काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारले बहुमत गुमाइसकेको भनी टिप्पणी गर्नु हतार हुने बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेस प्रदेश सरकारको भविष्य र त्यहाँ अपनाइने रणनीतिका विषयमा प्रदेश संसदीय दल र प्रदेश कार्यसमितिको निर्णय नै निर्णायक हुने स्पष्ट पार्नुभएको हो । मधेस प्रदेश सरकारमा अहिले देखिएको अस्थिरता र सरकारबाट केही दलहरू बाहिरिने क्रम चलिरहेको सन्दर्भमा शर्माले काँग्रेस सङ्घीयताको मर्मअनुसार चल्ने बताउनु भयो । उहाँले प्रदेशको नेतृत्व र संसदीय दलको भूमिकालाई सम्मान गर्दै केन्द्रले हस्तक्षेप नगर्ने नीति दोहो¥याउनु भयो । उहाँले मधेस प्रदेशका सभापति श्रीकृष्ण यादव र मुख्यमन्त्रीसँगको समन्वयमा मात्र पार्टीले औपचारिक धारणा बनाउने संकेत गर्नुभयो ।
शर्माले भन्नुभयो, ‘ मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्नु हतार हुनेछ । मुख्यमन्त्री श्रीकृष्ण यादवले बहुमत गुमाइसक्नुभएको छ भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ । राजनीतिक समर्थन फेरिन सक्ने भएकाले परिस्थितिको थप मूल्याङ्कन आवश्यक छ । सङ्घीयताको मर्मअनुसार यस विषयमा केन्द्रले हस्तक्षेप गर्नेभन्दा पनि प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलले आवश्यक निर्णय लिनुपर्छ । प्रदेशले गर्ने उपयुक्त निर्णय नै नेपाली काँग्रेस केन्द्रको निर्णय हुनेछ ।’
विपक्षी बेन्चमा बस्नुपर्ने अवस्था आए पनि काँग्रेस त्यसका लागि तयार रहेको भन्दै उहाँले सरकारको निरन्तरता वा विकल्पका बारेमा अहिल्यै हतारमा कुनै ठोस निर्णय नलिने स्पष्ट पार्नुभयो । शर्माको यो भनाइले मधेस प्रदेशमा काँग्रेसले तत्काल कुनै कठोर निर्णय लिनेभन्दा पनि पछिल्लो राजनीतिक घटनाक्रमलाई सुक्ष्म रूपमा नियालिरहेको सन्देश दिएको छ । मंगलवार मात्रै पार्टी सभापति गगनकुमार थापाले राजनीतिक विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गर्नुभएको थियो ।–न्युज एजेन्सी नेपाल
