सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संघीय राजधानीको पर्यटक बसपार्क ‘सोह्रखुट्टे सडक’ 


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 59
    SHARES
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि छुट्टै र व्यवस्थित बसपार्क नहुँदा हाल अस्थायी रुपमा सोह्रखुट्टे सडकलाई बसपार्क बनाएर पर्यटक बस मुलुकका विभिन्न पर्यटकीय गन्तव्यमा ओहोरदोहोर गर्दै आएका छन् ।
विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई बसपार्कका रुपमा सञ्चालन गर्दै आएपनि विस २०७५ असार १६ गतेदेखि भने काठमाडौँ महानगरपालिका वडा नं १६ सोह्रखुट्टेको सडकलाई पर्यटक बसपार्कका रुपमा प्रयोग गरिँदै आएको छ । पर्यटक बसका लागि सुविधासम्पन्न बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन् ।
पर्यटक बस सङ्घीय राजधानी काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् । काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटक बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायतका स्थानमा जाने गरेका छन्  ।
टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्य पर्यटक बसपार्क नहुँदा यात्रुलाई बस चढाउन र ओराल्न साह्रै समस्या हुँदै आएको बताउनुहुन्छ । “पर्यटक बसपार्क नहुँदा जथाभावी रुपमा यात्रुलाई चढाउँदा र ओराल्दा ट्राफिक प्रहरीले दुःख दिने गरेको छ,”– उहाँ भन्नुहुन्छ ।
हाल पर्यटक बस दिउँसोमात्र नभएर रातीको समयमा समेत सञ्चालन हुँदै आएका छन् । कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि मुलुकको सङ्घीय राजधानी काठमाडौँमै पर्यटक बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् ।
नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापा विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै पर्यटक बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताउनुहुन्छ ।
“पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले विगतदेखि नै राख्दै आएको छ,”–  उहाँ भन्नुहुन्छ । नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौँ महानगरपालिका लगायतलाई ध्यानाकर्षण गराउँदै आएको उहाँको भनाई छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बसपार्क आवश्यक रहेको बताउनुहुन्छ । “पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा काठमाडौँ महानगरपालिका सकारात्मक छ,”– उहाँ भन्नुहुन्छ ।
काठमाडौँ महानगरपालिकाले पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँको अध्ययन समेत गरेको छ । पर्यटक बसलाई गोँगबुस्थित नयाँ बसपार्कबाट सञ्चालन गर्नका लागि पटकपटक छलफल समेत हुँदै आएको छ ।  पोखरा महानगरपालिकाले भने पर्यटक बसका लागि छुट्टै बसपार्क निर्माण गरि सञ्चालन गरिसकेको छ ।
हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।
पर्यटक बसमात्र होइन अन्य सार्वजनिक सवारी साधनसमेत सडकबाट सञ्चालन हुँदै आएका छन्  । काठमाडौँ महानगरपालिका वडा नं २६ विष्णुमति किनारामा नयाँ बसपार्क सञ्चालनमा आएपनि त्यसको नजिकै माछापोखरीको वरपरबाट धादिङ, नुवाकोट, रसुवालगायत जिल्लामा जाने सवारीसाधन आवतजावत गर्दै आएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन् ।
यस्तै, जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने जडिबुटीबाट सञ्चालन हुँदै आएको छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको चक्रपथ वरपरबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय गरेपनि उक्त निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे सबै सवारी साधनलाई नयाँबसपार्क भित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि महानगरले काम गरिरहेको बताउनुहुन्छ । “काठमाडौँ भित्र प्रवेश गर्ने सबै सवारी साधनलाई व्यवथित रुपमा सञ्चालन गर्ने निती महानगरपालिकाले लिएको छ, चाँडो कार्यान्वयनमा जान्छौँ,”– उहाँ भन्नुहुन्छ । काठमाडौँको गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल दैनिक ३०० देखि ४०० सवारीसाधन देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }