शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘आँसुको उपहार”मा डुबेर निस्कँदाः- ( समीक्षा )


  • तीर्थराज अधिकारी
  • सोमवार, जेष्ठ २८, २०८१
  • 322
    SHARES

‘आँसुको उपहार”मा डुबेर निस्कँदाः- ( समीक्षा )

‘कति छन् कति दुखी कहानी भनेर सकिन्न
किस्ता किस्तामा आउने चिन्ता गनेर सकिन्न
सहनु बाहेक अरु के नै हुँदोरहेछ र ए जिन्दगी!
हृदयको दस्तावेजमा टाँसिएको खनेर सकिन्न”।

माथि प्रस्तुत भएको मुक्तक बहिनी शारदा क्षेत्रीको ‘आँसुको उपहार” नामक मुक्तक सङ्ग्रहबाट उद्धृत गरिएको हो। यस्तै प्रकृतिका २२२ (दुइसय बाइस) मुक्तकहरुको सँगालो हो ‘आँसुको उपहार”। यसमा सँगालिएका मुक्तकहरु मध्य अधिकांश मुक्तकहरु असाध्य चित्ताकर्षक पाएँ।प्रथम प्रकाशनमानै यति शक्तिशाली मुक्तकको सँगालो मैले विरलै पढेको थिएँ। लेखक र पाठकको बिचमा तगारो बनेर उभिने भूमिकाको अनावस्यक प्रसङ्ग यसमा जोडिएको छैन। विशुद्ध साहित्यिक सेवा भावको उपज हुनाले पुस्तकको मूल्य नतोकिएको होला। आवरण र शकल आकर्शक लाग्छ।

शारदासित मेरो चिनाजान पुरानो होइन। कवयित्री शकुन ज्ञवालीमार्फत भरखरमात्र बोलचाल भएको हो। फोनमा कुरा गर्दैगर्दा शारदा पनि लमजुङकी छोरी रहिछन् र म भन्दा सानी भएकाले बहिनी भन्न सजिलो भयो। बहिनीले पठाएको उपहार प्राप्त भए पछि एकै बसाईमा पढेर सकेँ। यस सङ्ग्रहमा धर्म, संस्कृति, संस्कार, राष्ट्र, मातृ स्नेह, समाज, राजनीति, शिक्षा, साहित्य, पति वियोगका वेदना, कोरोनाले आक्रान्त जीवन आदि विषयमा सृजित धेरै मुक्तक समावेश भएका रहेछन्। अधिकांश मुक्तकहरु कवयित्रीको वैयक्तिक विषयसंग सम्वन्धित छन् तापनि आफ्नो भवात्मक उपस्थितिले पाठकको मन जित्न सफल भएकी छिन्।

यो मुक्तक सङ्ग्रह आफ्नो समयको सशक्त हस्ताक्षर हो। भाषा सरल तथा सहज छ। जसले यी मुक्तकहरु पढ्दछ उसले आफूलाई यसैभित्र पाउँछ। जतासुकै देखा पर्ने संवेदनाका झलकहरु अनुभव त गर्न सकिन्छ त्यसलाई कवित्वमा उतार्ने चेष्टा गर्नु मुक्तक लेखकको सिर्जना शक्ति भित्रको कुरा हो। यस सङ्ग्रहमा धेरै नायाँ पुराना विषय समेटिएका छन् जसले आफूले भोगेको जीवनको बात मारेका छन्।यथार्थमा भन्दा सामाजिक जीवनमा व्याप्त दुःखलाई सहजै भुलाउन सक्ने खालका मुक्तक भन्न उपयुक्त होला।

