सौल , कोरिया । अनेसास कोरिया च्याप्टरको आयोजनामा हाइकु विशेष अन्तरक्रिया कार्यक्रम जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
नेपाली हाइकु साहित्यका वरिष्ठ साहित्यकारद्वय रामकुमार पाँडे, पुष्कर लोहनीलगायत अन्य अतिथि साहित्यकारहरू पुरू सुवेदी, कृष्ण बजगाईं, प्रकाश पौडेल माइलाको आतिथ्यमा सम्पन्न भएको हो। नेपाली साहित्यमा हाइकु:सम्भावना र भविष्य विषयक सो अन्तरक्रिया कार्यक्रममा अतिथि स्रष्टाहरूले नेपाली लेखक र पाठकमा हाइकुले गहिरो छाप बनाउँदै गएको र सैद्धान्तिक बहस पनि बाक्लिदै गएको र पुस्तकहरू पनि प्रकाशित हुँदै गएको जनाए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार रामकुमार पाँडेज्यूले नेपाली साहित्यमा हाइकु लेखनको सान्दर्भिकता र इतिहासबारे स्पष्ट पारे भने त्यसैगरी अर्का वरिष्ठ साहित्यकार पुष्कर लोहनीले नेपाली हाइकुको इतिहास केलाउँदै विगतमा आफूले नियमित हाइकु वाचन कार्यक्रम गर्दै गराउँदै आएको सम्झिए ।
सो कार्यक्रममा साहित्यकार कृष्ण बजगाईंले हाइकुको सैद्धान्तिक पक्षलाई बिर्सन नहुने जनाए भने हाइकु प्रशिक्षण गर्दै आएका अर्का साहित्यकार पुरू सुवेदीले प्रविधिको माध्यमबाट भविष्यमा हाइकुको विकास र विस्तारमा पहल गर्न सकिने बताए । वल्ड हाइकु एसोसियन (World Haiku Association )का सदस्यसमेत रहेका अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले हाइकुको सैद्धान्तिक पक्ष केलाउँदै पछिल्लो समय हाइकुले फड्को मार्दै गएको र डायस्पोरामा रहेका नेपालीहरूमाझ पनि लोकप्रिय हुँदै गएको बताए ।
नेपाली हाइकुको इतिहासमा लामो समयदेखि हाइकु लेखन, प्रशिक्षण, अनुसन्धानलगायतका माध्यमबाट योगदान गर्नुहुने पाँच स्रष्टाहरूलाई कोरिया च्याप्टरले सम्मान गरेको थियो। च्याप्टरले यसअघि गजल विशेष अन्तरक्रिया र बालसाहित्य विशेष अन्तरक्रिया गरिसकेको छ भने कविता विशेष र साहित्यिक पत्रकारिता विशेष अन्तरक्रियाको तयारीमा रहेको जनाएको छ।
अन्तरक्रिया कोरिया च्याप्टरका अध्यक्ष एवम् कार्यक्रम संयोजक प्रमोद सारंगको सभापतित्वमा सम्पन्न भएको थियो। च्याप्टरका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने’सूर्य’ले कार्यक्रम संचालन गरेका थिए भने महासचिव ह्यारी बोण्डले स्वागत मन्तव्य राखेका थिए।