स्वास्थ्य सम्बन्धि परामर्शको लागि रसुवामा मोबाइल हटलाइन सेवा सुरु गरिएको छ । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सम्बन्धि स्वास्थ्य परामर्श तथा जानकारीका लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले मोबाइल हटलाइन सेवा सुरु गरेको हो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा जोखिम न्युनिकरण नभएसम्मका लागि स्वास्थ्य सम्बन्धि अत्यावश्यक परामर्श तथा जानकारीका लागि बुधबारदेखि हटलाइन सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए ।
गाउँपालिकाको थुमन स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, बृद्धिम स्वास्थ्य चौकी, लाङटाङ स्वास्थ्य चौकी, स्याफ्रुबेशी स्वास्थ्य चौकी, रसुवा स्वास्थ्य चौकी र गाउँपालिकाको स्वास्थ्य शाखामा हटलाइन सेवा सुरु गरिएको उनले बताए । ती स्थानमा रहेका स्वास्थ्यकर्मीलाई फोन गरि लाभान्वित हुन सकिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
लकडाउनको समयमा घर बाहिर निस्कन नपाएका बेला स्वास्थ्य समस्या आएमा सिधै स्वास्थ्यकर्मीलाई फोन गरेर परामर्श लिन सकिने समेत घिमिरेले बताए ।
