बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मैले नचिनेको मान्छे ( सँस्मरण )


  • राम खत्री, न्युयोर्क
  • मङ्लबार, मंसिर ७, २०७८
  • 888
    SHARES

मैले नचिनेको मान्छे

ललितपुरको मंगलबजारदेखि लुभुसम्मको बाटो २०२२—२३ साल अगाडिनै मोटर चल्ने सडक थियो तर सानागाउंबाट शंखादेवी मेरो गाउँ जाने बाटो गोरेटो नै थियो । २०२४ सालतिर जस्तो लाग्छ शिवहरी आचार्यको नेतृत्वमा सानागाउँदेखि विशंखुरायाणस्थानसम्म मोटरबाटो बनाउने अभियान चलेको थियो ।

त्यतिबेला हाम्रो भेगतिर नाम चलेका मान्छेहरुमा शिवहरी आचार्य र लोकबहादुर विष्ट दुईजना सरकारी उच्च ओहोदामा हुनुहुन्थ्यो । शायद लोकबहादुर विष्टलेपनि त्यो अभियानमा अफिसियल काममा केही सहयोग गर्नु भयो की मलाई थाहा भएन तर शारीरिक रुपमा उहां कहिलेपनि सडक बनाउन आउनु भएको मलाई थाहा भएन ।

शुरुवाती काममा जहिलेपनि तीनवटा अवस्था आउछन् (१) उपहास (२) बिरोध, (३) स्वीकृति । सडक बनाउने भन्नासाथ सबै ठाउंका समस्या उस्तैउस्तै हुन । कसैको निजी वा सार्वजनिक जग्गा नकाटी सडक बन्दैन । सबै ठाउंमा सार्वजनिक जग्गा मिल्दैन । अरुको जग्गा काटेर सडक बनाउन सबैलाई मज्जा लाग्छ ।

आफनो जग्गा काट्ने बेला आएपछि त्यही मान्छे —‘लौ कसरी काट्छौ मेरो जग्गा’ भनेर जग्गामै गएर सुत्ने आफनै दाजुभाइ दिदीबहिनीहरु मैले धेरै देखेकोछु । सकेसम्म सडकले कसैको घर आँगन काट्न वा भत्काउन नपरोस भन्ने धेयपनि राखिएको थियो तरपनि योजनाबद्ध काम नभएको
गाउंठाउँ वा शहर जहांपनि त्यो सम्भव नहुने । त्यो सडकको नाम त्यतीबेला ललितघुम्ति भनिएको जस्तो लाग्छ मलाई ।

यो सडक अभियानले माथिका तीनै अवस्था पार गर्नु प¥यो । शुरुशुरुमा ‘कसरी अरुको जग्गाबाट बाटो खान्दो रहेछ हेरौला’ भनेर खिल्ली उडाउनेपनि ननिस्किएका होइनन् । सडकको काम अगाडि बढ्दै गएपछि विरोध आउन थाल्यो । मेरो जग्गा काट्न पाइन्न भनेर जग्गामा सुत्न नआउने पनि भएनन् ।

सानागाउँ नेवार बस्तीको एउटा सानो शहरै हो । यो शहर भित्रैबाटपनि साधारण मोटर जान सक्ने बाटो थियो । तर मोटरको आवत—जावत भएपछि एक्सिडेन्ट वा अन्य घटना बढ्न सक्छ भनेर मान्छेको जीवनको ख्यालगरेर सडकलाई शहर बाहिरबाट लग्ने योजना बनेको थियो । यसका योजनाकार शिवहरीनै हुनुहुन्थ्यो । बाटो खन्नेकाम प्रत्येक दिन हुन्थ्यो । खेती किसानी गर्नेहरु जुन दिन उनिहरुलाई अनुकूल पर्छ त्यही दिन जानसक्थे ।

कर्मचारीहरु तथा विद्यार्थीहरु भने विदाको दिन सडक बनाउने काममा जानु पथ्र्यो । हामी पनि रमाएर शनिवार बाटो खन्न जान्थ्यो । कुन गाउंबाट को—को मानिस सडक बनाउन आए भनेर हाजिर लिनेपनि चलन थियो । एक दिनको घटना मेरो दिमागमा अझै झलझली आइरहन्छ । हामी घरमा खाना खाएर बाटो खन्नको निमित्त सानागाउँ पुगीसकेका थियौं । घाम मज्जाले लागिरहेको थियो । हामी रमाइरमाइ अरुको भातखाने खेत सडकका निमित्त खन्न थालेकामात्र थियौं ।