जव दुख निवारण हुँदैन तव दुःखसितै प्रेम बस्न शुरु हुन्छ-
‘आफुले आफ्नै मनलाई सोधेँ
किन दुख्छस् तँ तनलाई सोधेँ
उत्तर कुनै पाउन सकिन
झर्‍यो आँसु नयनलाई सोधेँ”।—-पेज (२०)
उनका मुक्तकहरुमा जिन्दगीका धेरै रङ्गहरु मिसिएका छन्। जीवन भोगाइबाट उत्पन्न वेदनाहरु शब्दमा बदलिएर यसरी अभिव्यक्त हुन्छन्।
‘मनको खाताभित्र लेख्ने ठाउँ छैन
पिर वाधा चोटको कुनै नाउँ छैन
के उपनाम दिऊँ के भनेर बोलाऊँ?
आइदिन्छ उर्लिएर कुनै जनाउ छैन”।……….पेज(९)
कवयित्रीले यस मुक्तक सङ्ग्रहमा कति संवेदनाको बाढी थामेकी छन् भन्ने कुराको वर्णन तलका मुक्तकहरुमा स्प्रष्ट देखिन्छ।
‘यो स्वार्थी संसारमा बाच्न गाह्रो हुन्छ
भित्री मन दुखेपछि हाँस्न गाह्रो हुन्छ
फूलको जवाफ पत्थरले दिन्छन् मान्छे
नबुज्दा मान्छेलाईमित्रता गाँस्न गाह्रो हुन्छ”।……….पेज(३४)
‘पल पलमा तिम्रो तस्बिर छुन मन लाग्यो
अँगालेर धर्की धर्की रुन मन लाग्यो
कता काता तिमी हराउँदा आत्तिएर कराएँ
समीपमा बसीसँगै हुन मन लाग्यो”।…………पेज(५२)
यीनले आफ्नो सङ्ग्रहलाई अत्यन्त पठनीय बनाएकी छन्। सरलभावलाई सुनियोजित तवरले समावेश गरेर एउटा संमोहन पैदा भएको छ।
‘ऊद्रिएको मन सिलाउन आँटेकी थिएँ
झर्ने आँसुको धागो बाटेकी थिएँ
सागर बनेर बगिरह्यो नयनबाट
पख भनि आफैले आफुलाई ढाँटेकी थिएँ”।………….पेज(७१

कुनै काव्यकृति तव सफल मानिन्छ जव त्यसमा हृदयस्पर्शिता द्वारा परिपूर्ण होस। अन्तस्तलबाट निस्किएको स्वर होस। हृदयसँग साक्षात्कार गरेको भावना होस।दार्शनिक विचार, अस्तित्वाद र आध्यात्मिक भावनाले ओतपोत यी मुक्तकहरु रसानुभूतिले परिपूर्ण छन्।यी मुक्तकहरु भावप्रवणता, संक्षिप्तता र सौन्दर्यमयी कल्पनामा आधारित छन्।

शारदा शब्दको महल बनाउन सक्ने कवयित्री हुन। उनका मुक्तक पढने क्रममानै प्रशंसा गर्नको लागि मन विवश हुन्छ। कवयित्रीको शब्द सामर्थ्य र भावजगतले विस्तृत आयम ओगटेको छ। उनी प्रतिभाकी खानीहुन, अझ यसलाई स्प्रष्ट गर्दा प्रतिभाकी धनी साहित्यकार हुन्। उनका सरस सिर्जनाले पाठक जगतमा गहिरो छाप राख्ने छन्। यसमा संलग्न मुक्तकहरु आफ्नै युगसंग बहस गरेका छन्।

हाल प्रचलित मुक्तकमा पहिलो, दोश्रो र चौथो हरफ अन्त्यानुप्रास युक्त र तेश्रो हरफ स्वतन्त्र रहन्छ।रुबाई अरवी शब्द हो। यसको अर्थ चार हुन्छ।
बनावट यस्तो हुन्छः-
क-यसमा चार पद हुन्छन्।
ख-चारै पदको मात्रा र लय समान हुन्छ।
ग-पहिलो,दोश्रो र चौथो पद तुकान्त र तेश्रोपद अतुकान्त हुन्छ।
घ-मुक्तकको केन्द्र बिन्दु अन्तिम दुई पङ्तिमा आश्रित हुन्छ।
ङ-यसको असर तीखो र धारिलो हुन्छ।

यस सङ्ग्रहका कुनै कुनै मुक्तकहरु यस नियमसंग थोरै मात्रामा विचलित भएतापनि मुक्तकको नियमलाई ऊल्लङ्घन गर्ने अभिप्राय नभै साधारण असावधानीले गर्दा ससानो गल्ती भएको हुन सक्छ। यसलाई निरन्तर लेखाइले सुधार्न सकिन्छ।

मुक्तक पल्लवितमात्र होइन पोषित पनि हुनु पर्दछ।सशक्तिकरणको दृष्टिले महिला आजभन्दा बढि सवल हुन भन्ने धारणाले उनले केही पङ्क्ति लेखेकी छिन्। महिला अधिकारको व्याख्यामात्र होइन, प्रयोग पनि होस भन्ने चाहना हो। दार्शनिक विचार, अस्तित्वाद र आध्यात्मिक भावनाले ओतपोत यी मुक्तकहरु रसानुभूतिले परिपूर्ण छन्। यो एउटा काव्य ज्योति हो। यो मुक्तक सङ्ग्रह कल्पना एवं विषय वस्तुको दृष्टिकोणले अत्यन्त उत्कृष्ट कोटीको पाएँ। यिनको गौरवमयी सशक्त लेखनी निरन्तर अविछिन्न गतिमान बनोस, हार्दिक शुभकामना।

-तीर्थराज अधिकारी
पोखरा१०, हाल संयुक्त राज्य अमेरिका।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }