाडौं जस्ता मेला आयोजना गरेर उद्यमीहरुलाई बजारसँग जोड्ने लक्ष्य राखेको उहाँको भनाई छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने योजना

काठमाडौं महानगरको उद्यमशिल तालिमबाट ३२ वटै वडामा फरक–फरक किसिमका उद्यमीले उत्पादन गरेका वस्तुलाई देशभरका बजारसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजना रहेको उल्लेख गरेको छ । महानगरले ३२ वडामा उत्पादन भएका वस्तुहरुलाई महानगरभित्र मात्रै सिमित नराख्ने जनाएको छ । महानगर उप्रमुख डंगोलले स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई गुणस्तर कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पठाउने बताउनु भयो । उहाँले नेपालबाट धेरै बस्तुहरु विदेशमा निर्यात पनि भइरहेको भन्दै विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि छलफल गरिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यो महानगरपालिका भित्र मात्रै पनि सिमित हुँदैन । त्यस्ता वस्तुहरु देशभर जानसक्ने गुणस्तर बनाउन सकिन्छ । त्यस्तै,नेपालबाट धेरै वस्तुहरु विदेशमा निर्यात पनि भइरहेको छ । विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि महानगरले छलफल गरिरहेको छ ।’

उहाँले महानगरले उद्यमशिल तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न गरी उत्पादन वृद्धि गर्ने योजना बनाएर कार्यक्रम अघि बढाएको जिकिर गर्नुभयो । उहाँले उद्यमशिल तालिम श्रमसँग मात्रै नभई सीप,आत्मनिर्भरता ,समाजरुपान्तरण र गरिबी निवारणसँग पनि जोडिएको दाबी गर्नुभयो । महानगरले श्रम मेलामा २०८१ सालमा २ हजार ८१ जनालाई श्रम र रोजगारीसँग जोड्ने उद्देश्य छ । श्रम मेला सीप सिक्ने र सीप सिकेपछि रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }