मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौंः गगन थापा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 26
    SHARES

 

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ ।

संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको उहाँको जिकिर थियो । शुक्रवार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले काँग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गर्नुभयो । उहाँले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली काँग्रेस सदन चल्नुपर्छ भन्ने कुरा गम्भिर छ । विधेयकहरु पारित होस् । लगानी सम्मेलन सजिलो होस् । धेरै कुरामा गम्भिर भयौँ । संघीय निजामती सेवा ऐन लगायतका विधेयकहरु सदनमा जाओस् भनियो । हाम्रो जम्मा एउटा कुरा थियो । अहिले पनि त्यही कुरा मात्रै छ । सहकारीको ठगीको सन्दर्भमा यो संसदले छानविन समिति बनाओस् । यो संसदले छानविन समिति बनाउँदै गर्दा यो छानविन समितिमा नेकपा एमाले बस्ने होला, माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । त्यो त तपाईहरुकै हातमा छ । त्यो हामीले बनाउने होइन होला । मलाई कसैले आरोप लगाईदिए त मलाई त छानविन समिति बनाई दिए हुन्थ्यो भन्ने लाग्छ । समिति बनाएर छानविन गरिदिए आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको, किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ । हुँदाहुँदा कानूनले भन्छ–महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्न नहुने , यहाँ त प्रभाव होइन, झुकाव राख्न नहुने । यहाँ त महान्यायाधिवक्ता त झुक्दाझुक्दा लम्पसार नै परिसक्नु भयो । किन डराएको ? के ल्याउने हो र ? यदि गल्ती गरेको छैन भने । सम्माननीय सभामुख महोदय, आज सम्मानीयज्यूलाई बुझाउने मेरो हातमा १५ वटा पत्रहरु छन् । पत्र लेख्न मलाई पनि आउँछ । पत्र बुझाउन हामीलाई पनि आउँछ । यहाँ गृहमन्त्रीमाथि कुनैपनि अभियोजन भएको छैन, कुनै पनि अनुसन्धान भएको छैन । सम्माननीय प्रधानमन्त्रीज्युले यहाँ उभिएर बोल्नुभएको छ । झुट बोल्ने ? महान्यायाधिवक्ताको कार्यालयलाई झुट बोल्न लगाउने ? त्यही प्रहरी कार्यालय रुपन्देहीको गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएको प्रमाणहरु छन् । आफैँले माग फारम भरेर सहभागीबाट लिएको ऋणको प्रमाण पेश गरौ ? एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्र्रमाणहरु पेश गरौं ? कतिवटा प्रमाणहरु पेश गरौं । मैले पेश गरेका प्रमाणहरु गलत हुन भनेर सावित गर्ने कुरा संसदीय समितिबाट कति मज्जा आउँथ्यो होला । गलत सावित गरिदिनुस्न मलाई । गलत सावित गरिदिनुस्न नेपाली काँग्रेसलाई । यही भनिरहेको होइन ? त्यसैले सम्माननीय सभामुख महोदय, म यति मात्रै भनेर टुंग्याउन चाहन्छु–यो संसद भित्र प्रमुखप्रतिपक्ष दलले गम्भिरताका साथ यो कुरा उठाईसकेपछि र संसदीय छानविन समिति बनाएपछि अरु केही पनि चाहिदैन । सरकार तपाईहरुले नै चलाउनुहोस् । मज्जाले चलाउनुहोस् । ४ वर्ष नै चलाउनुहोस । केही हुन्न । नडराउनुहोस् । कुनै तोडफोड केही गरिराख्न पर्दैन । ढुक्कले चलाउनुहोस । छानविन समिति बनाऔं । तपाईहरुले नेतृत्व गर्नुहुन्छ । हामीहरुसँगै बसेर हेर्छौं । हामीलाई गलत सावित गरिदिनुस । हामी सही छौं भने हाम्रो कुरा जान्छ । त्यति गर्दागदै बाँकि रहेका कामहरु गर्दै जाउँ भन्दाखेरी हेप्न खोज्ने सभामुख महोदय । पेल्न खोज्ने ? अहिले यहाँ सम्माननीय सभामुख महोदयले यहाँ भित्र अहिले संख्याको आधारमा हेपेर, पेलेर सरकारका कामहरु अघि बढाउँछु भन्ने ठान्नु भएको छ ? सदन मात्रै छ ? सदन पनि छ । सम्माननीय सभामुख महोदय, संसदीय छानविन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौं । यो सदन अघि नबढने कुराको जिम्मेवार नेपाली काँग्रेस होइन, सम्माननीय प्रधानमन्त्रीजी र सरकारको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यको तमाम अंगहरुलाई । वासिङ मेशिन जस्तो प्रयोग गरियो । तपाईहरुले धोएर धोइन्न, पखालेर पखालिन्न । दुधको दुध, पानीको पानी संसदीय छानविन समितिले छुट्टयाउँछ । त्यसैले जबसम्म छानविन समिति बन्दैन । त्यो बेलासम्म अव हामीलाई भन्न पाईदैन । बजेट जाओस्, नीति, कार्यक्रम जाओस् । सबै कुरा जाओस भनेर यति धेरै प्रत्येक चोटीको भेटमा, सर्वदलीय बैठकमा सबै कुरा राखेर छानविन समिति बनाऔं । लिड तपाईहरुले नै गर्ने हो । कसैले राजीनामा दिनु पर्दैन ? भन्दाभन्दै पनि यो कुरालाई स्वीकार नगर्ने कुराले सरकार आफैँ निहुँ खोज्न आएको हो । सरकार आफैँ वातावरण बिगार्न आएको हो । सरकारकै कारणले गर्दा यो अप्ठयारो सृजना भएको हो । अब संसदको कुनै पनि काम कारबाही अगाडि बढ्ने कुरामा नेपाली काँग्रेसका साथ रहँदैन । जबसम्म संसदीय छानविन समित बन्दैन, ’

महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयको समेत दुरुपयोग गरेको आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }