काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइएको छ ।
लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको हो । घर, भवन तथा व्यापारिक प्रतिष्ठानहरूमा रंगीचंगी बत्ती बालिएपछि उपत्यका नै झिलिमिली बनेको छ ।
साँझ परेसँगै उपत्यकाका विभिन्न स्थानमा बत्तीको आकर्षक सजावटले चाडपर्वको रौनक थपिएको छ । लक्ष्मीपूजाका दिन घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ । आजको दिन घर सफा गरी दीपावलीका साथ लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वास रहिआएको छ । –न्युज एजेन्सी नेपाल
