शनिबार, अशोज २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनप्रतिनिधि र विश्वविद्यालयका शोधार्थी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०८३
  • 121
    SHARES

जनप्रतिनिधि र विश्वविद्यालयका शोधार्थी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा ‘विकास योजना तथा सुशासनको बुझाइ’ विषयक अनुभव आदान–प्रदान कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. ४ (गोदाम घर) मा सम्पन्न भएको छ। ‘Understanding Development Planning and Governance’ विषयमा केन्द्रित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागमा अध्ययनरत शोधार्थी र वडा प्रतिनिधिबीच स्थानीय विकास, योजना कार्यान्वयन, सुशासन र स्थानीय सरकारका अभ्यासबारे अनुभव आदान–प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले स्थानीय सरकार जनताको सुखदुःखमा साथ दिने सरकार भएकाले जनताले स्थानीय सरकारलाई बढी विश्वास गर्ने बताउनुभयो। स्थानीय स्तरमा काम गर्दा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर प्राप्त हुने उहाँको भनाइ थियो। वडा अध्यक्ष बानियाँले वडाले विभिन्न विकासका काम सुरु गरे पनि बजेट अभाव र कानुनी जटिलताका कारण कतिपय काम अपेक्षा अनुसार अघि बढाउन कठिन भइरहेको बताउनुभयो।

विश्वविद्यालयका शोधार्थी तथा विज्ञहरूसँग जनप्रतिनिधिको अन्तरक्रियाले स्थानीय सरकारको भूमिका, विकासका सम्भावना र चुनौती बुझ्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै ग्रामीण विकासका शोधार्थी दुर्गाराज पाण्डेले अनुसन्धानकर्ताका लागि स्थानीय तहको विकास प्रक्रिया, योजना कार्यान्वयन र सुशासनका अभ्यासबारे प्रत्यक्ष अनुभव हासिल गर्नु महत्त्वपूर्ण हुने बताउनुभयो। यस्ता कार्यक्रमले सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवबीच सम्बन्ध स्थापित गर्न सहयोग पुर्‍याउने उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै, शोधार्थी श्रीजना तामाङले कुनै एक वडाले गरेका सकारात्मक काम र हासिल गरेका प्रगतिले अरु वडाका जनप्रतिनिधिलाई समेत प्रेरणा दिन सक्ने भएकाले यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो। अर्का शोधार्थी रुक्मागत काफ्लेले विश्वविद्यालयमा सिकेका सैद्धान्तिक ज्ञानहरुलाई स्थानीय तहमा व्यावहारिक रूपमा कार्यान्वयन गरिएको अनुभव खुलेर आदान–प्रदान गरेकोमा वडा प्रतिनिधिहरूलाई धन्यवाद दिनुभयो। स्थानीय सरकार अभ्यासको प्रत्यक्ष अवलोकन र अनुभव आदान–प्रदानले अनुसन्धानलाई थप व्यावहारिक बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

कार्यक्रममा ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक  डा. महेन्द्र सापकोटाले व्यस्त समयका बाबजुद कार्यक्रमका लागि समय उपलब्ध गराउनुका साथै आवश्यक समन्वय गरेकोमा वडा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयलाई जस्तै स्थानीय वडालाई पनि व्यावहारिक सिकाइको अर्को विश्वविद्यालयका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। देश संघीयतामा गएपछि  स्थानीय सरकारप्रति जनताको अपेक्षा झन बढेको उल्लेख गर्दै उहाँले स्थानीय तहका योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन ज्ञान र अनुभवको आदान–प्रदान आवश्यक रहेको बताउनुभयो।

डा. सापकोटाले कीर्तिपुर नगरपालिका वडा नं. ४ लाई सुशासन, योजना निर्माण तथा कार्यक्रम सञ्चालनका क्रममा प्राज्ञिक सहयोग आवश्यक परेमा त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागले आफ्नो दायित्व सम्झेर निःशुल्क सहजीकरण गर्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता उपप्राध्यापक डा महेन्द्र सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शोधार्थी तिलकबहादुर थापा मगरले गर्नुभएको थियो। स्थानीय सरकारका प्रतिनिधि र विश्वविद्यालयका शोधार्थीबीच प्रत्यक्ष संवाद तथा अनुभव आदान–प्रदान गराउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय विकासका व्यावहारिक पक्ष बुझ्न र अनुसन्धानलाई स्थानीय अभ्याससँग जोड्न सहयोग पुर्‍याएको सहभागीहरूको धारणा थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)