काठमाडौँ- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउदेश्यीय डाइभर्सन आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।
सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’ को अवस्थाबारे बुझ्दै उहाँले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्देशन दिनुभएको हो ।
“सुनकोशी सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको प्रगतिको बारेमा प्रधानमन्त्री ज्यूले समेत वारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना निर्माणमा किन ढिलाई भयो, चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्नुहोस्,”– उर्जामन्त्री खड्काले भन्नुभयो ।
मन्त्री खड्काले काम पाईन्छ भनेर एउटै ठेकेदार कम्पनीले कम शुल्क ठेक्का हालेर धेरै आयोजनाहरु लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृतिको कारण देशको विकासमा ढिलाई भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
“देश नै वर्वाद हुनेगरी काम गर्नुहुन्छ, अर्बौँ रकम खर्च गर्दापनि प्रगति शुन्य छ, यस्तो तरिकाले कसरी मुलुकको विकास हुन्छ,”– उहाँले प्रश्न गर्नुभयो । काम गर्दा विपद् र जोखिम हुने भएकाले त्यसलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गत नै रहेको भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना समेत चार वर्षमा बन्नुपर्नेमा ६ वर्षसम्म पुगिसक्दा जम्मा ६० प्रतिशतमात्र प्रगति हुनु ज्यादै दुःखको कुरा भएको मन्त्री खड्काले बताउनुभयो । उहाँले आयोजनाको बारेमा ध्यान दिनसमेत ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । “यो व्यक्तिगत कुरा होइन, मुलुक बनाउने कुरा हो, हरेक व्यक्तिले मुलुकलाई वर्वाद बनायो भने कसरी मुलुकको विकास हुन्छ,”– उहाँले भन्नुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरीता दवाडीले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको प्रगती ज्यादै न्यून भएको बताउनुभयो । “आयोजनामा पटकपटक विभाग र मन्त्रालयको भ्रमण भएपनि आयोजनाको प्रगति सोचेजस्तो भएन, आयोजनालाई साना साना कुरा देखाएर ढिलो गर्न पाईँदैन,”– उहाँले भन्नुभयो ।
जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालले ठेकेदार कम्पनीले पटकपटक गरेको प्रतिवद्धता पुरा गर्न नसक्दा आयोजना निर्माणमा ढिलाई भएको बताउनुभयो ।
सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भएपनि हेडवक्स निर्माणको काम भने सुस्त गतिमा भएको पाईएपछि मन्त्री खड्काले यसमा तत्काल समस्या समाधान गरी गति लिन निर्देशन दिनुभएको छ । सन् २०२७ मा हेडवक्स निर्माण सम्पन्न गर्नुपर्ने भएपनि झण्डै आधा समय वितिसक्दा जम्मा ८.८१ प्रतिशत भएकोमा मन्त्री खड्काले असन्तुष्टि जनाउनुभएको हो ।
