काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताउनुभएको छ ।
सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनु भयो । साहले युक्रेन–रुस तथा मध्यपूर्वको द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गर्नुभयो । मन्त्री साहले रुस–युक्रेन तथा इरान–अमेरिका द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा देखिएको अस्थिरताले नेपाल जस्तो मुलुकमा गम्भीर असर पारेको बताउनु भयो ।
आपूर्ति व्यवस्थालाई सहज बनाउन सञ्चारमाध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री साहले कृषि उत्पादनमा जोड दिँदै पहाडी क्षेत्रमा हुने रैथाने बालीको प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले जनतालाई ‘के मात्रै गर्न सकिन्छ’ भन्ने सोचबाट माथि उठेर ‘स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ’ भन्ने भाष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले वाह्य निर्भरतामात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ । ब्रिकेट, विद्युत तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिन्छ । त्यसैगरी, आयातित चामलमा निर्भर हुनुको सट्टा स्थानीय स्तरमा मकै, फापर, कोदो, सिमी लगायतका कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । यसमा सञ्चारमाध्यमको भुमिका पनि महत्वपूर्ण छ । जनतालाई समस्या मात्र होइन, स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे पनि जानकारी गराउँदै आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्छ ।’
सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नमा मन्त्री साहले भू–राजनीतिक परिस्थितिका कारण वाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहो¥याउनु भयो ।–न्युज एजेन्सी नेपाल
