मङ्लबार, अशोज २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०८३
  • 44
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढीबाट क्षतिग्रस्त रसुवाका भौतिक संरचनाको पुनर्निर्माण गर्दा जलवायु परिवर्तनबाट सिर्जित जोखिमलाई ध्यानमा राखेर उच्च प्रविधियुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सांसद आचार्यले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवाको सडक सञ्जाल तथा बस्तीमा पुर्‍याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले रसुवाको बेत्रावतीदेखि मैलुङ हुँदै टिमुरे नाकासम्मको ठूलो भूभाग बाढीले क्षतिग्रस्त बनाएको भन्दै सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएको बताउनुभयो । बाढीका कारण बेत्रावतीजस्ता ऐतिहासिक बजारसमेत प्रभावित भएको र रसुवाका १३ वटा वडा सडक सञ्जालबाट विच्छेद भएको उहाँले जानकारी दिनुभयो ।

 

 

सांसद आचार्यले तत्काल आवागमन तथा आपूर्ति व्यवस्था सहज बनाउन वैकल्पिक सडक र बेलीब्रिज निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा निर्माण हुने सडक तथा पुललाई ‘हाइ फ्लड लेभल’ भन्दा माथि र जलवायुमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

उहाँले भन्नुभयो, “अब नयाँ सडक तथा पुल बनाउँदा पुरानै संरचना दोहोर्‍याउनेभन्दा जलवायु परिवर्तन र भविष्यमा आउन सक्ने बाढीपहिरोलाई ध्यानमा राखेर उच्च तथा सुरक्षित संरचना निर्माण गर्नुपर्छ ।”

रसुवा अन्तर्राष्ट्रिय नाका भएकाले चीनसँगको समन्वयमा नाकाको दीर्घकालीन योजना बनाएर सोहीअनुसार राजमार्गको एलाइनमेन्ट निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ ।

पुनर्स्थापना तथा एकीकृत बस्ती निर्माण गर्दा स्थानीय नागरिकसँग पर्याप्त छलफल गरेर उनीहरूको आवश्यकता र भौगोलिक अवस्थाअनुसार योजना बनाउनुपर्ने सांसद आचार्यले बताउनुभयो ।

उहाँले २०७२ सालको भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीबाट समेत सरकारले पाठ सिक्नुपर्ने धारणा राख्नुभयो । स्थानीय जनताको आवश्यकता र चाहना बुझेर पुनर्निर्माणको डिजाइन गरे मात्रै राज्यको लगानी सदुपयोग हुने र नागरिकले वास्तविक राहत पाउने उहाँको भनाइ छ ।

जनतासँग संवाद नगरी तयार गरिने पुनर्निर्माणका योजना खर्चिलो र कम उपयोगी हुन सक्ने भन्दै उहाँले पुनर्स्थापनाको काममा स्थानीय सहभागितालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

जलवायु परिवर्तनको प्रभावलाई आगामी विकास मोडेलमा अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिँदै सांसद आचार्यले सरकारलाई विपद् पूर्वतयारीमा थप गम्भीर बन्न आग्रह गर्नुभयो । उहाँले ‘लस एन्ड ड्यामेज’ (नोक्सानी तथा क्षति) को विषयलाई प्राथमिकतामा राखेर प्रभावकारी रूपमा काम गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)