आइतवार, माघ २२, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्य भूगोलझैँ रेखाङ्कित हुँदैन :-राम लामा अविनाशी


  • लालगोपाल सुवेदी
  • बिहिबार, मंसिर १५, २०७९
  • 148
    SHARES

अन्तर्वार्ताकार : लालगोपाल सुवेदी

यहाँको आफ्नो साहित्य यात्राबारे हामीलाई जानकारी गराइदिनुहोस् न ।

अमेरिकाको लस एन्जलसमा म च्याम्बर अफ कमर्शको मिटिङ्गमा गएको थिए । मिटिङ्ग सिद्धिएर बाहिर निस्केपछि त्यहाँ अन्य नेपाली साथीहरू भेटिनुभयो । उहाँहरु सबै नेपाली कविहरू हुनुहुँदोरहेछ । हाम्रो कार्यक्रम सिद्धिएपछि सोही हलमा उहाँहरूको साधारणसभा हुनेरहेछ । उहाँहरू भित्र छिर्न लाग्द केहीले मलाई पनि जाम भन्नुभयो ।

मलाई कौतुहल जागिसकेको थियो त्यहाँ के हुन्छ होला भनेर । अनेसास एल ए च्याप्टरको नयाँँ कार्यसमिति गठन भयो । नवनिर्वाचित अध्यक्षज्यूले “म राम लामा अविनाशीज्यूलाई सल्लाहाकारमा राख्नको लागि प्रस्तव गर्छु” भन्नुभयो । समर्थनमा धेरै कविज्युहरूले ताली बजाउनुभयो । त्यो दिनदेखि म कविहरूको जमातमा आवद्ध भएँ ।

लगत्तै केही दिनमै भानुजयन्ती परेको थियो । मलाई पनि निम्ता आयो । नयाँ माहोलमा उपस्थित हुन उत्साहित भएँ । जाँदा एउटा कविता पनि लेखेर लग्छु भन्ने सोचेँ । “भेट्टिएका अक्षरहरू” शिर्षक राखेर त्यस्कै सेरोफेरोमा कनीकुथी कविता लेखेँ । कार्यक्रममा गएँ । संचालकज्यूलाई “म पनि कविता भन्छु है आज” भने ।

उहाँले अचम्मित अनुहार पारेर मलाई शिरदेखि पाउ सम्म हेर्नुभयो । पत्यार लागेनछ क्यारे । “साच्चै हो” भन्नुभयो ? मैले “हो” भनेँ । मेरो पालो आयो । म भाषण गर्ने माइक देखेर पहिलादेखि नै डराउने मान्छे । त्यो दिन पनि घरी खुट्टा कामेजस्तो , घरी हात कामेजस्तो लाग्यो । त्यती मात्रै होइन हातमा समातेको कविताको पाना नै कामेजस्तो लाग्यो । अलि अलि ठट्टा गरेझैँ आफ्नो हात खुट्टा कामे भनेँ । सबैजना हास्नुभयो ।

त्यो हाँसोले मेरो सङ्कोच अलि हट्दै गयो । कविता पनि पढेर सिध्याएँ । अगाडि बस्नेहरू प्राय:ले ताली पड्काएको देखेँ । “यस्तो राम्रो लेख्ने मान्छे कता गुमनाम बस्नुभएको ? छुपे रुस्तम हुनुहुँदो रहेछ” भन्नुभयो एकजना साथीले । “त्यही त ! हो, राम्रो लेख्नुहुँदो रहेछ” भन्दै अरु एकदुई जनाले पनि थप्नुभयो । जिन्दगीमा पहिलो रचना लेखन, वाचन र यस्ले पाएको प्रशंसा नै मेरा लागि साहित्यको पहिलो ढोका थियो । तत्पश्चात् विगतका यादहरुलाई ताजकीकरण गर्दै शब्दहरूमा समेट्न कलम व्यस्त रह्यो । हालसम्म पनि विभिन्न ठाउँमा देखेका, सुनेका र भोगेका अनुभव र अनुभूतिहरुको सङ्ग्रहको रुपमा लेख, नियात्रा, संस्मरण , कथा, कविता, गीत तथा मुक्तकहरुका रुपमा कृति निस्के र अरु पनि निस्किने क्रम जारी छन् ।

यहाँको विचारमा साहित्य के हो ? यहाँले कलम चलाउनुभएका साहित्यका विधाहरूलाई कसरी परिभाषा गर्न मन पराउनुहुन्छ ?

अरू तरिकाले प्रस्तुत गर्न नसकिएका भावनाहरूलाई अक्षरलाई माध्यम बनाएर पस्किने कला साहित्य हो । संरचना र आकार प्रकारको भिन्नताले विधाहरूको नामकरण भएको हो । आखिर सबै साहित्य नै हुन् । १७ अक्षरबाट बन्ने हाइकु देखि अनगिन्ति अक्षर तथा शब्दहरू प्रयोग गरिने महाकाव्य सबै साहित्यकै विधाहरू हुन् । काव्य, महाकाव्यबाहेक मेरो आबद्धता प्राय:सबै विधामा रहेने कोसिस रहेको छ ।

हिजो र आजको सिङ्गो नेपाली साहित्यलाई कसरी मूल्याङ्नक गर्नुभएको छ ?

समय र पारिवेशले गर्दा विगतका साहित्य विम्बात्मकमा खुम्चिएका हुन्थे । मनको कुरा सत्य र वास्तविक कुरा लेख्न डराएर विम्बमा लेख्नुपर्थ्यो भने आजभोलि पूर्ण स्वतन्त्र छन् कलमहरू । कहिलेकाहीँ छाडा र उत्ताउला पनि भइदिन्छन् । पहिलाका साहित्यहरू लेखकले आफ्नो सन्तुष्टिका लागि लेख्थे भने अचेल बजार लिनाका लागि पनि लेखिन्छन् । पहिलाका साहित्यले समाज डोर्याउँथ्यो जुन कालजयी हुन्थे भने आजका साहित्यलाई समाजले पनि डोर्याएको हुन्छ । त्यसैले त कुनै कुनै साहित्य हुरीबतास र असिनापानीझैँ आउछन् । केही समय तहल्का मच्चाउँछन् र छोटो समयमै हराउँछन् ।

घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ?

साहित्य भूगोलझैँ रेखाङ्कित हुँदैन । तर आफू जन्मे , हुर्के बढेको स्थानका हरेक उतारचडाव, लडिबुडी र बुर्कुसी मारेको माटोको सुगन्धपछि जहाँँ र जसरी जीवनयापन गर्न परे पनि पहिला कै सम्झनामा लेखिने साहित्यले बढी मन छुन्छ । परदेशमा लेखिने साहित्यमा परदेशको रमझमभित्र घरदेशको माया र सम्झना लुकेको हुन्छ । तर घरदेशको साहित्यमा भने परदेशको कल्पना मिस्सिएको हुन सक्छ ।

अमेरिकाको बोस्टनमा हुन लागेको पाचाैँ अनेसास च्याप्टर सम्मेलनका अपेक्षाहरू के के हुन् ?

अनेसास ट्रस्टी परिवार, केन्द्रीय पदाधिकारी र च्याप्टर पदाधिकारीहरूका बीच मित्रता र भाइचारा भाव बढाउने छ । यी तीनै निकायहरुको आपसी छलफलले अनेसासलाई एउटा उचाइमा पुर्याउन सफल हुनेछ भन्ने आशा गरेको छु ।

अबको अनेसास कस्तो होस् र यसले कस्ता कस्ता काम गरोस् भन्ने चाहना राख्नुभएको छ ?

मलाई लाग्छ स्थापनाकालमा स‌स्थापकज्युहरूले देख्नुभएका सपनाभन्दा पनि माथि पुगिसकेको छ अहिलेको अनेसास । हामी नेतृत्वमा रहेकाहरूले बेला बखतमा गरेका या भएका गल्तीहरूका कारण संस्थाप्रतिको आस्था र विश्वासमा कमी आई टाढिएका समुह पनि हुनुहुन्छ । नेतृत्वकर्ताहरुको अकर्मण्ड्यताले गर्दा संस्थाले नै होनाहार साहित्यकारहरु गुमाउनुपरेको अवस्था छ । उच्चस्तरीय साहित्यकारहरुको उल्लेख्य आवद्धता पनि हुन सकेको छैन ।

मत फरक भए पनि उद्देश्यचाहिँ संस्थाको भलो गर्ने नै हो भने आपसी छलफल गरी गल्ती कोट्याएर कसुरवालाले आत्माआलोचना गरी आफ” सच्चिनु राम्रो हो । नेतृत्वमा नभएकाहरुले संस्थाको भलो चाहँदैनन् भन्ने सोच्नु गलत हुन सक्छ । आफ्नोभन्दा अरुको सोच राम्रो हुन सक्छ भन्ने सोचेर अरुको बिचार सुन्ने बानी गर्नु राम्रो होला । नेतृत्व सम्पूर्ण सदस्यहरुको सेवक हो, मालिक होइन भन्ने कुरा बुझ्नुपर्छ ।

हामी जति पिछडिएको समाज र परिवेशबाट आएका भए पनि अहिले बसिरहेको विकसित सभ्य र आधुनिक समाजसँगै आफूलाई पनि रुपान्तरण गर्नसक्नुपर्छ । अरुको प्रशंसा गर्ने संस्कारको अभाव छ हामी नेपालीमा । तर आफ्नो प्रशंसा भने सबैबाट अपेक्षा राख्छौँ ।

हामी आफू जुन देशमा बसिन्छ कम्सेकम त्यो देशका साहित्यकारहरुले बुझ्ने भाषामा उल्था गरेर उनीहरुको हातहातमा हाम्रो कृति पुर्याउने पहल गर्नुपर्दछ । अमाजोनदेखि अन्य सबैखाले पुस्तक वितरकको पसलमा पुर्याउने पहल सुरु भइसकेको छ । तर त्यसो गर्न सक्ने हामी नेपाली साहित्यकारहरुको सङ्ख्या कम छ ।

हाम्रो साहित्यले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउन सक्ने स्तरका हुन जरुरी छ । त्यसैले त्यो स्तरका साहित्यहरुको पहिचान गरी उल्था गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने पहल गर्न सके अनेसासले सार्थकता पाउनेछ । न कि खाली कसरी आफू ओहोदामा पुग्ने र कसरी यस्लाई टिकाई राख्ने भन्ने तिक्डमबाजीमा मात्र नेतृत्व तह अल्झियोस् ।

अनेसास दर्पण पत्रिकाका बारेमा यहाँका सल्लाह र सुझाबहरु छन् कि ?

नामजस्तै अनेसासको वास्तविक अनुहार ,चालढाल, सम्पूर्ण साहित्यिक गतिविधिहरु प्रष्ट देख्न सकिने, सबैले आफ्नो कुराहरू राख्नका लागि सहज पहुँच होस् । हुनत यस्ले मनग्य लोकप्रियता कमाइसकेको छ । अहिले नयाँ व्यवस्थापनमा अनेसास दर्पण साहित्यिक अनलाइन पत्रिकाको रूपमा विकास भएकोमा यसको गुणस्तरीयतासहित सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

यहाँलाई भन्न मन लागेका र भन्न बाँकी कुराहरू छन् कि ?

पहिला त हामीले अनेसास र नेपालका अन्य साहित्यिक संस्थाहरु बीचको भिन्नता के हो भन्ने बुझ्नु जरुरी छ । नामैले प्रष्ट छ कि अनेसास परदेशी भूमिमा झाङ्गिएको साहित्यकारहरुको संस्था हो । अनेसासले परदेशी साहित्यकारहरुको प्रोत्साहन, उत्थान र विकासमा ध्यान दिनु राम्रो होला । घरदेशका साहित्यकारहरुलाई टेवा दिनको लागि त नेपाल प्रज्ञा प्रतिष्ठान लगायत अनेकौँ संघसंस्था नेपालमै छन् नि ।

श्री राम लामा अविनाशी हाल अनेसास बोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