बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छ प्रतिशतको वृद्धिदर हासिल सम्भव छ :अर्थमन्त्री


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १८, २०८२
  • 226
    SHARES

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया आएकाले कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास व्यक्त गरे ।

७.५ प्रतिशतको आर्थिक वृद्धिदर भएको इतिहास रहेकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव रहेको उनको भनाइ छ ।

“बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ । सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ,” अर्थमन्त्री पौडेलले भने, “राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइनेछैन ।”

अर्थमन्त्री पौडेलले लक्ष्यअनुसारको राजश्व संकलनका लागि थोरै मिहिनेत गर्न आवश्यक रहेको बताए । उनले  भने,  “काम नगरेको अवस्थामा हासिल गर्न सकिँदैन । काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ ।”

उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाव गरेर बस्नेभन्दा पनि साँवाब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताए । स्रोतको विषयमा चिन्ता नगर्न सबैलाई अर्थमन्त्रीले आग्रह गरे ।

अर्थमन्त्री पौडेलले आर्थिक विज्ञहरुबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको बताए । खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैँमा नमिल्दो रहेको उनको भनाइ छ ।

स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए । अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा बजेटले त्यसलाई समाधान गरेको बताए ।

उनले स्रोतलाई दुरुपयोग गर्न दिन नहुने बताए । खुद्रा योजनामा बजेट होसियार रहेको उनको भनाइ छ ।

गत आर्थिक वर्षको र चालु आवको आर्थिक वृद्धिदर र मुद्रास्फितिलाई लिएर आधार बनाएको उनले बताए ।

सरकारले गर्नुपर्ने काम सबै गर्छ भन्ने बजेटले निजी क्षेत्रलाई सन्देश दिएको उनले बताए । निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको अवस्था रहेको उनले उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुलाई सशक्त रुपमा पहल गरेको दाबी थियो । उनले  सरकार निजी क्षेत्रलाई अघि बढाउनका लागि सधैँ तयार रहेको बताए ।

निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको उनको दाबी छ ।

ऐन तथा कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार रहेको उनको भनाइ छ ।

उनले आयोजना निर्धारित समयमा बन्नु पर्ने सरकारको मुख्य उद्देश्य रहेकाले त्यसका लागि सरकारले गर्नुपर्ने सबै सहजिकरण गर्न तयार रहेको बताए ।

उनले डिजिटल बैंकिङमा जान आवश्यक पर्ने पूर्वाधार निर्माण गरिने बताए । उनले त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उल्लेख गरे ।

वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको र यो बजेटले त्यसमा ध्यान दिएको अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)