अलिपर तिरबाट ठूलोठूलो स्वरमा मान्छेहरु कराउंदै हामीतिर आएको आवाज आयो । काम गर्दागर्दै हामी टक्क रोकियौं । एकैछिनमा थाहा भयो । सडकको निमित्त जग्गा पर्ने जग्गाधनीहरु हामीलाई कुटन तयार भएर हामीतिर आउंदै रहेछन् । हामीलाई डर लाग्न थाल्यो । अब के गर्ने होला । भाग्ने हो की ? बाटो खन्ने हो की । हामी अन्योलमा प¥यौं । नेता र नेतृत्व जहिलेपनि अप्ठेरो परिस्थितिमा चिनिने हो ।

सबै कुरा नियमितरुपमा चलिरहेको अवस्थामा नेताले आप्mनो नेतृत्वगर्न सक्ने क्षमताको प्रर्दशनी गर्न पाएकै हुन्न । सही नेता हो की होइन भनेर चिन्ने भनेको आपतबिपतका अवस्थामा उसको धैर्यता, बुद्धि तथा विवेकको प्रयोगबाट हो । त्यतिबेला हामी सबै शिवहरीको मुख ताकिरहेका थियौं । ती आक्रोशित किसानहरु हामी नजिक आइपुग्नुभन्दा अगाडि नै उहांले हामी सबैलाई शान्त भएर बस्न आग्रह गर्नु भयो । अनि भन्नु भयो — “उनिहरुले कुटिहाले छन् भनेपनि जवाफ नफर्काउने ।

खाली आफु सुरक्षित हुने कोशिसमात्र गर्नु । एक शव्दले पनि उनिहरुलाई केही नभन्नु ।” हामी भने डराइरहेकै थियौं । भाग्न पनि सकेनौं । चुपचाप जहांको तही बसी रह्यौं । किसानहरु दौडादौड गरेर आए । तर हामीलाई पिटी भने हालेनन् । हामीलाई घचेट्दै परपर पु¥याए । धक्का लगाए । गाली पनि गरे । धेरैबेर हो—हल्ला, कोलाहलजस्तै भइरह्यो । धेरै किसानहरु शिवहरीको अगाडि झुम्मिइरहेकापनि थिए । उहाँलाई पिटी हाल्छन् की भनेर हामी डराइरहेका पनि थियौं ।

घेराउ गरेपनि हातपात भने गरेनन् । कसै—कसैले एक—दुई लात्ती, एक—दुई मुक्का पनि खानु भयो रे । हामी केटाकेटी भएर होला हामीलाई घचेडेर लडाई दिएमात्र । हामीलाई केही भएन । धेरैबेर पछि किसानहरु बिस्तारै एक—एक गर्दै आआप्mनो घरतिर लागे । उनिहरु गएपछि बल्ल हामीहरुको मन रमायो । हामी हाँसेर कुरा गर्न थाल्यौं । फेरि शिवहरीले आएर भन्नु भयो— अहिले हांस्ने र रमाउने बेला होइन है । शान्त भएर काम गरेको जस्तोमात्रै गर्नु होला ।

आज कसैकोपनि कामगर्ने मुड नहुन सक्छ । हामी खुसी भएको खबरले किसानहरुलाई फेरि उत्तेजित गराउन सक्छ । उनिहरुलाई हार भएको महसूस हुन दिनु हुन्न । बरु हामीले नै हारेको आभास गर्नुपर्छ । जस्ले गर्दा आगामी दिनमा कामगर्न सजिलो हुन्छ । बास्तवमा हामीलाई लडाई जितेको जस्तो लागेकै थियो ।

उहांले भने जस्तै हामीले काम गरे जस्तो मात्रै गरेर ४—५ घन्टा बितायौं र घर फर्कियौं । मैले देखेको शिवहरी आचार्यको पहिलो नेतृत्व त्यही थियो । हरेक काममा उहाँ आफै खटिनु हुन्थ्यो हामी सरह । कहिलेपनि नाइके भएर बस्नु भएन । सडक बनिसकेपछि उहांले पाउने सरकारी मोटर हाम्रो घर नजिकको शंखादेवी मन्दिरपरिसरमा आयो । हामीलाई मोटर हेर्ने र चढ्ने निकै रहर ।

हामी धेरैजसो केटाकेटीहरुका स्कूल लुभुमा थियो, गोरेटे बाटोबाट जानु पर्ने । करिब आधा घण्टाको बाटो । मोटरबाटो सानागाउँतिर जान्थ्यो । उहांको सरकारी मोटरमा हामी केटाकेटी अटाइ—नअटाई चढेर सानागाउंतिर जान्थ्यौं र त्यहांबाट अर्को आधा घण्टा हिडेर लुभुको स्कूलमा जान्थ्यौं । हामी मोटरमा चढेपछि उहाँ हिडेर सानागाउंसम्म आउनु हुन्थ्यो । त्यसपछि मोटरमा बसेर कार्यालय जानु हुन्थ्यो ।

मोटर चढ्न पाउनेहरुको पनि नियम बनाई दिनु भएको थियो जो जो बाटो बनाउन आएको छ त्यसले मात्र मोटर चढ्न पाउने । सडक बनाउन नआउनेहरुलाई उहांको मोटर चढ्नमा प्रतिबन्ध थियो । अनेक समस्या तथा व्यवधानकाबीचपनि ललितघुम्तीले साकार रुप लियो । सडक बनी छाड्यो ।

सडक तयार भइसकेपछि पनि लाष्ट प्रयास स्वरुप सानागाउँका किसान दाजुभाइहरुले त्यो बाटोभरी दीसा—पिसाव गरिदिएर टेक्नै नहुनेगरि फोहोर गरिदिए । हामी पुग्दापनि मुख छोपेर सडकभरि दीसा गर्नेको लाइन हुन्थ्यो । हामी नाक थुनेर नदेखेकोजस्तो गरेर हिड्थ्यौं । तर बिस्तारै समय परिवर्तन हुँदै गयो । मानिसमा चेतना बढ्दै गयो ।

सडक खन्न गएका बखत हामीलाई कुटन आउने किसानहरु त्यही बाटोको छेउमा आएर घर बनाउन थाले । आज त्यो सडकको वरिपरि घरहुने किसानहरु करोडपति भएर बस्नु भएको छ । हामीले १० फिटे बाटो बनाएका थियौं । अहिले २२ फिटे सडक बनेकोछ । अहिले सबैलाई मज्जा भइरहेको छ । त्यसपछि शिवहरीले हाम्रो गाउंमा पोखरी बनाउनु भयो । त्यो पोखरीमा अहिले पानी छैन तर पोखरीको आकार अझै रहेछ ।

त्यतीबेला हामीहरु सबैको घरमा गाई र भैंसी दुबै थिए । उहांको घरमा भैंसी थिएन । उहांलाई पोखरीको आवश्यकतै थिएन । भैसीको लागि पोखरी चाहिने । त्यसैले उहाँले हाम्रो सुविधाको लागि त्यो काम सम्पन्न गरिदिनु भएको थियो । त्यो पो्खरी बनाउंदापनि उहां हामी सरह नै कामगर्नु हुन्थ्यो । हामीसंगै बसेर खानु हुन्थ्यो । कहिले हात बाधेर नाइके भएर बस्नु भएन । अहिले कसैको घरमा पनि बस्तुभाउ छैन । त्यसैले पोखरीको आवश्यकता नै रहेन ।

त्यसपछि उहाँले गाउंमा शिक्षाको विकास हुनुपर्छ भनेर गाउँभरिका ९—१० कक्षामा पढ्ने विद्यार्थीहरुलाई जम्मा पारेर मेरो माइलो बाको नयाँ बनेको घरमा होष्टल खोल्नु भयो । उहांको घरगाउंमा सबैभन्दा ठूलो थियो । कोठाहरु नै कति थिए कति । अफिसबाट फर्केपछि खाना खाएर उहां होष्टेलमा आउनु हुन्थ्यो । विद्यार्थीको प्रश्नहरुको जवाफ दिनु हुन्थ्यो । नयां कुरा सिकाउनु हुन्थ्यो । विहान उठेपछि पनि विद्यार्थीको केही प्रश्न भए त्यसको जवाफ दिएरमात्र आफ्नो घरमा फर्कनु हुन्थ्यो र खाना खाएर अफिस जानु हुन्थ्यो ।

एकपटक म पनि पढ्न भनेर गएं तर मैले पढ्न पाईन । किनकी म ६—७ कक्षामै थिएं । तेरो बेला एक—दुई बर्षपछि आउंछ भनेर फर्काइ दिनु भयो । त्यो होष्टलमा बसेर पढ्ने सबै बिद्याथीले एस.एल.सी पासगरे जस्तो लाग्छ मलाई । मेरो दाईलाई मात्र मुश्किल प¥यो । पछि म उहांको भाइ धुब्रहरीसंङ्ग अंग्रेजी सिक्न जान्थे । एकदिन उहां नभएकोले म घर फर्किदै थिएं बाटैमा ठूल्दाई (शिबहरी आचार्य) देखिनु भयो । त्यतिबेला गाउंका सबैले शिबहरीलाई ठूल्दाई भन्ने चलन थियो । किनकी उहां घरको जेठो छोरा । एकजना भाइ र चार—पांच जना बहिनीहरु हुनुहुन्थ्यो ।

त्यो घरमा सबै दिदीबहिनीहरु पढेलेखेका र भलाद्मी हुनुहुन्थ्यो । नपढेको भनेको हजुरआमा र दुईजना बुहारीमात्रै । ठूल्दाईले मलाई सोध्नु भयो— “किन आइस राम यहां ।” मैले भने — ‘सान्दाईसंङ्ग पढ्न आएको, आज घरमा हुनुहुदो रहेनछ, त्यसैले फकिर्न लागेको ’ । “यहां आइज, म हेरि दिउंला” भनेर मलाई उहांको कोठामा बोलाउनु भयो । उहांको कोठा घर बाहिरै थियो । बाहिरैबाट आवत—जावत गर्न मिल्ने ।

उहां सबै काम रुटिन अनुसार गर्नु हुन्थ्यो र अरुलाई पनि यसरी नियमको पालना गर्नु पर्छ भनेर सिकाउनु हुन्थ्यो । मेरो पढाइका सबै कुरा सोधि सकेपछि उहांले मलाई अंग्रजीमा एउटा निबन्ध लेख्न सिकाउनु भयो । त्यसको सामान्य नियम बताई दिनु भयो । र “ल लेख” भनेर एउटा निबन्धको मोडेल डिक्टेट गराउनु भयो । त्यो निबन्धलाई तीन प्याराग्राफमा विभाजन गरिएको थियो । पछि त्यसको व्याख्या गर्नु भयो ।

पहिलो प्याराग्राफले विषय बस्तुको उठान गर्नु पर्छ । अन्तिम प्याराग्राफले उठान गरेको कुरालाई कसरी पुष्टि गरिएको छ त्यसको जानकारी दिनुपर्छ । बीचको प्याराग्राफमा लेखकले के भन्न खोजेको हो, त्यसको लागि के के प्रमाणहरु छन्, तर्कहरु के के छन् सबै कुरा राख्नु पर्छ । यसरी नै निवन्धको जन्म गराउने हो भनेर प्रष्ट पारि दिनु भयो । त्यतीबेला मलाई सबै कन्ठ गरेर पास गर्ने ध्यान थियो । पछि अमेरिका
आइसकेपछि पनि निबन्धको खांचो प¥यो । नियम त त्यही रहेछ सबैतिर । हामीले प्रयोगमात्र नगरेका ।

उहांको घरमा हामी गइरहन्थ्यौं । काम परिराख्थ्यो । कहिलेकाही कोठामापनि पस्थ्यौं । त्यहां विभिन्न पत्रपत्रिका देखिन्थे । त्यस मध्येमा कोरियन पत्रिकाहरु धेरै देखिन्थे । उहां किताबहरु धेरै पढिरहनुपनि हुथ्यो । छोलीमा कोरिया भन्ने पत्रिका हो कि किताब देखेर मैले छोलिमा भनेको के हो भनेर सोधेको थिए । यो शव्द मलाई अनौठा लागेर । उदाउंदो सूर्यलाई कोरिएन भाषामा छोलिमा भनेको हो भन्नु भयो । मलाई त्यतिबेला उहां कुन बिचार धाराको मान्छे हो थाहा थिएन । हामीलाई मतलबपनि भएन ।

