आइतवार, मंसिर ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपिएल उपाधिका लागि साविक विजेता लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ६, २०८३
  • 51
    SHARES

काठमाडौँ-  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताउनुभयो । उहाँका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलले बताउनुभयो । क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

एनपिएलमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेको भए पनि उसलाई कमजोर आँक्न नहुने पौडेलले बताउनुभयो । सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका रूपमा लिएको उहाँले बताउनुभयो । फाइनलसम्म आइपुग्न सबै खेलाडीले मिहिनेत गरेकाले उपाधि जित्नु टोलीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गर्नुभयो ।

फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ सामना गर्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । जारी प्रतियोगितामा विदेशी खेलाडी आउने र जाने क्रमले टोलीको संयोजनमा परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो । विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने अवस्थाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ थियो ।

लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । यसपटक भने टोली पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)