शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा कोरोना सङ्क्रमितको दर तीव्ररुपमा बढ्दै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 478
    SHARES

१६ बैशाख, सुर्खेत। कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरु बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही वैशाख १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँडडुल तथा आवतजावतमा भीड हुन नदिन कडाइ गरेका छन् ।

कोरोना सङ्क्रमणमा अत्यधिक प्रभावित भएका भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट सङ्क्रमण बढ्ने कुरालाई गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको छ । यद्यपि सङ्क्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका सङ्क्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिनुभयो ।

“यो एक÷दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल सङ्क्रमण दर जान सकेको छैन”, उहाँले भन्नुभयो, “सङ्क्रमितहरुले अस्पताल भरिभराउन हुन थालेको छ । यो आपत्कालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।” उहाँका अनुसार कर्णालीमा बुधबार एकैदिन ३११ कोरोना सङ्क्रमित थपिएका छन् ।

आइसियु ३५ र भेन्टिलेटर पनि आवश्यकता अनुसार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उपकरण सञ्चालन गर्ने जनशक्ति भए १०० आइसियु पनि चलाउन सकिने बताउनुभयो । केही दिनमै अस्पतालको नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उहाँको भनाइ छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४३ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये २१५ जना सुर्खेतका मात्र छन् ।

निर्देशनालयका अनुसार सङ्क्रमितमा दैलेखका ३२, सल्यानका २९, कालिकोटका १०, रुकुम पश्चिमका नौ, जुम्लाका आठ, जाजरकोटका सात, डोल्पाका एक र अन्य प्रदेशका तीन जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ८९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आज थप एकजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । हालसम्म कर्णालीमा पिसीआरबाट ९९ हजार २९८ र एन्टिजेन्ट विधिबाट छ हजार ४६० जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पाँचजना डिस्चार्ज हुँदा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात हजार ५३८ रहेको छ । प्रदेशभरि गरेर पछिल्लो २४ घण्टामा २३० कोरोनाका बिरामी आइसोलेसनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका सङ्क्रमितहरुको अवस्था अझ बढी गम्भीर रहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }