काठमाडौँ – नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मङ्गलवार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो ।
यसैबिच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
वरिष्ठ पर्यटन व्यवसायी तथा लग्जरी एड्भेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको पर्यटन क्षेत्रमा नवीन सोच, अनुभव र ऊर्जा थपिएको अपेक्षा गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताएका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै, नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताएका छन् ।
उनले भने, “सचिव मैनालीको मार्गदर्शन र दुई नव नियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौँ ।”
कार्यक्रममा बोल्दै सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए । उनले भने, “नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ ।”
उनले आफू प्रशासनिक नेतृत्वकर्ता भएको उल्लेख गर्दै थपे, “मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैँभरि यस्ता जिम्मेवारीमा रहिरहन सक्दैनौँ, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना हो ।”
सचिव मैनालीले बोर्डका सदस्यहरूको अनुभव र ऊर्जाको संयोजनबाट देखिने र महसुस हुने नतिजा दिन सकिने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे पदाधिकारी, पर्यटन बोर्डका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।
