बिहिबार, कार्तिक ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुमसुम्याउने आगो ( कविता )


  • गाेपीराम भण्डारी
  • बुधबार, कार्तिक ५, २०८३
  • 37
    SHARES

सुमसुम्याउने आगो

अचेल आगोले पोल्दैन
सुमसुम्याउँछ
त्यसैले अँगाल्न हतारिन्छन्
कसैले ताप खोजेर
कसैले त्रास देखाएर
कसैले पीडा अन्त्यको मलम बनाएर ।

कस्तो के हो यो ?
जहाँ शब्दले आगो ओकल्छ
दैलो नखुल्दा ज्वालाको धम्की बज्रिन्छ।
आवाज सुनाउन आफैँलाई खरानी बनाउने सोंच उम्रन्छ !

आगो आगै होइन र ?
बिचरा आगोलाई थाहा छैन म आगो हुँ भन्ने
थाहा छैन कसको माग जायज छ
थाहा छैन कसको आँसु साँचो छ
थाहा छैन कसको छातीभित्र कति अन्याय थुप्रिएको छ !
उसको धर्म जलाउने हो, जलाउँछ
तर जलाएका थाहा पाउदैन ।

उसले जलाउँछ सपना र सम्भावनाहरू
जलाउँछ सम्बन्ध र सम्झनाहरू
जलाउँछ शरीरसँगै मनका उज्याला पनि

विडम्बना ! आगोको समाचारले केही क्षण देश तात्छ, बहसका बजारमा संवेदनाको व्यापार चल्छ
कसैले दोषी खोज्छ
धेरैले पक्ष विपक्ष रोज्छन्
कसैले आँसुको तस्बिरमा आफ्नो अनुहार खोज्छ
भोलिपल्ट फेरि सबै कुरा सामान्य हुन्छ
पीडाको फाइल थन्काइन्छ
आश्वासनको मसी सुक्छ
फेरि अर्को निराश मन अध्यारोसँग कुरा गर्न थाल्छ
न्यायको पर्खाइमा …..!

आगो अँगाल्ने अग्निप्रेमीहरू
आगोलाई थाहा छैन तिमीले प्रेम गरेका छौ वा घृणा
यदि सोच्छौ भने हृदयलाई सोध
के खरानी हुनु आवाज बुलन्द गर्नु हो ?
के प्राण दाउमा राख्नु अधिकार प्राप्त गर्ने मूल्य हो ?
के मृत्युको त्रासले मात्रै मानवताको ढोका खुल्नुपर्ने हो ?
सिंहासनमा बस्नेहरूले कान थुनेर सुनेका छन्
पीडा ज्वाला बनेपछि मात्र देखेका छन् ?

चिच्चाहट भित्ताहरूमा ठोकिन्छ
आँखामा कालो पट्टी छ
जलाउने चेतावनीले खुल्छ कान
खुल्छ आँखाको पर्दा
हराउँछ बहिरोपन तर जीवन धुवा बन्छ

आगोको भाषा बुझ्न जीवन खरानी किन हुनुपर्छ ?
पीडा सुन्न मृत्युको खबर किन बन्नुपर्छ ?
न्यायको निम्ति अन्तिम चिच्याहट किन चाहिन्छ ?

तर, तर पनि
आवाज उठाऊ तर जीवन बुझ
प्रतिरोध गर तर आशा नमार
प्रश्न गर तर आफूलाई नै अन्तिम उत्तर नबनाऊ

के जीवन एउटा मागपत्र हो र ?
जसलाई आगोमा चढाएर स्वीकृतिको छाप खोजियोस्
जीवन सम्भावनै सम्भावनाको पुस्तक होइन र ?
जहाँ थुप्रै पानाहरूमा अझै धेरै उत्तर लेखिन बाँकी नै छ
एक दिन आगोले सुमसुम्याएको भ्रम अवश्य टुट्नेछ

आगोले ध्यान खिच्ला किन्तु समाधान खोल्दैन
समाधानको साँचो आगो होइन परन्तु विवेक हो
सहजताको कुचि धम्की होइन, संवाद नै हो
खरानी होइन जीवन, सम्मान र आशा हो

आगो अँगाल्नुअघि
ज्वाला उठ्नुअघि
निराशाको अन्तिम किनार समात्न खोज्नुअघि
आशाको अर्को बाटो खोज्नै पर्छ ।

विडम्बना खै किन अचेल आगोले पोल्दैन, सुमसुम्याउँछ
पीडा बुझ्दैन
अन्याय चिन्दैन
कसैको भविष्य फर्काउँदैन
अचेल आगोले पोल्दैन
जीवनका निराशाहरुलाई
अन्तरात्माका परात्माहरूलाई
त्यसैले अचेल आगोले सुमसुम्याउँछ ।

-गोपीराम भण्डारी
काठमाडौं

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)