शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 41
    SHARES

काठमाडौं-  नेपालमा अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् ।

 

 

 

नाडा अटो शोमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी कुल ५३ वटा सवारी ब्राण्ड सहभागी हुनेछन् । तर, यसपटकको प्रदर्शनीको विशेषता केवल नयाँ गाडी र मोटरसाइकलको प्रदर्शनमा सीमित हुने छैन ।

प्रदर्शनीमा सहभागी करिब ७० कम्पनीले सवारीसाधनसँग प्रत्यक्ष रूपमा जोडिएका उत्पादन तथा सेवा प्रस्तुत गर्नेछन् । ती कम्पनीले टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन् ।

त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा र विद्युतीय सवारीका लागि लक्षित वित्तीय योजनासहित प्रदर्शनीमा सहभागिता जनाउनेछन् ।

 

अटोमोबाइल उद्योगको यही हिस्सा सवारी खरिद गरेपछि वर्षौंसम्म उपभोक्तासँग जोडिने भए पनि प्रदर्शनीमा यसलाई प्रत्यक्ष रूपमा हेर्ने अवसर कमै आउने गरेको छ । गाडी खरिद गर्ने क्रममा केही साता सोरुम धाउने उपभोक्ता त्यसपछि लामो समयसम्म वर्कसप, बैंक, बीमा कम्पनी, टायर तथा पार्ट्स पसलसँग जोडिनुपर्ने भएकाले यसपटक नाडा अटो शोले सम्पूर्ण इकोसिस्टमलाई एउटै स्थानमा ल्याउन खोजेको हो ।

प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ । यसले उपभोक्तालाई गाडी हेर्नेसँगै त्यसको मर्मतसम्भार, पार्ट्स, वित्तीय सुविधा, बीमा र चार्जिङलगायतका विषयमा समेत जानकारी लिन सहज बनाउने आयोजकको विश्वास छ ।

यसपटकको शोमा सहभागी सवारी ब्राण्डमा समेत उल्लेख्य भौगोलिक विविधता देखिनेछ । युरोपेली इन्जिनियरिङका लागि परिचित स्कोडा, मलेसियाको राष्ट्रिय ब्राण्ड प्रोटोन तथा चेरीअन्तर्गतका ओमोडा र जेकु, जीडब्ल्यूएमलगायत चिनियाँ निर्माता सहभागी हुनेछन् । जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एउटै प्रदर्शनीस्थलमा रहनेछन् ।

विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियनसमेत निर्माण गरिएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शो भनेको गाडीले भरिएको हल मात्र होइन । उनले सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्ने पार्ट्स, सेवा, वित्तीय तथा प्रविधि क्षेत्र पनि अटोमोबाइल उद्योगको महत्वपूर्ण हिस्सा भएकाले त्यसलाई समेत प्रदर्शनीमा देखाउन आवश्यक रहेको बताए ।

करिब पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगसम्बन्धी प्रदर्शनी एउटा कोठामै सीमित हुने गरेको थियो । अहिले तीन लाख वर्गफिट क्षेत्रफलमा अटो शो आयोजना हुनुलाई आयोजकले नेपालमा सवारीसाधनको संख्या बढेको मात्र नभई त्यससँग जोडिएको समग्र अटोमोबाइल उद्योगको विस्तारको संकेतका रूपमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)