बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २८, २०८२
  • 181
    SHARES

काठमाडौँ-  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ ।

सोमवार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गर्नुभयो । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तरराष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासङ्घ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताउनुभयो । अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तरराष्ट्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।

महासङ्घको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको छ, तर पनि भारत चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।” उहाँले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसर रहेको बताउनुभयो ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिनुभयो ।

सम्मेलनमा विश्वका १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासङ्घका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)