मङ्लबार, अशोज २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक कूटनीति प्राथमिकतामा


  • माउन्टेन खबर
  • सोमवार, अशोज २६, २०८३
  • 52
    SHARES

काठमाडौँ-  द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार, उच्चस्तरीय राजनीतिक भ्रमणसँगै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर प्रस्तावित राजदूतहरूले आफ्ना कार्ययोजना सङ्घीय संसद्समक्ष पेस गरेका छन् । द्विपक्षीय सम्बन्धमा पछिल्ला वर्षमा राजनीतिकसँगै आर्थिक, सामाजिक, पर्यटन, शैक्षिक तथा संसदीय कूटनीतिले समेत प्राथमिकता पाउने गरेका छन् । नागरिक सम्बन्धलाई पनि कूटनीतिक आयामका रूपमा प्रस्तावित राजदूतले कार्ययोजनामा समेट्ने गरेका छन् । संसदीय सुनुवाइ समितिको माग अनुसार प्रस्तावित १३ राजदूतले कार्ययोजना बुझाइसकेका छन् । समितिले असोज २६ देखि २८ गतेसम्म सुनुवाइको कार्यतालिका तय गरेको छ । प्रस्तावित १३ मध्ये सोमबार चार देशका राजदूतको सुनुवाइ समितिले गर्दै छ । समितिले सोमबार भारतका लागि प्रस्तावित डा. निश्‍चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजङ्ग थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौरवशमशेर जबराको संसदीय सुनुवाइ गर्दै छ ।

 

 

 

 

 

यस्ता छन् कार्ययोजना

अमेरिकाका लागि प्रस्तावित थापाले वैदेशिक लगानी तथा आर्थिक कूटनीति र उच्चस्तरीय भ्रमणलाई कार्ययोजनामा समेट्नुभएको छ । यस्तै अमेरिकामा बसोबास गर्ने तथा भ्रमणमा जाने नेपालीको सुरक्षा र प्रभावकारी कन्सुलर सेवाको विषयलाई पनि थापाले कार्ययोजनामा उल्लेख गर्नुभएको छ ।

शैक्षिक सहकार्यमा पहल

बेलायतका लागि प्रस्तावित जबराले राजनीतिक, संसदीय, संस्थागत तथा जनस्तरको सम्बन्धलाई समेटेर कार्ययोजना पेस गर्नुभएको छ । बेलायतबाट नेपालमा लगानी भित्र्याउने, नेपाली उत्पादन तथा सेवाको बेलायती बजारमा प्रवर्धन गर्ने र व्यावसायिक सञ्जाल निर्माणको अवधारणा कार्ययोजनामा समेटिएको छ ।

नवीकरणीय ऊर्जा र हरित अर्थतन्त्रमा सहकार्यको योजना पनि जबराको कार्ययोजनामा उल्लेख छ । दुई देशका विश्वविद्यालयबिच सहकार्य, अनुसन्धान, डिजिटल प्रविधि, व्यावसायिक तालिम र सिप विकासमा जोडका कार्यक्रम कार्ययोजनामा समेटिएका छन् ।

खेल कूटनीतिको प्रवर्धन

यस्तै भारतका लागि प्रस्तावित पाण्डेले नेपाल–भारतबिच विभिन्न विषयमा सहकार्य तथा छलफलका लागि गठित द्विपक्षीय संयन्त्रलाई सक्रिय तथा परिणाममुखी बनाउने कार्ययोजनामा उल्लेख गर्नुभएको छ । संयन्त्रका कामलाई नियमित समीक्षाका विषय पनि उहाँले उल्लेख गर्नुभएको छ । दुई देशबिचमा उच्चस्तरीय भ्रमण तथा नियमित द्विपक्षीय बैठकलाई प्रभावकारी बनाउने पनि कार्ययोजनामा उल्लेख गर्नुभएको छ ।

भारतसँगको व्यापार घाटा घटाउन निर्यात र लगानी प्रवर्धनको नीति पनि उहाँको योजनामा उल्लेख छ । नेपाली उत्पादनको निर्यात प्रवर्धन, विद्युत् आयातनिर्यातको सन्तुलन तथा नेपाली वस्तुको निर्यातमा देखिएका गैरभन्सार अवरोध हटाउन पहल गर्नेलगायतका विषय पाण्डेले कार्ययोजनामा उल्लेख गर्नुभएको छ ।

चीनका लागि प्रस्तावित राजदूत शर्माले चीनसँगको सम्बन्धलाई राष्ट्रिय हित र आर्थिक सहकार्यलाई प्राथमिकतामा राखेर कार्ययोजना पेस गर्नुभएको छ । द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका क्षेत्रमा सहकार्य अघि बढाउन पहल गर्ने शर्माको कार्ययोजनामा उल्लेख छ ।

चीनसँगको पारवहन र तेस्रो मुलुकसँग व्यापार विस्तारलाई उहाँले कार्ययोजनामा उल्लेख गर्नुभएको छ । द्विपक्षीय पारवहन सम्झौताको सुविधा प्रयोग, सामुद्रिक बन्दरगाह र सुक्खा बन्दरगाह प्रयोगको पहललाई पनि उहाँले कार्ययोजनामा समेट्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)