सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीन वाणिज्य बैंकमाथि कारबाही


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०८३
  • 68
    SHARES

काठमाडौँ – नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा नियामकीय निर्देशन तथा प्रचलित व्यवस्था पालना नगरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । कारबाहीमा पर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक रहेका छन् ।

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदमस्वरूप कबुलियतनामा गराएको छ । साथै, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा भएको व्यवस्थाअनुसार समयमै बैंक खाता रोक्का नगरेको पाइएपछि कारबाहीस्वरूप सचेत गराइएको हो । बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम पहिलो पटक सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, कृषि विकास बैंकले पनि सम्बन्धित अनुरोध प्राप्त भएपछि समयमै बैंक खाता रोक्का नगरेको भेटिएपछि सचेत गराइएको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) बमोजिम भविष्यमा अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवा गर्न निर्देशन दिएको छ ।

प्रभु बैंकको हकमा भने राष्ट्र बैंकले स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरू पटक–पटक निर्देशन दिँदा समेत सुधार नभएको जनाएको छ । २०८१ को निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत सुधार गर्न निर्देशन दिइए पनि २०८२ मा गरिएको जोखिममा आधारित निरीक्षणका क्रममा अपेक्षित सुधार नभेटिएपछि बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराइएको हो ।

त्यस्तै, कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, आवश्यक कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र निरीक्षणका क्रममा औंल्याइएका अधिकांश कैफियत सुधार नगरेको राष्ट्र बैंकको भनाइ छ । बैंकले राष्ट्र बैंकमा पेस गरेको कर्जा विवरण र कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणसमेत फरक देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यी कमजोरीका आधारमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)