रसुवा, ६ फागुन
चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी दुई सातादेखि सुनसान रहेको छ । नेपाल र चीन दुवैतर्फको गेट खुल्ला रहेपनि मानिस तथा सवारीको आवतजावत हुन सकेको छैन् ।
रसुवागढी नाका हुदै चिनको केरुङ सामान लिन हिडेका सवारी साधनहरु पनि नाकामै रोकिएर बसेका छन् । अहिले नाकामा पुग्दा डिउटिमा खटिएका सुरक्षाकर्मि र स्वास्थ्यकर्मी मात्र भेटिन्छ ।
चिनमा कोरोना भाईरसको संक्रमण बढेपछि केरुङमा काम गर्न पुगेका करिब तिन सय नेपालीहरु नेपाल फर्किसकेको सिमा प्रहरी चौकी टिमुरेले बताएको छ । त्यस्तै अध्यागमन कार्यालय रसुवागढिका प्रमुख रामचन्द्र काप्mलेका अनुसार फेब्रुअरी महिना लागेसँगै रसुवागढी नाकाबाट चिनिया तथा बिदेशी पर्यटक लगायत नेपालीहरुको आवतजावत ठप्प रहेको छ ।
दैनिक सयौको संख्यामा स्वदेशी तथा बिदेशीहरुको आवतजावत हुने तथा सय भन्दा बढी कन्टेनर चीनको केरुङमा सामान लिन जाने सवारी साधनहरु रोकिदा आयात निर्यात ठप्प भएको छ ।
नाकाबाट हुने कारोबार ठप्प
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार ठप्प भएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी आवतजावतमा रोक लगाएपछि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार ठप्प भएको हो ।
चिनियाँ पक्षले सूचना नै निकालेर रसुवा नाका १५ दिनका लागि बन्द गरेपनि हालसम्म खुल्न सकेको छैन् । केरुङ बाट कन्टेनर नआएकाले अहिले रसुवा भन्सार कार्यालयले प्रयोग गर्दैै आएको याड खालि बनेको छ ।
दैनिक करोडौ रुपैया राजश्व संकलन गर्दे आएको भन्सार कार्यालय समेत अहिले सुनसान बनेको छ । यसैगरि दैनिक छ सय जना याडमा काम गर्दै आएका कामदारहरु समेत बेरोजगार बनेका छन् ।
पछिल्लो समय चिनियाँ नयाँ वर्ष र हिमपातका कारण नाका प्रभावित भएको थियो । आवतजावत सुस्त रहेको थियो तर अहिले कोरोना भाइरसका कारण सूचना नै टाँसेर १५ दिनका लागि बन्द गरिएसँगै नाकाबाट हुने सम्पूर्ण कारोबार ठप्प भएको छ ।
चिनिया पक्षले १५ दिन भनिए त्यो समय बितिसकेको छ । तर चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण व्यवस्थापन नभएसम्म अझै नाकाबाट आवजावत नहुने बताइएको छ । रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको व्यापारीहरुले बताएका छन् ।
२०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो ।
भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भए पछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसंगै भन्सार असुली पनि बढेको छ । चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ ।
चीनको केरुङबाट रसुवागढी नाका हुदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडि, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय तथा इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ जडिबुटि तथा हस्तकलाका सामाग्रीहरु जाने गरेको छ । रसुवागढी नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी र सवारी साधनको चाप बढ्दै गएको छ ।
