आइतवार, कार्तिक २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

करदाता प्रोत्साहन कार्यक्रमः ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २, २०८३
  • 68
    SHARES

काठमाडौँ – आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् ।

 

 

दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए । शुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको आश्वस्त पारेका थिए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालकाअनुसार उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न यो कार्यक्रम लागू गरिएको हो । असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने २ लाख ७५ हजार ८ सय ८४ र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३ सय ८० गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार यस प्रक्रियामा सहभागी भएका थिए । विभागले बम्पर उपहारका अतिरिक्त असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका १/१ जना गरी कुल १६ जना दैनिक विजेतालाई जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ (कर कट्टीपछि खुद १ लाख रुपैयाँ) समेत घोषणा गरेको छ ।

उहाँले भन्नुभयो, ‘असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ जना वस्तु तथा सेवा खरिदकर्ताले आफ्नो बिल सिस्टममा प्रविष्ट गर्नुभएको छ । क्यूआर पेमेन्ट र बिलमार्फत सहभागी भएका कारोबारसमेत गरी आजको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जम्मा ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार समावेश भएका छन् । आज असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना गरी १६ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नुहुनेछ । कर कट्टीपछि उहाँहरूको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ । साथै, एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्नुहुनेछ । विजेता बन्नुहुने सबैले आफूले सामान खरिद गर्दा प्राप्त गरेको बिलसहित कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार दाबी गर्नुपर्नेछ । अब हेरौँ, यो दसैँमा १६ जनाको बडादसैँ र एक जनाको महादसैँ बनाउने भाग्य कसको हुने रहेछ ।’

बम्पर विजेता सन्तमाया तामाङलगायत सम्पूर्ण विजेताहरूले दशैँ बिदा सकिएपछि आगामी कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजश्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ ।–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)