काठमाडौँ – नेपालस्थित भारतीय दूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
शनिवार काठमाडौँस्थित दूतावासमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र तथा दूतावासका अधिकारी एवं उनीहरूका परिवारको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात ‘बन्दे मात रम्’ गायनबाट भएको थियो । त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झन्डा फहराएका थिए भने राष्ट्रिय गान बजाइएको थियो । सो अवसरमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधनसमेत प्रसारण गरिएको थियो ।

कार्यक्रममा भारतीय राजदूतले भारतीय सशस्त्र सेनाका मृत्यु भएका ११ जना सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गरेका थिए । उनीहरूलाई एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) अन्तर्गत कुल ८ करोड २० लाख रुपैयाँ बराबरका चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

स्वतन्त्रता दिवसकै अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई समेत सम्मान गरिएको थियो ।

‘विकसित भारत’ विषयमा आयोजना गरिएको चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तर विद्यालयस्तरीय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो । यस्तै, ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि सम्मान गरिएको दूतावासले जनाएको छ ।
दूतावासले नेपालका ७ वटा प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । शैक्षिक सामग्रीमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल अघि बढाइएको दूतावासले जनाएको छ ।

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र का शिक्षक तथा विद्यार्थीले देशभक्तिपूर्ण गीतसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