पुराना पत्रिकाहरु किताबको गाता हाल्न मज्जा आउंथ्यो । म ल्याउथेपनि । उहांको घरको कौशीमा सडकबाटै देखिनेगरि राजा महेन्द्रका शव्दहरु कुराले मात्र देश बन्दैन भनेर लेखिएको थियो । हामी हरेक दिन त्यो लाइन पढ्दै हिड्थ्यौं । मैले घर छोडेर हिडेपछि उहांलाई कहिल्ले भेटिन ।

नेपालमा पहिलो पटक मनमोहन अधिकारीको सरकार गठन भएपछि गाउंमा शिवहरीको नाउं सुनें । त्यतिबेला उहाँ वितिसक्नु भएको रहेछ । उहां त पुष्पलाल, मनमोहनहरुको सिद्धान्तमा हुनुहंदो रहेछ । सबैजनाको अनुमान थियो कि यदि उहां जिउंदो भएको भए उहांपनि प्रधानमन्त्री वा मन्त्रिबन्ने हैसियत राख्नु हुदो रहेछ । उहां साम्यवादी सिद्धान्तमा लागेको थाहा पाएर सरकारले उहांलाई पक्डने तयारी गरेक सुईको पाएर उहां भारतमा स्वनिर्वासित जीवन बिताउन निस्कनु भएको रहेछ । र उतै निर्वाण प्राप्त गर्नु भएछ । यतिबेला म उहांको प्रत्येक सामाजिक कृयाकलापको सम्झना तथा विश्लेषण गर्न थालेकोछु ।

साम्यवादमा जनता र नेता समानस्तरमा रहने कार्ल मार्कस्ले कल्पना गरेको थिए । जनताको निमित्त गाँस, बास, कपासका लागि सबैले समानरुपमा मिहिनेत गर्नुपर्छ । जनता—जनताबीच तथा जनता र नेताबीच समान अधिकार हुनुपर्छ । नेतापनि जनता नै हो । जनता सरहकै जीवन बिताउनु पर्छ भन्ने सिद्धान्तको एउटा सफल प्रयोगकर्ता शिवहरी आचार्य हुनुहुदोरहेछ । वर्तमान नेतृत्ववर्ग उहांका चेलाहरु हुनुहुन्छ होला ।

पुष्पलाल, शिवहरीहरुको विलयसङ्गै साम्यवादको मूल सिद्धान्तपनि विलुप्त भएकोजस्तो मलाई लाग्छ । किनकी अहिलेको नेतृत्ववर्गले न जनताको हितको कुरा उठाउछ, न म जनता सरह हुं भन्ने ठान्दछ । गरिब जनतालाई साम्याबादको खोक्र्रो नारा र नामले लोभ्याएर आफु नेता तथा शाषक बन्ने दाउपेचमै संधै लिप्त । नेतृत्वमा पुग्नासाथ आफनो र आफनाहरुको बन्दोबस्त गर्ने होडबाजीमा खरो उत्रिने ।

सयौ चम्चे, ढोके, छातेको वरिपरि रमाउने । यिनैको भजन—कीर्तन सुन्ने । जसले भजन—कीर्तन गाउंदैन उसलाई हाम्रो सिद्धान्तबाट टाढा भयौं भनेर साम्यवादबाट आउट । ओहो, समयले कसरी पल्टा खाने रहेछ सत्तामा पुग्दा र नपुग्दा । शिवहरी आचार्यले यी सबै कुराको पालना पाइला—पाइलामा गरिरहनु भएको थियो । मेरो गाउँले उहांबाट निकै फाइदा उठायो तर उहांलाई कसैले चिन्दैचिनेन वा चिनेरपनि नचिने जस्तो ग¥यो । मेरो गाउँले हिरा चिन्न सकेन र एउटा गतिलो हिरा गुमायो । देशले एउटा राष्ट्रवादी सपुत त्यसै गुमायो ।

-राम खत्री, न्युयोर्क

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }