“चौतारीको बरपिपल, देउरालीको साक्षी” गीत सार्वजनिक भएको छ । माया, सम्बन्ध र जीवनका पानाहरू समेटिएको तथा नेपाली मौलिकता, संस्कार र सामाजिक परिवेशको झल्को दिने मनोशायकासाथ यो नयाँ सांगीतिक प्रस्तुति “चौतारीको बरपिपल, देउरालीको साक्षी ” सार्वजनिक गरिएको हो ।
चौतारी र देउराली केवल भौतिक स्थान मात्र होइनन्, यी हाम्रा धार्मिक र सांस्कृतिक आस्था, सम्झना र मौलिक पहिचानका पवित्र प्रतीक पनि हुन्। यसै माटोको सुगन्धलाई आत्मसात गर्दै, पशुपति क्षेत्र विकास कोषमा सेवारत स्रष्टा गोविन्द प्रसाद कोइरालाले आफ्नो कर्मक्षेत्रको धार्मिक र सांस्कृतिक ऊर्जा र प्रेरणालाई कलामा रूपान्तरण गर्नुभएको छ। उहाँले आजको पुस्तालाई आफ्नै देशमा रहेर आफ्नो धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्दै नयाँ-नयाँ सिर्जनामा समर्पित हुनुपर्छ भन्ने गहिरो सन्देश यस कोसेलीमार्फत दिन खोज्नुभएको छ। साथै, आफ्नी स्वर्गीय माता प्रेमकुमारी कोइरालाको पवित्र स्मृतिमा समर्पित यो सिर्जना भावनात्मक रूपमा समेत अत्यन्त अर्थपूर्ण रहेको छ। उक्त गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने शब्द , स्वर र प्रस्तुति गोबिन्द प्रसाद कोइराला कै रहेको छ । त्यसैगरी भिडियो सम्पादन र निर्देशनमा विश्वराम खड्का,छायाँकारमा विशाल प्रजापति, श्रृङगार प्रिया कार्की आदि रहनु भएकोछ भने अभिनयमा गोविन्द प्रसाद कोइराला,रेखा तिवारी, प्रेम पाण्डे, राजकुमार सापकोटा लगायतका कलाकारहरू रहनुभएकोछ ।
गीतको पुरा भिडीयो हेर्नका लागी तल क्लिक गर्नुहोला :
