काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गर्नुभएको छ ।
बिहीवार शीतलनिवासमा काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले आयोजना गरेको सम्यक महादानको निमन्त्रणा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विश्वशान्ति तथा देश र जनताको हित एवं कल्याणका लागि गरिने यस्तो कार्यको प्रशंसा गर्नुभयो । उहाँले सम्यक महादानजस्तो पुनीत कार्य आयोजना गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमको निमन्त्रणा सहर्ष स्वीकार गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो धर्म, संस्कृति, परम्परा, सम्यक महादानको महिमा विशिष्ट खालको छ । यो पुनीत कार्यको सफलताको शुभकामना पनि व्यक्त गर्दछु ।’
राष्ट्रपति पौडेलले सम्यक महादानको महिमा विशिष्ट रहेको उल्लेख गर्दै यसको सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
