शनिबार, भदौ २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?


  • माउन्टेन खबर
  • शनिबार, भदौ २०, २०८३
  • 39
    SHARES

काठमाडौँ –  बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले सङ्घीय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले प्रदेश सरकार गठन भएको लामो समय भई सक्दा पनि सङ्घीय सरकारले पर्याप्त अधिकार दिन कन्जुस्याइँ गरेको बताउनुभएको हो । उहाँले कतिपय प्रदेशमा रहेका अधिकारलाई सङ्घीय सरकारले आफू मातहतमा नै लगेको आरोप लगाउनु भयो ।

प्रदेश सरकारलाई सीमित अधिकारमा राखेर सङ्घीयता कार्यान्वयन हुन नसक्ने उहाँले बताउनु भयो । पर्याप्त अधिकार नदिएमा प्रदेश सरकार राख्नुको कुनै औचित्य नहुने उहाँको भनाई छ ।

प्रदेश सरकारको भूमिका मुख्यतः बजेट विनियोजन, कर सङ्कलन तथा मन्दिर, सडक र खानेपानी जस्ता पूर्वाधार निर्माणमा सीमित भएको उहाँले बताउनु भयो । सङ्घीय सरकारबाट प्रदेशमाथि निरन्तर हस्तक्षेप भइरहेको उहाँको आरोप छ । उहाँले पर्यटन क्षेत्रको सम्पूर्ण अधिकार सङ्घीय सरकारकै नियन्त्रणमा रहेको बताउनु भयो ।

मन्त्री प्रजापतिले प्रदेशले वितरण गर्दै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा पनि सङ्घीय सरकारले हस्तक्षेप गरेको आरोप लगाउनु भयो । प्रदेशमा सञ्चालन भइरहेको सफ्टवेयर प्रणाली परिवर्तन गरी सङ्घीय सरकारले नयाँ प्रणाली लागू गरेको उहाँको दाबी छ । बागमती प्रदेशले सञ्चालन गर्दै आएको लाइसेन्ससम्बन्धी सफ्टवेयर व्यवस्थित रूपमा चलिरहेको अवस्थामा सङ्घीय सरकारले उक्त प्रणाली लिएर सात वटै प्रदेशमा लागू गर्ने क्रममा समस्या देखिएको बताउनु भयो ।

नयाँ प्रणालीमा भुक्तानी रकम र नामसमेत फरक देखिने तथा एउटा प्रदेशमा भरिएको फाराम अर्को प्रदेशमा देखिने जस्ता गम्भीर त्रुटि देखिएको उहाँको भनाई छ । यही विषयमा आफूले भौतिक पूर्वाधार विकास मन्त्री  जानकारी गराए पनि त्यसको सुनुवाइ नभएको उहाँको आरोप छ । उहाँले जनताबाट उठाएको करबाट सञ्चालन हुने सरकारी सेवा नागरिकले सहज रूपमा पाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रदेशमा केही पनि अधिकार छैन । यहाँ मन्त्री भएर मैले सम्मान खाने अनि दुई शब्द बोल्ने । पर्यटन क्षेत्रमा हेर्नुस्, सम्पूर्ण सङ्घले नै कब्जा गरेको छ, प्रदेशको ठाउँ नै छैन । बजेट ल्याउने, कर लिने अनि त्यो करबाट मन्दिर बनाउन दिने, अनि देउता थानमा के बनाउने, बाटो बनाउने अनि खानेपानी बनाउने त्यो भन्दा अरू छैन । हिजो मात्र मुख्यमन्त्रीसँग धेरै कुराहरू भयो । धेरै कुरामा अब अट्याकिङ भइराखेको छ, सङ्घबाट, तर प्रदेश हामी खारेजको कुरा गर्छौँ नि, त्यसै गरेको होइन । जुन चीजलाई अधिकारै दिँदैन, अधिकार दिनै मिल्दैन भने किन राखिराख्छौँ त ? हामीले सोधेको यो मात्र हो । तर अधिकार छैन हेर्नुस् । अब अहिले तपाईँको भर्खर लाइसेन्सको कुरामा विवाद आइराखेको छ । 

प्रदेशले एउटा सफ्टवेयर चलाइराखेको थियो, लाइसेन्ससम्बन्धी राम्रोसँग चलिराखेको थियो । तर किन–किन अकस्मात् त्यो सङ्घीय सरकारले अब हामी गर्छौँ भनेर लिएर जानुभयो ।

 भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत त्यो सफ्टवेयर जब सातै वटा प्रदेशमा त्यही बागमती प्रदेशले गरिरहेको प्रोग्रामलाई लगियो र त्यो लाने क्रममा डिफल्ट आयो । तपाईँको ५० हजार तिरेको छ भने ३० हजार देखाउने, ३० हजार तिरेकोमा ५० हजार देखाउने, राम भनेर फाराम भरेकोमा श्याम देखाउने, गण्डकीको फाराम भरेको छ भने बागमतीमा देखाउने, हुँदाहुँदै यतिसम्म भयो कि मैले सुन्नमा आएकोअनुसार प्रमाण छ है, निलो नम्बर प्लेट, त्यो त अन्तर्राष्ट्रियकरण भन्छ, निलो नम्बर प्लेटमा सवारी धनीको नाममा नन्द प्रसाद ढकाल भनेर आयो रे ! अब यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूलाई भोलि कसैले रिसाएर दुई थप्पड हान्देला, मुखै छाड्ला, त्यसको जिम्मेवारी त मैले लिनुपर्छ । मैले भौतिक पूर्वाधार विकास मन्त्रीलाई फोन गरेँ । फोन गर्दा उहाँ मसँग कुरा गर्न मान्नुभएन । नमानेपछि मेसेज पठाउनु भन्नुभयो । मैले मेसेज पठाएँ, त्यो मेसेज पनि पढ्नुभएन । त्यो पीडाको कुरा हो हेर्नुस् । किनभने जनतासँग कर लिएको छ, त्यो जनताकै पैसाबाट तपाईँको मैले पनि गाडी चढेको होला, तपाईँको पिएसओ राखेको  होला । तर त्यही जनताहरूलाई हामीले पीडामा राख्नुहुन्न ।’


उहाँले नेपालमा चलिआएका धर्म, संस्कृति, रहनसहन र परम्पराको पनि जर्गेना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालबाट युवाहरू बिदेसिने क्रम बढेसँगै यहाँको संस्कृति समेत मासिँदै जाने अवस्थामा पुगेको बताउनु भयो । सनातनदेखि चलिआएका सबै धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन नेपालीको अमूल्य सम्पत्ति भएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)