काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति मुलुकमा हाबी रहेको उहाँको भनाइ छ । उहाँले देशको यही आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरु एकचोटी फेरि एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकलाई सही दिशामा अगाडि बढाउन एकचोटी फेरि नेपाली कम्युनिष्ट पार्टी तयार रहेको जिकिर पनि गर्नुभयो । उहाँले विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यतिबेला देशमा विवेक हराएको । राज्यमा विचार हराएको छ । आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने, सबलाई आतङ्कित पार्ने प्रवृत्ति, विवेकहीन प्रवृत्ति हाबी छ । हामी विवेकका पक्षधर, विचारका पक्षधर, सिद्धान्तका पक्षधर, जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधर एकचोटी फेरि एकताको झण्डा उठाएर जानुछ । अस्ति हामीले नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको बीचमा सहकार्य गर्ने भनेर तीन बुँदे एउटा निर्णय गर्यौँ । त्यो भन्दा पहिले नै माधवजी मोहनविक्रमकहाँ जानुभयो मिलेर जाने प्रश्ताव राख्नुभयो । उहाँले मनमोहन अधिकारीसँग एकता हुँदाखेरि पैदा भएको उत्साहको उदाहरणसहित मोहनविक्रमजीसँग पनि सहकार्य गर्ने वातावरण बनिसकेको छ । माधवजी र मेरो बीचमा जति कुरा भएको छ यो बीचमा, हामीले देशको जिम्मा फेरि एकचोटी लिनुपर्ने भएको छ । म सुन्छु पूर्व, पश्चिम, तराई, मधेस, पहाड जताकतै जाँदा हामीलाई आलोचना गर्नेको कमी पनि छैन, विरोध गर्नेको कमी पनि छैन । हामी आफैँले भनेका छौँ हामीले कहाँ कमीकमजोरी गर्यौँ तर महसुस पनि त गरेका छौँ । तर हामी आफैं यो कुरा भन्न डराइराख्या छौँ, बोल्न डराइराख्या छौँ । यस्तो हुनु भएन ।’
उहाँले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै पार्टी संगठन सुदृढिकरणमा लाग्न समेत पार्टीपंक्तिलाई निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल
