मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०८१
  • 244
    SHARES

 काठमाडौँ- नेपाल र भारत बिचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बिच काठमाडौँमा वार्ता सुरु भएको छ।

वार्तामा दुई देशका भन्सार कार्यालयहरू बिचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रूपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने माल वस्तु बोकेका मालवाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात-निर्यात हुने माल वस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेनटाइन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी श्री नारायण प्रसाद रेग्मीले बताउनुभयो।

छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एक द्वार प्रणाली मार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी-दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाइन्ट) लाई लक्षित समय सीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ।

चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ता टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक श्री महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक श्री अभय कुमार श्री वास्तवले गर्नुभएको छ। नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेनटाइन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। यसै गरी भारतीय टोलीमा राजस्व ईन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय इकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता,पटना,लखनउ भन्सार कार्यालयका प्रमुखहरू लगायतका अधिकारीहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)