काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले केही नेताहरूले महाधिवेशन प्रक्रियामा भाग नलिँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताउनुभएको छ ।
मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता तथा कार्यकर्ताहरू महाधिवेशनमा सहभागी नभएको विषयलाई पार्टी विभाजनका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभएको हो । उहाँले केही नेताहरू चुनदेवीतिर जाँदैमा पार्टी विभाजन नहुने बताउन भयो । उहाँले पार्टीले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नेता डा. शेखर कोइरालाले राखेका सात बुँदे र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले राखेका पाँच बुँदे माग सम्बोधन गरेको बताउनु भयो । उहाँले वार्तामा ‘गिभ एन्ड टेक’ हुने भए पनि यस पटक असन्तुष्ट पक्षका माग सम्बोधन गर्न पार्टीले अधिकतम लचकता अपनाएको दाबी पनि गर्नुभयो । उहाँले पार्टीको १४औँ महाधिवेशनबाट आएका सदस्यहरूलाई समेत समायोजन गर्नुपर्ने माग सम्बोधन भइसकेको बताउनु भयो । उहाँले पूर्व सभापति शेरबहादुर देउवा महाधिवेशनमा आएमा उद्घाटन सत्रको सभापतित्व गराउन समेत पार्टी तयार रहेको बताउनु भयो । तर विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आफ्नो पद छाडेर पुनः पुरानै नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पार्टी फुट्ने त कुरै आएन । तर हामीले पार्टी महाधिवेशन गरिरहेका छौँ । कतिपय नेता तथा क्रियाशील सदस्य साथीहरू अधिवेशनमा भाग मात्र नलिएको हो । अहिले पार्टी हामी एउटै छौँ । एउटाले अलिकति अलि टाढा गएर चुनदेवीतिर जानुभएको छ र उहाँहरूले भाग लिनुभएको छैन । त्यसैले यसलाई पार्टी फुटेको भन्न मिल्दैन । केही नेता कार्यकर्ता साथीहरूले अधिवेशनमा भाग मात्र नलिएको हो । तर उहाँहरूलाई भाग लिनको निम्ति हामीले जे जे माग उहाँहरूले राखेको थियो सबै माग पूरा गरेका छौँ । अब हाम्रो शेखर दाइको सात बुँदे माग, पूर्ण दाइको पाँच बुँदे माग हामीले सबै माग पूरा गरेका छौँ । नेगोसिएसनमा गिभ एण्ड टेक हुन्छ । तर यो नेगोसिएसनमा सबै गिभ भयो । । हामीले सब खुल्ला गर्दियौँ । अनि दुइटा विशेष माग थियो एउटा, क्रियाशील सदस्यता अद्यावधिक । क्रियाशील सदस्यता अद्यावधिकको मुख्य कारण सबैको मोबाइल नम्बर चाहिएको हो । नभए हामी अहिलेको रुलिङ पार्टीसँग सोसल मिडियामा कम्पिट नै गर्न सक्दैनौँ । हामीसँग हाम्रो आफ्नै कार्यकर्ताहरूको क्रियाशील सदस्यको मोबाइलको रेकर्ड छैन । त्यसैले हाम्रो सोसल मिडिया क्याम्पेन सुरु गर्न पनि मोबाइल नम्बर त चाहियो भनेर अद्यावधिक गरेको त्यही एउटा कारण हो । १४ औँ महाधिवेशनका लिस्टमा पनि कायम राख्नुपर्छ भन्नुभयो, त्यो पनि हामीले हुन्छ भन्यौँ । पुराना सबै केन्द्रीय सदस्यलाई समायोजन गर्नको लागि पनि हुन्छ भन्यौ । त्यति मात्र होइन, शेरबहादुर दाइलाई उहाँ आइदिनुभयो भने त्यो अधिवेशनको उद्घाटन उहाँले नै गर्नुहुन्छ । त्योभन्दा बढी हामीले के गर्ने ? घाटी नै काटेर दिन चाहिँ अलि गाह्रो होला, तर अरू सबै हामीले दिई सक्यौँ भन्ने मलाई लाग्छ । अब विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबै कुर्सी छोडेर उहाँहरूलाई फेरी स्वागत गरेर तपाईँहरू नै कुर्सीमा बस्नुस् भन्न हामी सक्दैनौँ ।’
उहाँले फरक प्रसङ्गमा बोल्दै सरकार सेवा प्रवाहमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय रहेको आरोप लगाउनु भयो । उहाँले सरकारका गतिविधि र कार्यशैलीमा परिपक्वताको अभाव रहेको टिप्पणी पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया
सम्बन्धित समाचार
