काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा बाढी र पहिरोले अकल्पनीय क्षति पु¥याएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गर्नुभएको छ ।
नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता लामाले भदौ १० गते चीनको सीमावर्ती क्षेत्रबाट शुरु भएको बाढीले ठूलो जनधनको क्षति गरेको बताउनु भयो । गोसाइँकुण्ड मेला र जनैपूर्णिमाको समयमा आएको यस प्राकृतिक विपद्ले तीर्थयात्री र स्थानीय बासिन्दालाई गम्भीर रूपमा प्रभावित पारेको उहाँले बताउनु भयो । नेता लामाले त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको सुरुङभित्र ४१ जना श्रमिकहरू अझै फसिरहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा उद्धार भइसकेको भनी फैलाइएका सूचनाहरू भ्रामक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुङभित्र रहेकाहरूसँग सुरुका दिनमा सम्पर्क भएपनि अहिले मोबाइल सम्पर्क विच्छेद भएको छ । उनीहरूको जीवितै उद्धारका लागि नेपाली सेनाले प्रयास गरिरहेको छ, तर त्यहाँ दक्ष प्राविधिक विशेषज्ञ र आवश्यक उपकरण सहितको टोली तत्काल पठाउनु आवश्यक छ । प्रदेशले के गर्ने, स्थानीय तहले के गर्ने र केन्द्रले के गर्ने भन्ने विषयमा स्पष्ट कार्यविभाजन र समन्वय हुनुपर्छ । राहत वितरणमा एकद्वार प्रणाली अपनाउन र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत तत्काल राहत पु¥याउन आवश्यक छ ।’
बाढीले नुवाकोट र रसुवा जोड्ने पुलहरू बगाउँदा आवतजावत पूर्ण रूपमा ठप्प भएको उल्लेख गर्दै लामाले तत्काल बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देवीघाटमा ५५ र ६० मिटरका दुईवटा, बेत्रावतीमा ७० मिटर र नयाँ पुल क्षेत्रमा ५५ मिटरको बेलीब्रिज तत्काल आवश्यक रहेको बताउनु भयो । यातायात विच्छेद हुँदा गाउँमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधिको चरम अभाव भएको उहाँको भनाइ छ । साथै, विद्युत सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क समेत विच्छेद भएकाले प्राधिकरणमार्फत विद्युत् सुचारु गर्न उहाँले आग्रह गर्नुभयो । उद्धार र राहत कार्यमा तीनवटै तहका सरकार (संघ, प्रदेश र स्थानीय) बीच समन्वयको अभाव देखिएको नेता लामाले औंल्याउनु भयो । बाढीले पशुचौपायाको समेत ठूलो क्षति भएको र मृत चौपायाका कारण दुर्गन्ध फैलिने जोखिम रहेकाले सरसफाई र स्वास्थ्य शतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल
