काठमाडौँ- देशका सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आज देखि विराटनगरमा शुरु भएको छ । सम्मेलनमा सुदुरपश्चिम बाहेक ६ प्रदेशका मुख्यमन्त्री सहभागी हुनुहुन्छ । यसैगरि मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव समेत सम्मेलनमा सहभागी हुनुहुन्छ ।
सम्मेलनको उद्घाटनमा बोल्दै मुख्यमन्त्रीहरुले संविधानमा उल्लेख गरिएका अधिकारको कार्यान्वयन र जिम्मेवारी बाँडफाँटमा संघीय सरकार उदासीन रहेको भन्दै अहिलेकै अवस्था कायम रहने हो भने संघीयताबारे नै सोच्नुपर्ने बताउनुभयो ।
उहाँहरुले संघीय कानुन र नीतिगत जटिलताका कारण प्रदेशले बनाएका कानुनसमेत कार्यान्वयन गर्न समस्या भइरहेको बताउँदै प्रदेशलाई आवश्यक अधिकार र स्रोतसाधन उपलब्ध नगराउने, तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्ति गलत भएको पनि उल्लेलेख गर्नुभयो ।
सम्मेलनले संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता र त्यसको समाधान तथा प्रदेशको अधिकार सुनिश्चित गर्नका लागि साझा अवधारणा बनाउने बताइएको छ ।सम्मेलनमा प्रदेश निजामति सेवा तथा प्रदेश प्रहरी ऐन लगायत विभिन्न कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।
