मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालीपन जोगाउने एक कर्मयोगीको प्रयास


  • निर्मल पराजुली
  • सोमवार, अशोज १२, २०८३
  • 65
    SHARES
समीक्षकको दृष्टिमा
नेपालीपन जोगाउने एक कर्मयोगीको प्रयास
“स्मृतिका बिम्बहरू”
१. कृतिको पृष्ठभूमि
गीतकार तथा साहित्यकार राम लामा “अविनाशी” बिदेशमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा लागिरहने सक्रिय हस्ताक्षर हुन । उनको तेस्रो कृतिको रूपमा प्रकाशित ‘स्मृतिका बिम्बहरू’ एक संस्मरणात्मक नियात्रासङ्ग्रह हो। यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ प्रकाशित गरिसकेका लामा, गीतकारको रूपमा पनि परिचित छन्। यो कृति सुरभी साहित्य प्रतिष्ठानद्वारा आयोजित समारोहमा विमोचन गरिएको हो।यो तेस्रो कृति हो। लेखक लामो समयदेखि प्रवास (अमेरिका) मा रहेर नेपाली साहित्य, संगीत र समाज सेवामा क्रियाशील छन्। उनका ‘मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ सहर’ जस्ता आधुनिक गीतहरु पनि साङ्गितीक बजारमा छ्न ।
२. कृतिको स्वरूप र शिर्षकको सार्थकता
कृतिको मूल स्वरूप डायस्पोरिक संस्मरण हो।उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण सङ्ग्रहित छन्। यो कुनै एक देशको यात्रा-वृत्तान्त होइन, जीवनको विभिन्न कालखण्डमा भेटिएका बिम्बहरूको सङ्ग्रह हो l यो विशुद्ध यात्रा वर्णन मात्र होइन, यसमा: घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको संरचना छl ‘म’ पात्रमा आधारित आत्मपरक शैली छ – लेखक स्वयं भोक्ता र दृष्टा हुनl कृतिमा आप्रवासको अनुभूति रहेको छ।
(३) बिषयगत बिशेषता
क) बिषय बस्तुको बिश्लेषण
पूर्वसचिव तथा बरिष्ठ समालोचक गोपी मैनालीका अनुसार:
पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ। अर्थात् यो आत्मकेन्द्रित ‘म’ पात्रको दृष्टि बिन्दुबाट लेखिएको छ। लेखक स्वयं कथाको केन्द्रमा छ, जसले पाठकलाई सहज आत्मीयता दिन्छ।
(ख) प्रवासी चेतना
‘आप्रवासको झल्को’ यो कृतिको सबैभन्दा बलियो सैद्धान्तिक पक्ष हो।
– भौतिक शरीर अमेरिका, तर मन नेपालमा भएको द्वैधता कृति अध्ययन गर्दा अनुभुती हुन्छ ।
– व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने प्रवृत्ति कृतिमा प्रतिबिम्बित हुन्छ
-सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्ति – जसलाई बरिष्ठ समालोचक युबराज मैनालीले उनको छुट्टै पहिचान भनेका छन्।साथै नेपाली साहित्यमा यो कृतिको प्रबेशले नयाँ इट्टा थपिएको’ संज्ञा दिएका छन्।
(ग) भाषाशैली
कृतिको भाषा सरल, सहज र पठनीय छ। बरिष्ठ समालोचक गोपी मैनालीले भाषाशैली सरल रहेको निष्कर्ष निकालेका छन्। गहन दार्शनिक बोझ नभएर मनका वेदना पोख्ने शैली नै यसको विशेषता हो।
(४)सबल र दुर्बल पक्ष:
– जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने प्रवृत्तिले लेखकलाई छुट्टै पहिचान दिएको छ।
– सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्ति कृतिको मूल चेतना हो।
– डायस्पोरा साहित्यमा मौलिक योगदान
– भोगाइ र देखाइको प्रामाणिकता
– सरल प्रस्तुति – साधारण पाठकले पनि बुझ्ने
दुर्बल पक्ष-
– गहिरो दार्शनिक विश्लेषण भन्दा भावनात्मक संस्मरण प्रधान छ।
विवरणहरू रोचक भए पनि कतिपय ठाउँमा यात्रा-सूची जस्तो लाग्ने खतरा रहन्छ।
-संस्मरण लेख्न गाह्रो विधा हो’। स्मृति भरमा लेख्दा कतिपय ठाउँमा भावुकता हावी भएको छ।
-घटनाहरू धेरै छन्, तर कुनै एक घटनाको समाजशास्त्रीय वा सांस्कृतिक विश्लेषण गहिरो रूपमा गरिएको छैन।
-बिम्बहरू’ शीर्षकले नै संकेत गरे जस्तै, छरिएका बिम्बहरूको एल्बम हो, जसले गर्दा संरचनात्मक एकता कमजोर देखिन्छ।
(५) निष्कर्ष:
‘स्मृतिका बिम्बहरू’ प्रवासी नेपाली मनको ऐना हो। यो पिल्सिएको परदेशी मनको निरन्तरता हो।व्यापार-व्यवसायबाट आर्जित रकम साहित्यमा लगानी गर्नु आफैमा गर्वको कुरा हो l
प्रवासी जीवन, स्मृति र नेपालीपन बुझ्न चाहने पाठकका लागि यो सरल, सहज र पठनीय दस्तावेज हो।स्मृतिका बिम्बहरू’ लाई संस्मरणात्मक सङ्ग्रह भन्दा ‘प्रवासी मनको आत्म-पुराण’ भन्नु उपयुक्त हुन्छ। यो साहित्यिक विलासिताका लागि लेखिएको कृति होइन, आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गरेर नेपालीपन जोगाउने एक कर्मयोगीको प्रयास हो।
त्यसैले यसको समीक्ष्या विशुद्ध साहित्यिक कसौटीमा मात्र होइन, प्रवासी नेपालीले आफ्नो पहिचान कसरी जोगाइरहेका छन् भन्ने सांस्कृतिक कसौटीमा हेरिनु पर्छ भन्ने मेरो बुझाई छ ।
-निर्मलरमण पराजुली

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)