घाम र बादल
-युवराज मैनाली
“हजुर!सर!!नमस्कार,
म हामप्रसाद।” हामप्रसादले माथिल्लो हाकिमकहाँ गएर सलामी ठोके।निकै तल्लो ओहदामा रहेकाले उनको यो क्रम दैनिकजस्तै रह्यो। ” हजुर,सर!यो सानो कोशेली,अर्गानिक पनि छ,आफ्नै घरका गाईभैँसीबाट उत्पादित चिज हो,अन्यथा नसोचिसेला।”यति मात्र भनेर हामप्रसाद सरासर हिँड्छन्,बढी बोल्नुको अर्थ उनमा रहँदैन।
“पर्ख र हेरको स्थितिबाहेक मसँग अरु हुन्छ नै के र?जे होस् अरु जसरी भर्याङ्का सिँढीहरू एकपछि अर्को अचानक चढ्छन्,मैले पनि त्यही न गरेको हो।अरुलाई यसै अचुक अस्त्रले काम धमाधम भएको छ भने हेरूँ,पर्खूँ मलाई कसो नहोला?”
हामप्रसाद मनमनै रोमाञ्चित हुन्छन्,हाँस्छन् एक्लै,निराश हुन्छन् एक्लै जसरी अन्य नेपाली कर्मचारीका अवस्था हुने गरेका छन्। “सँस्कारप्रसादले यही हतियार प्रयोग गरेर कति नेमप्लेट फेरिसके।अरु यस्तै खामप्रसादको त गणना नै छैन,कैयौँ झ्वामप्रसादहरू त चप्पलबाट सुटमा उठिसके।”सबैका सिँढी चढाइ मनमनै सोचेर हामप्रसाद दुखीभन्दा सुखी बढी हुनखोज्छन्।परिवेशको मौसम पनि त्यस्तै छ।
“ओहो!कर्मको फल कहाँ खेर जान्छ र? आज म पनि साथीसँगाती,मेरा अफिसका सबै हाकिम बोलाएर मस्तले भोजभतेर लगाउँछु।” नभन्दै आज हामप्रसादका ओठमा हाँसो छ,मनमा उत्साह छ,गतिमा स्फुर्ति छ,जस्तो संस्कारप्रसाद,झ्वामप्रसाद र खामप्रसादमा उसले देखेको थियो। उनीहरू जसरी खुशीको माथिल्लो छतमा चढेका थिए,त्यही सिँढी प्रयोग गरेर हामप्रसाद त्यहीँ पुगेकाले आज उसका घरमा भो..ज…भ..ते..र ओहो भएभरका मानिस……।।