काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरूलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको छ ।
पहिलो चरणमा पोखराको कुँडहर १३२÷११ केभी सब स्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्ध चोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभर हेड) लाइन र पोलहरू हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरूपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ ।
सुरुमा कुँडहर सब स्टेसनसम्मको वितरण प्रणाली मात्र भूमिगत गर्ने व्यवस्था भएता पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरूले गुजुल्टिएको तारले कुरूप बनेको सहर देख्नुपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमशः ः विद्युत् आपूर्ति दिन र ओभर हेड संरचनाहरू हटाउन निर्देशन दिनुभयो ।
कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेक साइड, एयरपोर्ट लगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गर्नुभएको थियो । महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिनुभयो ।
पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरूमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरूमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताउनुभयो । लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अव त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले बताउनुभयो ।
