निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको सान्जेन जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन तोकिएको समयभन्दा ढिलो हुने भएको छ । आउँदो असारभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण भइरहेका दुवै आयोजना असारभित्र सञ्चालनमा आउन नसक्ने भएका हुन् ।
हालसम्म रसुवागढी जलविद्युत् आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत पुगेको आयोजना प्रमुख छविलाल गैरेले बताए । ‘आयोजना असारभित्र सञ्चालनमा ल्याउन सकिँदैन,’ उनले भने । त्यस्तै, सान्जेन जलविद्युत् आयोजनाको निर्माण प्रगति ८५ प्रतिशत पुगेको भए पनि हाल आयोजनाको इलेक्ट्रो मेकानिकल जडान कार्य रोकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
रसुवागढी जलविद्युत् आयोजनाको सर्ज साफ्ट टनेलभन्दा माथि २०१९ जुन २० मा आएको पहिरोले आयोजनाको सर्ज साफ्ट निर्माण कार्य ६ महिनापछि मात्रै सुरु भएको थियो । ‘६ महिनामा सक्ने भनिएको उक्त काम ६ महिना नै पछि २०१८ को डिसेम्बर २० बाट बल्ल सुरु गरिएको थियो,’ आयोजना प्रमुख गैरेले भने । त्यसबाहेक गत भदौमा आएको बाढीले पनि आयोजनाको कफर ड्यामलगायत भौतिक संरचनामा क्षति पुर्याएको थियो । ७० मिटरको टेलरेस सुरुङ निर्माणका लागि अत्यन्तै कमजोर भौगर्भिक अवस्थाका कारण उक्त कामसमेत निकै सुस्त गतिमा भइरहेको उनले बताए ।
आयोजनामा हाल ५ सय ५० जना नेपाली कामदार तथा जनशक्ति कार्यरत छन् । तर, चिनियाँ कामदार भने १ सय ३० जना कार्यरत छन् । २ सय चिनियाँ कामदार कार्यरत रहेकामा चिनियाँहरूको पर्व ‘स्प्रिङ फेस्टिभल’ मनाउन चीन गएका ७० कामदार कोरोना भाइरसको महामारी देखिएपछि फर्किन सकेका छैनन् । यसले गर्दा आयोजना असारभित्र पूरा नहुने उनले बताए ।
चिलिमे जलविद्युत् कम्पनीको सहायक सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२.५ मेगावाट गरी ५७ मेगाटका दुई आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजनाको गरी कुल प्रगति ८५ प्रतिशत रहेको कम्पनीका प्रमुख कार्यकारी अघिकृत (सिइओ) किरण श्रेष्ठले बताए ।
