सोमवार, कार्तिक २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २४, २०८३
  • 35
    SHARES

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको टिप्पणी गर्नुभएको छ ।

सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंशको प्रवृत्ति बढेको बताउनु भयो । उहाँले संसद भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ओलीले आफू नेतृत्वको सरकारले विभिन्न स्थानमा ठूला सभा हल, रङ्गशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गर्नुभयो । गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण गरिएको उल्लेख गर्दै उहाँले त्यहाँ हजारौँ मानिस अट्ने व्यवस्था रहेको बताउनु भयो । भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हलको आवश्यकता रहेको उहाँको भनाइ छ । सामान्य कार्यक्रम आयोजना गर्नुपर्दा पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था रहेको भन्दै उहाँले सार्वजनिक सभा हल निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै, भूकम्पबाट क्षति पुगेका संरचनालाई अझ बलियो र व्यवस्थित रूपमा पुनर्निर्माण गर्ने प्रयास गरिएको उहाँले बताउनु भयो । दशरथ रङ्गशालाको पुनर्निर्माण, पोखरा रङ्गशालालगायत विभिन्न स्थानमा खेल पूर्वाधार निर्माणलाई उहाँले विकासको उदाहरण भएको बताउनु भयो । विकास भएका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘आज राजनीति र समाजमा देखिएको विकृतिको एउटा कारण हाम्रो सांस्कृतिक र नैतिक चेतनामा आएको ह्रास पनि हो । मानिसको मनमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस र स्वार्थको भावना बढ्दै गएको देखिन्छ । हामीले सभा हल, रङ्गशाला र अन्य पूर्वाधार निर्माण गरेर देश विकास गर्नसक्छौँ भन्ने उदाहरण प्रश्तुत गरेका थियौँ । भूकम्पले संरचना भत्काउँदा पनि त्यसलाई अझ बलियो र व्यवस्थित बनाउने प्रयास गरेका थियौँ । तर सार्वजनिक सम्पती संरक्षण गर्नुको सट्टा तोडफोड, आगजनी र लुटपाट गर्ने प्रवृत्तिले समाजलाई ठूलो क्षति पु¥याउँछ । भाटभटेनीलगायतका व्यावसायिक प्रतिष्ठानमा भएका लुटपाट र आगजनीका घटनाले सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षाबारे गम्भीर प्रश्न उठाएका छन् । यस्तो व्यवहारले देशको प्रतिष्ठामा समेत असर पार्छ । त्यसैले अब हामीले विनाश होइन, निर्माण; घृणा होइन, करुणा, झुट होइन, सत्य र हिंसा होइन, सहकार्यको संस्कार विकास गर्नुपर्छ । संस्कृतिको संरक्षण भनेको केवल चाडपर्व मनाउनु मात्र होइन, हाम्रो व्यवहारमा नैतिकता, सद्भाव र जिम्मेवारी कायम गर्नु पनि हो ।’

उहाँले भाटभटेनीका २१ वटा स्टोरमा लुटपाट र आगजनी भएको प्रसङ्ग उल्लेख गर्दै सार्वजनिक तथा निजी सम्पती लुट्ने र जलाउने व्यक्तिहरूले नेपाली समाजकै बद्नाम गराएको टिप्पणी गर्नुभयो । यस्ता गतिविधिमा संलग्न हुनेहरू नेपाली समाजका लागि कलङ्क भएको उहाँको भनाइ छ । ओलीले समाजमा निर्माण, संरक्षण, परोपकार र जिम्मेवारीवोधको भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)