मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २५, २०८१
  • 108
    SHARES

काठमाडौँ-  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलविद्युतको शेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने शेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।

मन्त्री खड्काले जनताको जलविद्युत कार्यक्रमको दोस्रो संशोधनमार्फत विना धितो गरिब तथा विपन्न वर्गलाई रु दुईलाख देखि पाँच लाखसम्म शेयर दिनेबारे आज अर्थ मन्त्रालय, बैँङ्किङ क्षेत्र र उर्जा उत्पादकसँग छलफल गर्नुभएको हो ।

छलफलमा उर्जामन्त्री खड्काले दिनभर काम गरेर विहान बेलुका छाक टार्न समस्या भएका नागरिकलाई लक्षित गरी सरकारले विना धितो सहुलियतपूर्ण व्याजदरमा शेयर पाउने व्यवस्था गर्न लागेकाले यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

“गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध नेपाल निर्माण हुन सक्दैन, उक्त वर्गलाई समृद्ध बनाउन दायित्व तपाईँहामी सबैको हो,”– मन्त्री खड्काले भन्नुभयो । प्राकृतिक स्रोतमाथिको अधिकार सबैको भएकाले तल्लो वर्गको लागि सबैले सोच्नुपर्ने उहाँको भनाई थियो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरीता दवाडीले जनताको जलविद्युत कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको भूमिका रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमलाई कार्यान्वयन गर्न अवरोध निति, नियमलाई मन्त्रालयले परिमार्जन गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जलस्रोतमार्फत मुलुकको समृद्धिसँगै समाजवादको विकास गर्न सरकार लागेको बताउनुभयो । उहाँले सरकारले उर्जा विकास मार्गचित्रको लक्ष्य लिएकाले यसलाई पुरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले जलविद्युतको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न उर्जा मन्त्रालयले लिएको लक्ष्य राम्रो भएको बताउनुभयो । गरिबीको रेखामुनी रहेका जनतालाई विकासको बाटो लैजान यस्तो कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई थियो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत जलविद्युत क्षेत्रमा थुप्रै नागरिकले लगानी गर्ने वातावरण निर्माण भएको बताउँदै उक्त कार्यक्रमलाई कार्यान्वयन गर्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्ररमण खनाल, नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तिलकराज पाण्डेय, कृषि विकास बैँकका निमित्त सिईओ, प्रताप सुवेदी, नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालालगायतले गरिव तथा विपन्न वर्गलाई धनी बनाउनेगरी ल्याइएको उक्त कार्यक्रमलाई कार्यविधि बनाएर लागू गर्नुपर्ने बताउनुभएको थियो ।

सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ जनताको जलविद्युत कार्यक्रम सञ्चालनमा ल्याएको थियो । छलफल कार्यक्रममा मन्त्रालयका सहसचिव सन्दिप देवले जनताको जलविद्युत कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)