काठमाडौँ – मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्न सक्ने सङ्केत देखिएपछि इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्तीले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) का समकक्षीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् ।
इजिप्टको विदेश मन्त्रालयले बुधवार जारी गरेको वक्तव्यअनुसार तीन देशका विदेशमन्त्रीहरूले पछिल्लो क्षेत्रीय घटनाक्रम, जारी सङ्कट नियन्त्रणका प्रयास तथा तनाव थप बढ्न नदिन अपनाउन सकिने उपायबारे छलफल गरेका हुन् । उनीहरूले पछिल्ला दिनमा सङ्कट थप चर्किने जोखिम बढेकोप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत राजनीतिक तथा शान्तिपूर्ण समाधान खोज्ने उपायबारे विचार आदानप्रदान गरेका थिए ।
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँगको वार्तामा अब्देलात्तीले द्विपक्षीय तहमा तथा क्षेत्रीय चार देशीय मन्त्रीस्तरीय संयन्त्रमार्फत निरन्तर परामर्श र समन्वय गर्ने सहमति गरेका छन् । उक्त संयन्त्रमा इजिप्ट, साउदी अरब, पाकिस्तान र टर्किए सहभागी छन् । त्यस्तै, यूएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँगको वार्तामा अब्देलात्तीले क्षेत्रीय देशहरूले शान्तिपूर्ण समाधानका लागि प्रयास तिब्र पार्नुपर्नेमा जोड दिएका छन् ।
उनले सङ्कटमा संलग्न सबै पक्षलाई पुनः राजनीतिक संवादको बाटोमा फर्काउन र परिस्थितिलाई थप बिग्रन नदिन क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् । मध्यपूर्वमा बढ्दो तनावका बीच क्षेत्रीय देशहरूले कुटनीतिक संवाद र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा इजिप्टले जोड दिएको छ ।
