कोरोना भाइरस सम्बन्धि सचेतनाका लागि रसुवाको नौकुण्ड गाउँपालिकामा जनचेतना गस्ती सुरु गरिएको छ । कोरोना भाइरसबारे नागरिकहरुलाई सचेतना दिनका लागि गाउँपालिकाका प्रमुख नूर्बुसाङ्बो घलेको समन्वयमा जनचेतना गस्ती सुरु गरिएको हो ।
गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा माइकिङ सहितको जनचेतना गस्ती सुरु गरिएको नौकुण्ड गाउँपालिकाका प्रमुख नुर्बूसाङ्बो घलेले बताए । सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा प्रहरीले मोटरसाइकल मार्फत जनचेतना गस्ती सुरु गरेको उनको भनाई छ ।
गस्तीले घरभित्रै रहन स्थानिय बासिन्दालाई अनुरोध गर्नुका साथै कोरोना भाइरस सम्बन्धी आवश्यक जानकारी गराउने बताइएको छ ।
कोरोना भाइरसबारे सचेतनाका लागि मोटरसाइकल मार्फत सुरु गरिएको जनचेतना गस्ती जिल्लामा अहिलेसम्म यो नै पहिलो अभ्यास भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
