शनिबार, भदौ २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धमिलो पानीमा माछा मार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य कडाइका साथ प्रस्तुत होस्: राजेन्द्र मल्ल


  • माउन्टेन खबर
  • शनिबार, भदौ २०, २०८३
  • 52
    SHARES

काठमाडौँ –  नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा देखिएको ग्यास र अन्य अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकार र सरोकारवाला निकायले विशेष कदम चाल्नुपर्ने बताउनुभएको छ ।

 

 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढी पहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै मल्लले ग्यास आपूर्तिको समस्या समाधानका लागि नेपाल आयल निगमले व्यावहारिक नियमन गर्नुपर्ने बताउनुभएको हो । उपभोक्तालाई ग्यासको सहज उपलब्धता गराउन एक उद्योगको खाली सिलिन्डर दिएर अर्को उद्योगको भरिएको सिलिन्डर लिन पाउने (क्रस–एक्सचेन्ज) व्यवस्था मिलाउन उहाँले सुझाव दिनुभयो । यसबाट उपभोक्ताले नयाँ सिलिन्डर किन्नुपर्ने अतिरिक्त आर्थिक भारबाट समेत मुक्ति पाउने उहाँले उल्लेख गर्नुभयो । सङ्कटका बेला बजारमा हुने कालोबजारी र अनुचित नाफाखोरीप्रति सङ्केत गर्दै उहाँले त्यस्ता गतिविधिमा संलग्नलाई कानुनसम्मत कारबाही गर्नुपर्ने बताउनु भयो । धमिलो पानीमा माछा मार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य कडाइका साथ प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय अविरल वर्षा र बाढी पहिरोका कारण तातोपानी र केरुङ नाकामा अवरोध सिर्जना भएको उल्लेख गर्दै मल्लले विकल्पका रूपमा ‘कोरोला नाका’ लाई तत्काल प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो । चिनियाँ पक्षको सीमा अवरोधका कारण मारमा परेका व्यवसायीहरूका लागि कोरोला नाका उपयुक्त विकल्प हुनसक्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘एउटा उद्योगको सिलिन्डर अर्कोसँग साटासाट गर्ने र पछि उद्योगहरूबिच नै हिसाब मिलान गर्ने संयन्त्र बनेमा बजारमा ग्यासको अभाव तुरुन्तै हट्छ । सडक मार्गभन्दा समुन्द्री मार्गबाट कन्टेनरमा सामान ल्याउँदा सस्तो पर्छ । यसतर्फ पनि ध्यान दिनु आवश्यक छ ।’

व्यवसायीहरूलाई व्यवस्थित ढङ्गले व्यापार गर्न आग्रह गर्दै मल्लले पोका–पुन्तरामा सामान ल्याउनुको साटो कन्टेनर प्रणाली अपनाउन सुझाव दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा बिमाको अनिवार्यताबारे समेत सचेत गराउनु भयो । बिमा नगरी ल्याइएका सामान बाटोमा क्षति हुँदा धेरै व्यवसायीहरू आर्थिक रूपमा धराशायी भएको बताउँदै उनले अन्तर्राष्ट्रिय व्यापारिक मापदण्ड र उत्तरदायित्व पालना गर्न आग्रह गर्नुभयो । भन्सार प्रक्रिया पूरा भए पनि बिमा अभावमा क्षतिपूर्ति नपाउँदा व्यवसायीहरूले ठुलो नोक्सानी व्यहोर्नु परेको उहाँले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)