काठमाडौँ – विवादित इनाम सापकोटा प्रकरणमा सर्वोच्चले नै छानबिन गर्नुपर्ने सुझाव आएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडिएको र न्यायाधीश हरि फुयालले विवादित सापकोटासँग उठबस गरेको विषयमा सर्वोच्चले नै छानबिन गर्नुपर्ने राय न्यायाधीशहरुले दिएका हुन्।
शुक्रबार इजलास सुरु हुनुअघि बसेको फुलकोर्ट बैठकमा सापकोटासँग जोडिएको विषयमा आफैँले छानबिन गरेर साझा निष्कर्षमा पुग्नुपर्ने सुझाव बहुमत न्यायाधीशहरुले बैठकमा दिएको स्रोतले बतायो।
बैठकको सुरुमै न्यायाधीश फुयालले आफू कसरी सापकोटासँग जोडिन पुगे र आफ्नो नियत गलत नभएको ब्रिफिङ गरेका थिए। त्यसपछि उपस्थिति न्यायाधीशहरुले पालैपालो धारणा राखेका थिए।
सर्वोच्च स्रोतका अनुसार शुक्रबार नै फुलकोट बैठक ठोस निष्कर्षमा पुगेको छैन। वरिष्ठतम न्यायाधीश सपनाप्रधान मल्ल र अब्दुल अजिज मसुलमान अनुपस्थित रहेकाले सोमबार उनीहरुसहित बैठक बसेर एउटा निर्णयमा पुग्ने समझदारी गरेर शुक्रबारको बैठक सकिएको थियो।
प्रधानन्यायाधीशको नाम जोडेर अमेरिकामा सापकोटासँग सम्बन्धित व्यक्ति पैसा बैंकमा डिपोजित गराएको तथ्य सार्वजनिक भएको छ।
फुयालको हकमा भने उनी आफैँले विवादित सापकोटासँग ह्वट्सएपमा पटक पटक कुराकानी भएको र हिमालयन होटलमा अरु न्यायाधीशसहित सामूहिक रुपमा भेटघाट गरेको स्वीकार गरेका छन्। सँगै उनले विचाराधीन मुद्दामा प्रभावित पार्न खोजेपछि आफूले नै उजुरी गरेको दाबी गरेका छन्।
