काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किनुभएको छ।
कतारको दोहामा आयोजित वार्षिक बैठकमा सहभागी हुन असोज १० गते त्यसतर्फ प्रस्थान गर्नुभएका वाग्ले कतार एयरवेजमार्फत बुधबार बिहान ८ः४५ बजे काठमाडौं आइपुग्नुभएको हो।
बैठकका क्रममा एआईआईबीको गभर्नर परिषद्ले डा. वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापति (भाइस–चेयर) मा निर्वाचित गरेको थियो। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएको हो।
बैठकअन्तर्गत ‘गभर्नर्स बिजनेस राउन्डटेबल’ मा धारणा राख्दै अर्थमन्त्री वाग्लेले कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारमार्फत पुँजी निर्माण महत्वपूर्ण आधार रहेको बताउनुभएको थियो। उहाँले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो।
नेपालजस्ता मुलुकको आवश्यकताअनुसार एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा पनि उहाँले राख्नुभएको थियो।
दोहा बसाइका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालमा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका विषयमा छलफल गर्नुभएको थियो।
नेपाल एआईआईबीको उपसभापतिमा निर्वाचित भएसँगै मुलुकका ठूला पूर्वाधार आयोजनामा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
