काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका अन्य न्यायाधीशको भूमिकाबारे सार्वजनिक भएका समाचार र विवादित विषयमा छलफल गर्न आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) बस्दैछ।
न्यायाधीश हरिप्रसाद फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार बिहानदेखि न्यायिक वृत्तमा हलचल मच्चिएको थियो। यस विषयमा प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका तीन न्यायाधीशले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका छन्।
प्रधानन्यायाधीश डा . मनोजकुमार शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै आफूसँग जोडेर प्रकाशित समाचार झुटा, कपोलकल्पित र जनतामा भ्रम फैलाउने दूषित उद्देश्यबाट प्रेरित रहेको बताउनुभएको छ।
विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडेर आएका समाचारबाट आफू आश्चर्यमा परेको उल्लेख गर्दै उहाँले त्यस्ता समाचारको भर्त्सना गर्नुभएको छ।
विज्ञप्तिमा भनिएको छ, “यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु। यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु।”
यसैबीच, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले पनि आफूसँग जोडेर गलत मनसायका साथ जनमानसमा भ्रम फैलाउने गरी समाचार प्रकाशित भएको भन्दै खण्डन गर्नुभएको छ।
उहाँले स्वतन्त्र न्यायपालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै समाचारमा कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ।
“स्वतन्त्र न्यायपालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा म प्रतिबद्ध छु। त्यस्तो समाचारमा कुनै सत्यता छैन, केवल दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम भएको छ”, न्यायाधीश फुयालले भन्नुभएको छ।
सर्वोच्च अदालतका अर्का न्यायाधीश श्रीकान्त पौडेलले पनि केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायका साथ समाचार प्रकाशित भएको भन्दै खण्डन गर्नुभएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग पनि आफ्नो व्यक्तिगत भेटघाट वा सम्पर्क नभएको स्पष्ट पार्नुभएको छ।
विज्ञप्तिमा भनिएको छ, “मुद्दाको सुनुवाइको क्रममा विषयवस्तुमा छलफल गर्नेबाहेक उक्त आदेश गर्नुअघि वा पछि सो मुद्दाका पक्ष, पत्रिकामा उल्लिखित व्यक्तिलगायत अन्य कसैसँग मेरो व्यक्तिगत भेटघाट वा फोनलगायतका कुनै पनि सञ्चारमाध्यमबाट कुराकानी वा सम्पर्क भएको छैन।”
न्यायाधीश पौडेलले तथ्य, प्रमाण र कानुनका आधारमा इजलासबाट मुद्दाको सुनुवाइ तथा आदेश भएको उल्लेख गर्दै न्याय सम्पादनको कार्यमा आफू निष्ठापूर्वक प्रतिबद्ध रहेको बताउनुभएको छ।
यसैबीच, नेपाल बार एसोसिएसनले पनि बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। बारले न्यायिक नेतृत्व तथा सम्बन्धित अन्य न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती वा कमजोरी देखिएमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।
प्रकरणले सर्वोच्च अदालतको न्यायिक नेतृत्व र न्याय सम्पादनको निष्पक्षताबारे बहस सिर्जना गरेपछि आज बस्ने फूलकोर्ट बैठकलाई चासोका साथ हेरिएको छ।
