मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाइवाइको पहिलो ऐतिहासिक फ्याक्ट्रीको सिजिआईपीमा स्थानान्तरण


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०८१
  • 305
    SHARES

काठमाडौं- नेपालको सबैभन्दा लोकप्रिय तयारी चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ। ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो ऐतिहासिक फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क ९सिजिआईपी० मा सारिएको छ। वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको ससम्मान व्यवस्थापन र अन्य सरोकारवालाबीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो।

सन् १९८४ मा स्थापना भएको भैसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो। स्थापना भएको समयमा भैसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो। समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौं, पुडासैनीले बताए।

साथै, केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू पनि प्रकट भएका थिए। यी सरोकारहरूलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको हो।

फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ। व्यवस्थापनका अनुसार, यस प्रक्रियाले कम्पनीभित्रको कार्य वातावरणलाई अझ सुदृढ बनाउनेछ। सम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो पुडासैनीले बताए ।

नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरि सञ्चालनमा ल्याइएको छ। चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ।

यो स्थानान्तरणले वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न, तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ। नेपालकै सबैभन्दा सफल एफएमसीजी ब्रान्डमध्ये एक वाइवाइले आफ्नो उत्पादनलाई अझ सुदृढ गर्दै विश्व बजारमा अझ मजबूतीका साथ प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)