मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासङ्घ र थाई चेम्बर अफ कमर्सबिच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०८१
  • 131
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबिच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।

थाइल्यान्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घको टोलीसँग थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो ।

दुवै देशमा लगानी प्रवर्द्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजीकरण गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व गर्दै बैंककमा रहनुभएका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताउनु भयो । उहाँले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाई व्यवसायीले इच्छा देखाएको बताउनु भयो । वार्तामा उद्योगी नेपालीहरूलाई अन अराइभल भिसा उपलब्ध गराउन थाई चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले खास गरेर नेपालमा लगानी गर्नको लागि थाई व्यवसायीहरूलाई आग्रह गर्‍यौँ । हामीले उहाँहरूलाई नेपालको पुरानो कानुनहरू परिवर्तन भएको र लगानीको लागि सहज वातावरण बनेको तथा सरकारले पनि विदेशी लगानीलाई प्राथमिकता दिएको भन्दै लगानीका आह्वान गर्‍यौं । उहाँहरू पनि पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा इच्छा देखाएको छ । त्यसै गरी हामीले नेपालबाट आउने उद्योगीहरूलाई अन अराइभल भिसाको लागि थाई सरकारसँग पहल गरिदिनुस् भनेर हामीले आग्रह गरेका छौँ । उहाँहरूले पहल गर्ने बताउनु भयो । उहाँहरूले नेपालमा राजनीतिक स्थिरता नभएको हुनाले नेपालमा लगानीको सम्भावना के हुन्छ भनेर चिन्ता पनि व्यक्त गर्नुभयो । हामीले राजनीतिक क्रियाकलाप र आर्थिक पाटो भिन्नै भएकाले अहिले नीति समेत परिवर्तन भएको कारण त्यसले फरक पार्दैन भन्ने कुराहरू राखेका छौँ ।’

थाई व्यवसायीहरूले नेपालमा राजनीतिक स्थिरता नभएको कारण लगानी प्रभावित हुने कुरा राखेको अध्यक्ष ढकालले बताउनु भयो । सरकारले वैदेशिक लगानी सहजिकरणका लागि नीति समेत फेरबदल गरेको कारण लगानी प्रभावित नहुने आफूहरूले धारणा राखेको उहाँको भनाइ छ । बिमस्टेक चेम्बर गठन गर्ने प्रक्रियामा पनि सदस्य राष्ट्रहरूसँग छलफल गरेर सक्रिय बनाउने कुरामा पनि आफूहरू अघि बढेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)